काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् ।
भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले छिमेकी भारतलगायत केही मुलुकका लागि राजदूतको नाम सिफारिश गरेको बताइए पनि सरकारले औपचारिकरुपमा सार्वजनिक गरेको छैन ।
हरेक साता सञ्चार भेटघाट गरिने
यसैबीच सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तक्र्रिया गर्ने तयारी भएको छ ।
प्रेस सल्लाहकार डा. अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तक्र्रिया हुनेगरी तयारी भएको जानकारी दिए । उक्त अन्तक्र्रिया सम्भवतः हरेक बिहीबार हुनेछ ।
उनले भने, ‘सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो ।’
रासस