काठमाडौं, १७ कात्तिक । निर्वाचनबाट बेहोरेको पराजयको पीडाबाट माथि उठ्नका लागि प्रभावकारीका पार्टी कार्यक्रम र विधानमा महत्वपूर्ण परिवर्तन गर्नुपर्ने कांग्रेसको महासमितिको बैठकको अन्यौलता देखिएको छ । १३ औं महाधिवेशनपछि पहिलोपटक आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा बस्ने तय भएको महासमिति बैठक निर्धारित समयमा नबस्ने भएको हो ।
मुख्यगरी विधानमा महत्वपूर्ण विषय संसोधनको अन्यौल, अन्य विभिन्न समितिहरुले समयमा प्रस्ताव तयार गर्न अलमल गरेपछि कांग्रेसको महासमिति बैठक सर्ने पक्कापक्कीजस्तै भएको हो । महासमिति बैठक सर्नेबारे महामन्त्री डा. शशांक कोइरालाले नै प्रष्ट पारेका छन् ।
तयारी गर्न केही समय लाग्ने भन्दै उनले निर्धारित समयमा महासमिति बैठक हुन नसक्ने बताएका हुन् । विधान तयार हुने, राजनीतिक, सांगठनिक, आर्थिक समितिहरुले आ आफ्ना प्रतिवेदन तयार गर्न र त्यसमाथि केन्द्रीय समितिमा छलफल गर्नका लागि समय लाग्ने भएपछि अब महासमिति समयमा हुन नसक्ने प्रतिक्रिया नेताहरुले दिंदै आएका हुन् ।
तिहार अघि केन्द्रीय समितिको बैठक बसेर यी प्रस्तावमाथि छलफल गर्ने र विधानदेखि अन्य समितिले विवादित कुरा मिलाउने तयारी भए पनि अब तिहारअघि केन्द्रीय समितिको बैठक डाकिए पनि यीमाथिको छलफल नसकिने भएको छ । अझै विधानमा पदाधिकारी थप, केन्द्रीय समितिको आकार बढाउने भन्नेमैं सहमति नभएपछि महासमिति बैठक सर्ने निश्चित भएको हो ।
समयमा नगर्दा सभापति झन् आलोचित
यस अघि पनि सभापति शेरबहादुर देउवा पार्टी गतिविधि नियमित गर्न नसकेको, विधानलाई पालना गर्नमा चुकेको भन्दै आलोचित हुँदै आएका छन् । यस्तोमा यस अघि निक्कै रस्साकस्सीबीच बल्ल तोकिएको महासमितिको बैठक पनि समयमा नहुने भएपछि उनीविरोधी पक्षधर झन् बलियो गरी प्रस्तुत हुन भएका छन् । यसको असर देउवालाई नै बढ्नेछ । किनकी समय सरेपछि देउवाविरोधी पक्षलाई मुद्दामा केन्दित भएर रणनीति बनाउन झनै सजिलो हुनेछ । यसको प्रत्यक्ष दबाब सभापति देउवाले नै झेल्नुपर्ने हुन्छ । १४ औं महाहधिवेशनमा जसरी हुन्छ देउवालाई परास्त गर्ने गरी महाधिवेशनमा एकजुट हुने रणनीतिमा पौडेल र सिटौला पक्ष लागेको छ ।
देउवा फेरि पनि शक्तिशाली हुने बुझेर पौडेल, सिटौला पक्षले १४ औं महाधिवेशनसम्म आाफूहरु एक हुने सन्देश दिंदै आएका छन् । कहिले कोइराला परिवारको भेला, कहिले कोइराला परिवार पूर्व पदाधिकारीसहित सिनियर केन्द्रीय सदस्यहरुको भेला गरेर उनीहरुले जसरी हुन्छ देउवाविरुद्ध मोर्चाबन्दी गर्ने संकेत दिइसकेका छन् ।
उनीहरुको यस्तो तयारी एकपछि अर्को हुँदा महासमिति बैठक सारिए उनीहरुलाई झन् व्यवस्थित रुपमा रणनीति बनाएर महासमितिमा प्रस्तुत हुने मौका मिल्नेछ ।
कांग्रेसमा महासमिति बैठक पार्टीको महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय हो । जसले नेतृत्व चयनबाहेकका सांगठनिक र नीतिगत विषयमा अदलबदल महत्वपूर्ण फेरबदल गर्न सक्छ । यो पटक काठमाडौंमा तोकिएको महासमितिमा देशभरबाट झण्डै एक हजार चार सय प्रतिनिधि सहभागी हुनेछन् । महासमितिको तयारीका लागि विभिन्न तयारी उपसमितिहरु गठन भइसकेका छन् ।