काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ पुस्ताको अपेक्षा अनुसार कार्यसम्पादन गर्न र उनीहरूलाई न्यायको अनुभूति दिलाउन सक्ने गरि प्रभावकारी सेवा प्रवाह गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।
गृहसचिव रामेश्वर दङ्गालको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको नियमित ‘एसएमटी’ बैठकमा विशेष उपस्थित रहँदै मन्त्री अर्यालले कर्मचारीहरूलाई आगामी निर्वाचनलाई मुख्य केन्द्रमा राखेर सक्रियतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
अहिलेको सरकार निर्वाचनमै केन्द्रित भएकाले पुराना संरचना वा ऐन–नियममा मात्रै सीमित नहुने र प्रविधिको अधिकतम उपयोग गर्दै निर्वाचन प्रक्रियालाई सहभागीमूलक बनाउनु पर्ने तथा नागरिकको मतदान अधिकार सुनिश्चित गर्न सबैजना उत्तरदायी हुनुपर्ने मन्त्री अर्यालले बताए ।
उनीले विभागीय प्रमुखहरूलाई मातहतका कार्यालयहरूलाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहमार्फत नागरिकले परिवर्तनको प्रत्यक्ष अनुभूति पाउने वातावरण सिर्जना गर्न निर्देशन दिए।
गृह मन्त्रालयमा गठन गरिएको जेनजी समन्वय समितिलाई अझ सक्रिय बनाई पीडितका गुनासा सुन्ने तथा समाधान गर्ने प्रक्रियालाई मजबुत बनाउन सके बाहिर फैलिएका भ्रमपूर्ण धारणा हटाउन सकिने उनको भनाइ थियो।
त्यस क्रममा मन्त्री अर्यालले जेनजी आन्दोलनका घाइतेलाई राहत कार्ड फिल्डमै वितरण गर्ने व्यवस्था मिलाउन तथा घाइते राहत कार्यविधि छिट्टै अन्तिम रूप दिन निर्देशन पनि दिए।
बैठकमा गृहसचिव दङ्गालले मन्त्रालय तथा मातहतका निकायहरूको समग्र कार्यसम्पादनप्रति सन्तुष्टि व्यक्त गर्दै मन्त्रालयको नेतृत्व ग्रहण गरेयता राष्ट्रिय परिचयपत्र नियमावली, सशस्त्र प्रहरी नियमावलीलगायत दर्जनभन्दा बढी नियमावली संशोधन भइसकेको उल्लेख गरे। उनले नागरिकता नियमावली अन्तिम चरणमा पुगेको जानकारी पनि दिए।
उनका अनुसार मन्त्रालयको तत्काल सुधार कार्ययोजना प्राथमिकतामा राखेर काम गरिँदै आएको र गत भदौ २३ गतेपछि मन्त्रालयको कार्यशैलीमा उल्लेख्य परिवर्तन आएको छ।
बैठकमा विभागीय प्रमुख तथा विभिन्न शाखा–महाशाखाका प्रमुखहरूले आफ्नो क्षेत्रको प्रगति, चुनौती तथा वस्तुस्थितिबारे जानकारी प्रस्तुत गरेका थिए।