दुर्गा प्रसाइँको आन्दोलनलाई झड्का : झापामा राजेन्द्र लिंदेनको पक्षमा खुले पूर्वराजा ज्ञानेन्द्र शाह

दियो पोस्ट  

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक बचाउन अभियानका संयोजक दुर्गा प्रसाइले लघु वित्त पीडितहरुलाई काठमाडौं उतारेर राजा फर्काउने घोषणा गरिरहेका छन् । मंसिर ७ देखि नै उनले अभियानको नाममा काठमाडौंमा सडक जाम गर्ने र प्रदर्शन गर्ने कार्य गर्दै आएका छन् ।

कुनै पनि दलको घेरामा नरहेको बताउने प्रसाइँमाथि पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको धेरैको अनुमान हुन सक्छ । तर, उनको अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाहको चासो नै नरहेको उनी निकट व्यक्तिहरुले बताउन थालेका छन् । केही समयअघि राप्रपा नेता केशर बहादुर विष्टको सहारामा ज्ञानेन्द्र शाहसँग भेटेका प्रसाइँले यतिबेला भने पूर्वराजा ज्ञानेन्द्र शाहसँग समन्वय नै नगरी यो आन्दोलन गरिरहेको स्रोत बताउँछ । यो अभियान शुरु भएसँगै शाह भने प्रसाइँको प्रतिद्वन्दी मानिएका राजेन्द्र लिंदेनसँगै झापामा देखिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिंदेनसँगै उनी पृथ्वी नारायण शाहको शालिक अनावरणका लागि झापा पुगेका हुन् ।

‘प्रसाइँजीको आन्दोलनसँग श्री ५ को सरकारले खासै चासो दिनु भएको छैन । उहाँ आफै राजासँग नजिक नजिक हुनका लागि उचालिनु भएको हो,’ स्रोतले दियोपोस्टसँग भन्यो,‘यो आन्दोलन पनि कुनै सल्लाह विना गर्नु भयो । हिजो हामीले राजासँग नजिक बनाइदिएका थियौँ । अहिले उहाँ आफै राजासँग नजिक हुने बहानामा यो आन्दोलन गर्दै हुनुहुन्छ ।’
ती राजावादीका अनुसार प्रसाइँले काठमाडौं केन्द्रीत प्रदर्शन गर्दा झापामा पूर्वराजा जानु वा त्यो आन्दोलनबारे एक शब्दपनि नबोल्नुमा धेरै ठूलो रहस्य छ । यता प्रसाइँ समुह भने पूर्वराजा सँग नजिक हुनका लागि विभिन्न व्यक्ति मपार्mत राजाले सम्बोधन गर्ने हल्ला फिजाउँदै आएका छन् । यतिसम्मकी नेपाली सेनाको उच्च अधिकारीले समेत राजासँग सम्बन्ध राखेर व्यवस्था फाल्ने आन्दोलनमा साथ दिएको हल्ला गर्दै आएका छन् ।

त्यसो त प्रसाइँ र लिंदेनबीच विवाद छ । केही समयअघि लिंदेनले प्रसाइँले बैंकको ५ अर्बभन्दा बढी ऋण नतिरेको र त्यस्ता व्यक्तिको पछि लाग्नु हाश्यास्पद हुने बताएका थिए । यता प्रसाइँले पनि लिंदेनको आलोचना गर्दै आएका छन् । प्रसाइँले राजधानी केन्द्रित प्रदर्शन गरिरहँदा शाह झापा गएर लिंदेनसँगै देखिनुले पक्षधरता स्पष्ट भएको राप्रपाका एक नेताले बताए ।