भक्तपुुर, कार्तिक २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अबको २ वर्षभित्र काठमाडौंका सबै सडक कालोपत्रे हुने र उकालो बाटो ढलान हुने दाबी गरेका छन् । सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल पार्नका लागि सबै एकजुट हुनुपर्ने उनले बताए ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–५ को सूर्यनगर टोल विकास समाजले गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा उनले नेपालको समृद्धिको शुरुवात भइसकेको बताए ।
नेता नेपालले शङ्करापुर नगरपालिका, कोटेश्वर, कागेश्वरी मनोहरालगायत काठमाडौँ उपत्यकाका सबै सडक आगामी दुई वर्षभत्रमा कालोपत्र हुने र उकालोमा ढलान हुने बताए ।
विगतमा निर्माण व्यवसायीको ढिलाइले निर्माण कार्यले गति लिन नसके पनि अब त्यो ढिलाइ नदोहरिने उनकोे भनाइ थियो ।
देशमा सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबैलाई न्याय गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको बताउँदै उनले नेकपाको दुई तिहाइको सरकार निर्माण भएकाले देशको विकास र समृद्धि नरोकिने चर्चा गरे ।