एग्रो मनाङ प्रालिद्वारा सरकारी नीतिको धज्जी, विद्यालयको सार्वजनिक जग्गामा वाइन फ्याक्ट्री सञ्चालन

दियो पोस्ट  

चामे । एग्रो मनाङले नियम विपरित विद्यालयको सरकारी जग्गामा वाइन फ्याक्ट्री सञ्चालमा ल्याएको छ । एग्रो मनाङले सरकारी नीतिको धज्जी उडाउदै मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित श्री जनकल्याण प्राथमिक विद्यालयको जग्गामा वाइन फ्याक्ट्री सञ्चालनमा ल्याएको हो । उक्त जग्गा कसले, किन र कहिले वाईन फ्याक्ट्री सञ्चालनका लागि अनुमती दियो भन्दै आलोचना हुन थालेको छ । सरकारी जग्गा उपयोगका लागि स्थानिय सरकार वा मन्त्रिपरिषदको निर्णय आवश्यकता पर्छ ।
यौ सँगै उक्त प्रालिले सञ्चालन गर्दै आएको सार्वजनिक जग्गाको बहाल कर विगत चार बर्षदेखि नतिरेको खुलेको छ । मनाङ मस्र्यादी क्लबसंग बार्षिक ५७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ तिर्ने गरी सार्वजनिक जग्गा लिजमा लिएको थियो । तर बिगत ४ वर्षदेखि उक्त कम्पनीले कर तिरेको छैन । दुईपक्षीय सम्झौताअनुसार ७० प्रतिशत मनाङ मस्र्यादी क्लब र ३० प्रतिशत रकम मनाङ समाजले लिने सम्झौता अनुसार मनाङ समाजले पाउनु पर्ने रकम नियमित र समयमै दाखिला भईरहेको मनाङ समाजले जानकारी दिएको छ ।
तर, एग्रो मनाङ प्रालि.ले हालसम्म पनि मनाङ मस्र्यादी क्लबसँग भएको सम्झौता विपरीत करकट गरी मात्र ४७ लाखमात्र बुझाएको बाँकी एक रुपैयाँ पनि नबुझाएको मनाङ मस्र्याङदी क्लबका अध्यक्ष विजय गुरुङले बताए ।

प्रालीले उक्त सार्वजनीक जग्गा मनाङ समाज र मनाङ मस्र्याङदी क्लब मार्फत लिजमा लिएर स्याउफार्म सञ्चालन गर्दै आएको छ । यस्तै स्थानीय कर बापतको बाँकी बक्यौता तिर्न भनी पटक पटक पत्रचार गर्दा “हामीले सबै रकम मनाङ मस्र्यादी क्लबलाई बुझायौं” भन्ने जवाफ आएको र अन्य रकम चाँडौ दाखिला गर्ने प्रतिब्द्धता जनाएको ङिस्याङ गाउँपालिकाका कार्यकारी प्रमुख सञ्जीव न्यौपाने बताए ।

उता, २५ रोपनी भन्दा वढी जग्गाको रुख तथा बिरुवा फडानी गरी डोजर लगाएर स्याउबारी विस्तार गरी रहेको स्थानीय बताउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्रले भने केही दिन भित्रै प्राविधिक सम्मिलित टोलीले सो क्षेत्रको नापी, वन फडानी बारे अनुसन्धान गर्ने र नियम विपरीतका कार्यहरु भएको पाइएमा कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ ।