नारायण ढुङ्गाना
काठमाडौँ, १७ कात्तिक । काठमाडौँ उपत्यकामा ११ लाख सवारीसाधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक प्रहरी अधिकारीको भनाइछ ।
विशेषगरी देशका अन्य १३ अञ्चलमा दर्ता भएका २० लाखभन्दा बढी गाडीको चापसमेत राजधानीमा परेकाले व्यवस्थापकीय पक्ष कठिन बनेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त बताए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा मुलुकभर ३२ लाख २१ हजार ४२ सवारीसाधन दर्ता भएका छन् । तीमध्ये वाग्मती अञ्चलमा मात्रै ११ लाख ७२ हजार ४१३ सवारीसाधन दर्ता भएको छ । मुलुकभर दर्ता भएकामध्ये ३६ दशमलव ४० प्रतिशत सवारीसाधन वाग्मतीमा गुड्ने गर्छ ।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक पन्तले वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनमध्ये ९७ प्रतिशत निजी सवारी रहेको बताउनुभयो । बाग्मतीमा दर्ता भएका गाडीमध्ये ९० प्रतिशत उपत्यकामा गुड्दा ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण हुने गरेको उनले बताए ।
वाग्मतीमा दर्ता भएका सवारीसाधनमध्ये ९ लाख २१ हजारभन्दा बढी मोटरसाइकल मात्रै छ । बस र ट्रक ४८ हजार २४२, पावर टिलर र डोजरको संख्या १३ हजार ५५३ छ । यसैगरी कार र जीपको संख्या एक लाख ४२ हजार ३३१ छ भने टेम्पो र माईक्रोबस ६ हजार ३३० दर्ता भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्ला समयमा अत्याधिक रुपमा निजी सवारी भित्रिएको र देशका ७७ वटै जिल्लाबाट गाडी काठमाडाँैमा आउने र बाहिर दर्ता भएका सवारीसाधन समेत काठमाडौँमै चल्ने हुँदा ट्राफिक व्यवस्थापन थप जटिल बन्ने गरेको छ ।
सडक विभागको तथ्याङ्कमा उपत्यकाको सडक दुई हजार १४ किलोमिटर छ । एक लेनको ६६० किमी, दुई लेन २३९ किमी र चार लेनको सडक १९३ किमी छ । उपत्यकामा एक जना ट्राफिक प्रहरीले औषत ८१४ वटा सवारीसाधन व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसैगरी एक जना ट्राफिक प्रहरीले एक दशमलव ५ किमी सडकको ट्राफिक व्यवस्थापन गर्नुपर्ने अबस्था रहेको प्रहरी वरिष्ठ उपरीक्षक पन्तले बताए ।
काठमाडौँ उपत्यकामा दैनिक करिव १० लाख सवारी गुड्छन् । ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा एक हजार ४०० ट्राफिक प्रहरीले काम गर्दै आएका छन् । ट्राफिक व्यवस्थापनमा प्रविधियुक्त नगरेसम्म प्रभावकारी हुन नसक्ने निष्कर्ष प्रहरीको छ ।
उपत्यकामा विभिन्न पूर्वाधार निर्माण तथा खाल्डाखुल्डीका कारण सडकको अबस्था कमजोर छ भने सबै क्षेत्रमा आकासे पुल बन्न सकेको छैन । व्यक्ति सडकबाट हिंड्ने अबस्था हटाउन सकिएको छैन । ट्राफिक संकेतहरुको समेत अभाव छ । पुलमुनी सडक खोल्न सकिएको छैन । फुटपाथ, खाल्डाखुल्डी र पोल व्यवस्थापन हुन नसक्दा ट्राफिक व्यवस्थापन हम्मेहम्मे पर्छ ।
निजी सवारी दिनप्रतिदिन बढ्दै गएको र तीन पाङग्रे सवारीको प्रयोग, आधुनिक प्रविधिको कमी तथा नागढुंगा, कोटेश्वरमा प्रहरीले नै अभिलेख राख्नुपर्ने अबस्थाले जाम बढ्दो रहेको प्रहरीको निष्कर्ष छ । पार्किङको अभाव, मोटर ग्यारेजलाई व्यवस्थापन गर्न नसक्नु, चक्रपथ बाहिर पार्किङको व्यवस्था गर्न नसक्नुले चुनौती कायमै छ । ट्राफिक ज्ञानको कमी र व्यक्ति कै धारणामा परिवर्तन हुन नसकेकाले ट्राफिक शिक्षालाई विद्यालय तहबाटै जोड्नुपर्ने माग प्रहरीको छ ।
“यहाँ ६० वटा गाडी ल्याउनु र ६० जना बोक्ने एउटा गाडी ल्याउनुमा निक्कै फरक पर्छ,” प्रहरी वरिष्ठ उपरीक्षक पन्तले भन्नुभयो, “यसतर्फ ध्यान जानुपर्छ ।” स्मार्ट लाईट, सिसी टिभीको व्यवस्था, डिजिटल अभिलेख प्रणाली, जिपिएसको प्रयोग र ट्राफिक चिल्ड्रेन पार्क बनाउन सके ट्राफिक व्यवस्थापन सहज हुने अनुमान प्रहरीको छ ।
नीजि तथा साना एवं पुराना र तीन पाङ्ग्रे सवारीलाई निरुत्साहित गर्नेतर्फ ध्यान दिनुपर्ने प्रहरीले ठम्याई छ । उक्त विषयसमेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत ट्राफिक प्रहरीले प्रतिवेदन बुझाएको छ ।
नेपालमा विसं १९५८ सालमा राणा प्रधानमन्त्री वस्र शमशेरको पालामा पहिलोपटक कार भित्रिएको थियो । त्यसबेला रामदलबाट ट्राफिक नियन्त्रणको काम थालिएको थियो । विसं २०५९ मा बल्ल आएर उपत्यकाको १० स्थानबाट ट्राफिक बत्तीको व्यवस्था शुरु गरिएको थियो ।