तूफान पछि आएको बाढी-पहिरोका कारण श्रीलंकामा १३२ को मृत्यु, १७६ बेपत्ता

दियोपोस्ट संवाददाता  

काठमाडौं । ‘दितवा’ नामको शक्तिशाली तूफानका कारण श्रीलंकामा आएको बाढी र पहिरोका कारण कम्तीमा १३२ जनाले ज्यान गुमाएका छन् भने १७६ जना अझै बेपत्ता छन्।

प्रकोपमा १५ हजारभन्दा बढी घर ध्वस्त भएका छन्। ७८ हजारभन्दा बढी नागरिकलाई अस्थायी शिविरहरूमा राखिएको बताइएको छ।

राष्ट्रपति अनुरा कुमारा दिशानायकेले देशभर आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग तात्कालिक सहयोगको आग्रह गरेका छन्। विदेशमा रहेका श्रीलंकाली नागरिकलाई पनि स्वदेश रकम पठाएर सहयोग गर्न सरकारका तर्फबाट अपिल गरिएको छ।

पछिल्ला आठ वर्षयताकै ठूलो प्राकृतिक विपत्तिका रूपमा यस घटनालाई लिइएको छ। २०१७ मा आएको बाढी–पहिरोमा २ सय जनाको मृत्यु भएकोहुनुका साथै लाखौँ मानिस विस्थापित भएका थिए।

विपद् व्यवस्थापन विभागका अनुसार हालको विभागका महानिर्देशक सम्पत कुतोवेगोदाका अनुसार, सेना, वायुसेना र नौसेनाले राहत तथा उद्धारकार्य तीव्र पारिरहेका छन्।

मध्य श्रीलंकाको बादुल्ला जिल्ला सडक सम्पर्कविहीन भएपछि गाउँ–गाउँसम्म राहत पुर्‍याउन कठिनाइ भएको बताइएको छ। सर्वाधिक प्रभावित मास्पान्ना गाउँका बासिन्दा समन कुमाराले पहिरोले सडक पूर्ण रूपमा भत्किएकाले न त गाउँ छोड्न सकिने, न त बाहिरबाट सहयोग आउने अवस्था रहेको बताए।

गाउँमा खानेकुरा र पिउने पानी दुवै अभाव रहेको उनको भनाइ छ। प्रधानमन्त्री हारिनी अमारासूर्या कोलम्बोस्थित विभिन्न देशका राजदूतहरूसँग भेट गरेर देशको बिग्रँदो मानवीय अवस्थाबारे जानकारी गराउँदै सहयोगका लागि आग्रह गरिरहेका छन्।

अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभागमा विद्युत् सेवा अवरुद्ध छ। पानी आपूर्ति प्रणाली थुनिएका छन् भने पानी शुद्धीकरण केन्द्रहरू बाढीले क्षतिग्रस्त बनेका छन्। धेरै स्थानमा इन्टरनेटसमेत बन्द अवस्थामा छ।

यसैबीच, राजधानी कोलम्बोबाट करिब ११५ किलोमिटर पूर्व क्यान्डीमा पनि पहिरोले सडकहरू भत्किँदा यातायात पूर्ण रूपमा रोकिएको छ।

विपत्तिपछिको पहिलो अन्तर्राष्ट्रिय सहायता भारतबाट आएको छ। दुई विमानमार्फत राहत सामग्री श्रीलंकामा पु(याइएको छ भने कोलम्बोस्थित एउटा भारतीय जहाजले प्रभावित क्षेत्रमा खाद्यान्न उपलब्ध गराइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै थप सहयोगका आश्वासन दिएका छन्।

तूफान ‘दितवा’ शनिबार श्रीलंका पार गर्दै भारततर्फ अघि बढिरहेको मौसमविद्हरूले जनाएका छन्। यसको प्रभावका कारण चेन्नई विमानस्थलमा ५४ उडान रद्द गरिएको छ। भारत मौसम विभागले आगामी ४८ घण्टामा भीषण वर्षा र प्रचण्ड हावाहुरीको चेतावनी जारी गरेको छ।

सिफारिस