काठमाडौं, कात्तिक २७ । सधैँ सामूहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्टहरू काँग्रेस भन्दा बढी भड्किला, महङ्गा र खर्चालु देखिएका छन् ।
कम्युनिष्टहरू कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिहार, छठ, नेपाल सम्वत्का अवसरमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) द्वारा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रष्ट हुन्छ । हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्याकर्ता नै बढी भएकाले खर्च त्यही अनुपातमा बढेको तर्क गर्छन् तर यस वर्षको चियापानमा नेकपाको खर्च काँग्रेसको भन्दा चार गुणाले बढी देखिएको छ ।
अहिलेसम्म प्राप्त खर्च तथ्याङ्कअनुसार नेकपाले यो चियापानमा ४० लाख रुपियाँ र नेपाली कांग्रेसले १० लाख रुपियाँ खर्च गरेको देखिएको छ ।
पार्टी एकीकरणपछि पहिलोपटक आयोजित उक्त कार्यक्रममा ५० हजार जनालाई निमन्त्रणा गरिएको नेकपाको दावी थियो । नेकपाद्वारा आयोजित चियापानमा खाजामा मात्र २९ लाख रुपियाँ खर्च भएको छ । चियापानमा उपस्थिति भएका आमन्त्रित पाहुना तथा नेता÷कार्यकर्तालाई चिया, कटौरी, निम्की केराको परिकार खुवाइएको थियो ।
नेकपा केन्द्रीय कार्यालयका लेखा शाखा प्रमुख खेम पौडेलले खाजामा मात्र २९ लाख
रुपियाँको बिल आएको बताउनुभयो।
नेकपा केन्द्रीय कार्यालयका लेखा शाखा प्रमुख खेम पौडेलले खाजामा मात्र २९ लाख रुपियाँको बिल आएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘३२ लाखको बिल कार्यालयमा प्राप्त भएको छ अझै आठ लाखको बिल आउने अनुमान गरेका छौं ।’
खाजाको बिल प्राप्त भए पनि कार्ड छपाइ, चियापानस्थलको व्यवस्थापन, टेन्ट, पानीलगायतको बिल कार्यालयमा नआइपुगेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चियापानमा विभिन्न प्रकारका ७० हजार कार्ड छपाइएको थियो ।
उक्त कार्यक्रममा अस्वस्थताका कारण पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको थिएन । उक्त कार्यक्रम सम्पन्न भएको दुई साता बितिसक्दा समेत खर्चको बिल केन्द्रीय कार्यालयमा पुग्न सकेको छैन । केही वर्षदेखि कम्युनिस्टहरुले चियापान कार्यक्रमलाई निरन्तरता दिँदै भड्किलो खर्च गर्दै आएका छन् ।
चियापानको परम्परा थालेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने थोरै खर्चमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चियापानका लागि ७ लाख बजेट छुट्याइएको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘चियापानमा १६ हजारको उपस्थिति थियो, त्यसको खर्चको बिल सबै आइसकेको छैन, बढीमा १० लाख रुपियाँ खर्च भयो होला ।’