काठमाडौँ, कात्तिक २० । पोखरामा जारी पोखरा प्रिमियर लिगको अन्तिम खेल सुरु भएको छ । पोखरा रंगशालामा शुरु भएको अन्तिम खेलमा उपाधिका लागि पारस खड्काको चितवन राइनोज र शरद भेष्वाकरको कप्तानीमा रहेको आयोजक टिम पोखरा पल्टनबीच प्रतिष्पर्धा भैरहेको छ ।
पाँच खेलबाट दुबै टिमले ३ जित र २ हार ब्यहोर्दै फाइनल यात्रा तय गरेका हुन् । पहिलो दुई खेलमा पराजित भएको चितवनले त्यसपछिका खेलहरुमा उत्कृष्ठ प्रदर्शन गर्दै फाईनलसम्म आईपुगेको हो । लिग चरणको अन्तिम खेलमा चितवनले विराटनगरलाई हराउँदै प्लेअफमा स्थान पक्का बनाएको थियो ।
प्ले अफमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेका हुलास काठमाडौँ रोयल्सलाई नमिठो हार चखाउँदै चितवन उपाधी दाबेदारको रुपमा प्रस्तुत भएको हो । चितवन सामु फाइनलमा पोखरालाई हराउँदै लिग चरणमा भोगेको हारको बदला लिने मौका छ भने पोखरालाई लिगमा जितेको आत्मविश्वास र घरेलु मैदान र दर्शक साथ छ । प्रतियोगिताको विजेताले २७ लाख रुपैया जित्नेछ । घरेलु क्रिकेटमा यो राशी सर्वाधिक हो । उपविजेताले १० लाख हात पार्नेछ भने सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सुजुकीको मोटरसाईकल प्रदान गरिनेछ । क्रिकेट प्रतियोगितामा तीनवटा मोटरसाइकल प्रदान गरिन लागेको पनि यो पहिलो पटक हो ।
उपाधिका लागि हुन लागेको खेलमा पहिलो ब्याटिङको निम्तो चितवनले पाएको छ भने टस जितेको पोखराले फिल्डिङ रोजेको छ । चितवनका लागि ओपनिङ ब्याट्सम्यानको रुपमा अनिल शाह र हरिशंकर शाह मैदानमा आएका छन् भने बलिङमा मोहम्मद नाभिद आएका छन् ।
खेलकाे पहिलाे इनिङ सकिँदा पाेखरासामु चितवनले १६१ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ । पारस खड्काको कप्तानीमा रहेको चितवन राईनोजले कुल २० ओभर खेल्दै विकेटको ५ विकेटको क्षतिमा १६० रन बनाएको हो ।
चितवनको तर्फबाट कप्तान पारस खड्काले अर्धशतक पार गरेका छन् । उनले कुल ३७ बल खेल्दै ९ चौकाको माध्यमबाट ५१ रन बनाएका थिए । त्यस्तै ओपनर अनिल कुमार शाहले व्यक्तिगत ३७ रन बनाए । उनले कुल ३८ बल खेल्दै पोखराका बलर मोहम्मद नाभिदबाट आउट हुन पुगेका थिए । अर्का ओपनर हरिशंकर शाह भने १२ बलमा ८ रन बनाउँदै दोस्रो ओभरमै आउट भएका थिए । पारसको विकेटपछि आएका सन्नी पटेलले विस्फोटक ब्याटिङ गरेका छन् । उनले २१ बलमा ४ छक्का र ३ चौकाको माध्यमबाट ४३ रन बनाई अन्तिम ओभरमा आउट भए । अन्त्यमा आएका करण केसी शुन्य रनमै आउट भएका छन् ।
बलिङतर्फ पोखराका मोहम्मद नाभेद र ललित राजवंशी,र रशिद खानले एक एक विकेट लिए भने कृष्ण कार्कीले २ विकेट लिए । बलिङपश्चात पाेखरा चितवनकाे लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरिरहेकाे छ ।
हेर्नुहोस् लाईभ भिडियो
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki