काठमाडौँ, कात्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकारका रुपमा राजन भट्टराई नियुक्त भएका छन् । मन्त्रीपरिषदको विहिबारको वैठकले भट्टराईलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका रुपमा नियुक्त गरेको हो । वैठकले भट्टराईको मर्यादा र सुविधासमेत मन्त्रीसरह कायम गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बिहिबार साँझ ५ बजे बसेको मन्त्रीपरिषद वैठकले राष्ट्रिय प्राथमिकता प्राप्त अयोजनको द्रुततर निर्माण तथा विकास सम्वन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमती दिने निर्णय गरेको छ ।
वैठकले भारत, अफगानिस्तान, भुटान, मलेसिया, इन्डोनेसिया, ब्रुनाई, र यूएईमा आवासिय तथा गैरावसिय राजदुत नियुक्त गरेको छ । पुर्वमन्त्री तथा पुर्वराजदुत नीलाम्बर आचार्यलाई भारतको लागि आवसिय राजदुत तथा अफगानिस्तान र भुटानका लागि गैरावसिय राजदुतमा नियुक्त गरेको छ । पुर्वराजदुत नै रहेका कृष्णप्रसाद ढकाललाई संयुक्त अरब इमिरेट्स(यूएई) का लागि आवासिय राजदुत तोकेको छ । वैठकले पुर्वराजदुत उदयराज पाण्डेलाई मलेसियाका लागि आवासिय र इन्डोनेशिया र ब्रुनाईका लागि गैरावसिय राजदुतमा नियुक्त गरेको छ ।
ईजरायलका लागि आवासिय तथा साईप्रसका लागि गैरावसिय राजदुतका रुपमा कार्यरत निरञ्जनकुमार थापालाई तीन हप्ताको म्याद दिएर फिर्ता बोलाउने समेत मन्त्रीपरिषदले निर्णय गरेको छ । त्यसैगरि उक्त रिक्त राजदुतको लागि काठमाडौँका अञ्जान शाक्यलाई सिफारिस गर्ने पनि वैठकले निर्णय गरेको छ । दक्षिण अफ्रिकाका लागि राजदूतको रुपमा काम गरिरहेका अमृतबहादुर राईलाई पनि फिर्ता बोलाउने सरकारले निर्णय गरेको छ । राईलाई तिन साताको समयसिमा दिई मन्त्रालयमा बोलाउने तयारी गरिएको हो ।
त्यसैगरि मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर दिइने भएको छ । सूचना तथा सन्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद् बैठकको जानकारी हरेक साता मत्रालयमा पत्रकार सम्मेलन गरि जानकारी दिने बताएका हुन् ।