सोल्टी होटलमा भव्य क्रिसमस बजार, अमेरिकी राजदूतद्वारा उद्घाटन

दियोपोस्ट संवाददाता  

काठमाडौं । एक्टिभ वुमन अफ नेपालले आयोजना गरेको क्रिसमस विशेष बजार काठमाडौंस्थित सोल्टी होटलको अटोग्राफ कलेक्शनमा सम्पन्न भएको छ । नेपालस्थित अमेरिकी राजदूत डिन आर. थम्पसनले उक्त वार्षिक कार्यक्रमको उद्घाटन गरे।

चार दशकभन्दा बढी समयदेखि निरन्तर आयोजित हुँदै आएको यो कार्यक्रम यस वर्ष पनि उत्साहजनक सहभागितासहित सफलतापूर्वक सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।

उद्घाटन समारोह बिहान १०ः३० बजे राजदूत थम्पसन र उनकी पत्नी तथा एवनकी मानार्थ अध्यक्ष जेन क्रिल थम्पसनले संयुक्त रूपमा सम्पन्न गरे।

उद्घाटनपछि जेन क्रिल थम्पसनले बजारप्रति आफ्नो अनुभव साझा गर्दै भनिन्, “एवन बजार हाम्रो लागि सधैं विशेष रहिन्छ। हामी हरेक वर्ष क्रिसमसका सामग्री किन्न यहाँ आउने गर्छौँ। यस वर्षको बजार झनै व्यवस्थित र प्रभावशाली देखियो। सामग्रीको गुणस्तर उत्कृष्ट र विविधतायुक्त छ, साथै किफायती मूल्यमा एउटै स्थलमा सबै वस्तु भेटिने सुविधा निकै उपयोगी छ।”

कार्यक्रमलाई यात्रा म्यागजिन, नेपाल एयरलाइन्स, आइविबी अष्ट्रेलिया, बुद्ध एयर, सेन्चुरी स्पाइसेस एन्ड स्न्याक्स, रुपीज इन्टरनेशनल स्कुल र डाबर नेपालले प्रायोजन गरेका थिए।

बजारमा १०० भन्दा बढी स्टलले स्टार्टअप उत्पादन, अर्गानिक सामान, हस्तकला, फेसनका सामग्री, घरायसी सजावट र चाडपर्वका वस्तुहरू प्रदर्शन तथा बिक्री गरेका थिए। आगन्तुकका लागि खानाका स्टल र बालमैत्री गतिविधिहरू पनि व्यवस्था गरिएको थियो।

कार्यक्रमबाट संकलित रकम एवनले सञ्चालन गर्दै आएका महिला सशक्तिकरण, सामुदायिक सहयोग तथा सामाजिक सेवा परियोजनामा उपयोग गरिने जनाएको छ।

सिफारिस