Exclusive:: १३ करोडको जग्गा ठगीकाण्डमा कलेज संचालक खगेन्द्र ओझा र नरबहादुर विष्टलाई उन्मुक्ति !

पीडित घिमिरेको खण्डन : भ्याली भ्यू स्कुलका संचालक ओझा र विष्ट निर्दोष छन्

दियो पोस्ट  

काठमाडौं । १२ करोड भन्दा बढी जग्गा ठगीकाण्डमा काठमाडौं प्रहरीले गम्भिर लापरबाही गरेको खुलाशा भएको छ । पीडितले अभियुक्तको नामै किटान गरेर जाहेरी दिएपनि ठूला स्कुल र कलेज सञ्चालक रहेका दुई शैक्षिक माफियालाई मुद्दा नै नचलाई उन्मुक्ति दिएको घटना सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गर्दा ठगीका सह अभियुक्तलाई प्रतिवादी नै नबनाएको भेटिएको हो ।
काठमान्डु वर्ल्ड स्कुल, युनिग्लोब स्कुल लगायत ८ वटा भन्दा बढी स्कुलका अध्यक्ष समेत रहेका खगेन्द्र ओझा र युनिग्लोब कलेजका प्रिन्सिपल नरबहादुर विष्टलाई ठगी तथा अपराधिक लाभको घटनामा अभियुक्त नै नबनाई उन्मुक्ति दिइएको भेटिएको हो । पीडितले विष्ट र ओझाबाट आफूहरुमाथि अन्याय भएको किटानसहित जाहेरी दिएपनि प्रहरीले प्रतिवादी नै नबनाई अर्का एक फरार अभियुक्तलाई मात्रै प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । यो घटनामा जिल्ला सरकारी वकिल कार्यालयका उच्च अधिकारीको समेत मिलेमतो रहेको स्रोतको भनाई छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २१ स्थित कित्ता नम्बर १३ को क्षेत्रफल १ रोपनी नौ आना जग्गा पीडित लेखनाथ घिमिरेको नाममा दर्ता थियो । सो जग्गामा घर समेत विक्री गर्ने उद्देश्यले जाहेरवाला समेत रहेकी मिनादेवी पौडेलको भदा छोरा नाता पर्ने सन्तोष पौडेल मार्फत भ्याली ईङ्गलिस स्कुल लिमिटेडका अध्यक्ष समेत रहेका ओझा र शैक्षिक माफिया नरबहादुर विष्टसँग भेट भएको थियो । पीडित घिमिरेको नाममा रहेको घर र जग्गा १२ करोड ९० लाखमा खरिद गर्ने सहमति भएको थियो । जाहेरवाला मध्येकै मिनादेवि पौडेललाई अधिकृत वारेशनामा दिएर पीडित परिवार अमेरिका गएको थियो ।

उनीहरु अमेरिकामै बस्ने भएका कारण ओझा र विष्टले २ करोड रुपैयाँ बाँकी राखेर अन्य रकम तिरेका थिए । बाँकी रहेको २ करोड रुपैयाँको सावाँ र ब्याज समेत विष्ट र ओझाले ६ महिना भित्र भुक्तानी गर्ने सहमति थियो । २ करोडको १२ प्रतिशतले हुन आउने ब्याज समेत दिने सहमति थियो । त्यसै अनुसार पीडित परिवारलाई ओझा र विष्टले २ करोडको ब्याज सहित हिसाब गरेर २ करोड १२ लाख १३ हजार ९ सय ३७ रुपैयाँको चेक दिएका थिए । पीडित परिवारका अनुसार उनीहले एभरेष्ट बैंकको मैतिदेवि शाखामा रहेको भ्यू भ्याली ईङ्लिस स्कुलको नाममा रहेको खाता नम्बर ०३४…….१९ को चेक नम्बर ०३३९४८४७९ मार्फत उक्त रकमको चेक दिएका थिए । सोही चेकको आधारमा घिमिरे परिवारले  २०७४ फागुन १६ गतेकै दिन उक्त जग्गा नामसारी गरेर दिएका थिए । ६ महिनाको ब्याक डेटमा ओझाले दिएको चेक साट्ने मिति थियो । पीडित मिनादेखि उजुरीकर्ता लेखनाथ घिमिरेकी श्रीमती भएको हुनाले उनीहरु अधिकांश समय अमेरिकामै हुन्थे । उनीहरुले सबै चेकबुक, सिम, कपडाहरु सबै नेपालमै सुरक्षित राख्ने उद्देश्यले आफ्नै भदा नाता पर्ने सन्तोष पौडेलको डेरामा राखेका थिए । मिनादेविको खातामा जम्मा गरिदिनु भन्दै उनीहरुले चेक समेत दिएर गएका थिए । त्यसैबीच २०७४ चैत्र १० गते घिमिरे दम्पत्ति अमेरिका प्रस्थान गरे । ‘अमेरिका गएको ६ महिना पश्चात जग्गा खरिदकर्ता भ्याली भ्यू स्कुलका संचालकहरुलाई पटक पटक सम्पर्क गर्न खोज्दा निज अन्यायीहरुसँग सम्पर्क हुन सकेन,’ पीडितले दिएको जाहेरीमा भनिएको छ,‘जग्गा राजिनामा पास गरेको यतिका समय वितिसक्दा समेत रकम नपाएपछि पटक पटक अन्यायीहरुलाई सम्पर्क गर्दा सम्पर्क हुन नसक्ने हुँदै २०७८ माघ ९ गते अन्यायी सन्तोष पौडेलले यो महिना भित्रमा कलेजको हिसाब किताब गरेर सबै आउँछ म कागजपत्र मिलाएर पठाइदिन्छु चिन्ता नलिनुहोस् भनि म्यासेज गरेको तर त्यसपछि हामीले अनेकौँ प्रयास गदौ पनि अन्यायीहरु सम्पर्कमा नआएपछि हामी दुवै जाहेरवालाहरु नेपाल आई भ्याली भ्यू ईङ्लीस स्कुल लिमिटेडका अध्यक्ष खगेन्द्र प्रसाद ओझालाई जानकारी माग गर्यौँ ।’
पीडित परिवारका अनुसार त्यतिबेला खगेन्द्र र नरबहादुर विष्टले विभिन्न मितिमा सन्तोषको नाममा काटेको चेकको फोटो देखाएर सबै रकम सन्तोषलाई दिएको दाबी गरेका थिए । तर, त्यो विष्ट र ओझाको जालसाँझी रहेको पीडितको भनाई छ ।

उनीहरुबीचको अन्य कारोबारको चेक समेत देखाएर पीडितहरुलाई ठगी गरिएको थियो । पीडित परिवारका अनुसार त्यतिबेला स्टेटमेन्ट निकालेर हेर्दा ओझा र विष्टले कुनै पनि बैंक खातामा रकम जम्मा गरेका थिएनन् । उनीहरुले ढाँटेका थिए । त्यतिमात्रै होइन पीडित मिनादेवि पौडेलको खातामा रहेको १ करोड ९१ लाख रपैयाँ विभिन्न मितिमा सन्तोष पौडेलले नै झिकेर फरार छन् । यो घटनामा प्रभू बैंकको समेत शंकाष्पद भूमिका मात्रै होइन चरम लापरबाही देखिएको छ । मिनादेविको खातामा रहेको पैसा सन्तोष पौडेलले कसरी निकाले र त्यसमा बैंकले हालसम्म कुनै जवाफ समेत नदिएको पीडितको गुनासो छ ।

‘उक्त रकम कसरी हामी जाहेरवालाको जानकारी बिना निकालेका हुन् अनधिकृत व्यक्तिलाई कसरी बैंकले भुक्तानी दियो र खातावालाको सही कसले गरेको हो भन्ने विषयमा हामी अनविज्ञ छौँ,’ पीडितको जाहेरीमा भनिएको छ,‘निजले उक्त रकम बैंकबाट भुक्तानी लिएको कुनै पनि समयमा हामी जाहेरवालाहरु नेपालमा रहेका छैनौँ । निजले कसरी मिनादेवि पौडेलको खाताबा भुक्ताी लिएका हुन् भन्ने सम्बन्धमा साह्रै अन्यायमा परि सम्बन्धित प्रभु बैंकको कार्यालय बबरमहलमा बुझ्न जाँदा बैंकले खातावाला वृद्ध व्यक्ति भएको र निजहरुलाई कुनै ज्ञान नभएकाले निजहरुका तर्फबाट मैले नै काम गर्ने हो भन्दै सन्तोष पौडेलले बैंकिङ्ग कारोबार गरेको भन्नेसम्मको जानकारी दिएको तर सो बाहेक अन्य कुनै पनि जानकारी तथा कागजपत्र बैंकले दिन बेवास्ता गर्यो ।’

पीडित जाहेरकर्ताले आफूहरुलाई स्कुल संचालक खगेन्द्र प्रसाद ओझा र सोही स्कुलका संचालक नरबहादुर विष्टले मिलेर परिबन्धमा पारी आफ्नो रकम खाएको तथा अन्यायपूर्ण कार्य गरेको उजुरीमा लेखेका छन् । तर, प्रहरीले भने ठूला शैक्षिक माफिया रहेका विष्ट र ओझालाई प्रतिवादी समेत नबनाई अभियोजन गरेको स्रोतको भनाई छ ।

प्रहरीले सामान्य सोधपुछ गरेर दुई अभियुक्तलाई छाड्यो

जिल्ला प्रहरी कार्यालय काठमाडौंले ओझा र विष्टलाई सामान्य सोधपुछ मात्रै गरेर छाडेको छ ।

पीडित घिमिरेको खण्डन : भ्याली भ्यू स्कुलका संचालक ओझा र विष्ट निर्दोष छन्