ललितपुरको क्लासिक टावरबाट पक्राउ परेका ठूला जुवाडे सुटुक्क रिहा !

दियो पोस्ट  

ललितपुर । ललितपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेका ठूला खेलाडीहरुलाई सुटुक्क रिहा गरेको खुलाशा भएको छ ।
ललितपुर महानगरपालिका वडा नं. १५ स्थित क्लासिक टावरमा मंगलबार साँझ प्रहरीले छापा मारेर ८ जुवाडे करिब १७ लाख नगद सहित नियन्त्रणमा लिएको थियो ।

 

पक्राउ पर्नेमा हेमकुमार लावती, सरोज लिम्बू, विरोस लिम्बु, अष्टमान लामा, सरोज प्रसाद आचार्य, प्रकाश काफ्ले, रेमकुमार लिम्बू र सन्जिप महर्जन रहेका थिए । लावती नेपाली सेनाका पूर्व जर्नेलसमेत हुन् । प्रहरी स्रोतका अनुसार, पूर्वजर्नेल लावतीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।

प्रहरीले उनीहरूबाट १६ लाख ८२ हजार ५०० नगद, ८ बुक तास सहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट गएको २५ जना प्रहरी टोलीले ती जुवाडेलाई नियन्त्रणमा लिएको थियो । जुवातास खेल्ने क्लासिक टावर वृत्त सातदोबाटोको एरिया हो । स्रोतका अनुसार ललितपुर प्रहरी प्रमुख सिद्धि विक्रम शाहको निर्देशनमा उनीहरु रिहा भएका हुन् ।

तत्कालिन गृहमन्त्री खुमबहादुर खड्काले राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा समायोजन गरेका हाल ललितपुरका एसएसपी सिद्धिविक्रम शाहको कार्यक्षमतामाथि पटक पटक प्रश्न उठ्ने गरेको छ । उनै शाहले जुवा खालबाट पक्राउ परेकाहरुलाई सुटुक्क छाड्न निर्देशन दिएको आरोप छ ।
यसअघि रौतहटको एसपी रहँदा शाहले पत्रकारलाई लागु औषध राखेर फसाएको अडियो नै सार्वजनिक भएको थियो । तर, उनीमाथि कुनै कारबाही भएन ।

सम्बन्धित खबर