काठमाडौं, कात्तिक ३० । आपराधिक समूह खडा गरी सुन तस्करी र सनम शाक्य हत्या अपराध मुद्दाका अभियुक्तद्वय मदन सिलवाल र सञ्जय खेतान भन्ने प्रभात अग्रवाललाई उच्च अदालत विराटनगरले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीश उमेशकुमार सिंह र साधुराम सापकोटाको संयुक्त इजलासले अग्रवाल र सिलवाललाई जनही पाँच–पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सुनाएको हो ।
अभियुक्तद्वय अग्रवाल र सिलवाललाई थुनामा राखेर पुर्पक्ष गरिरहनुपर्ने जिल्ला अदालतको आदेश रीतपूर्वक नभएकाले धरौटीमा बुझाएर बाहिरै बसी पुर्पक्ष गर्न पाउने गरी धरौटीमा छाड्न अदालतले आदेश गरेको उच्च अदालत विराटनगरका स्रेस्तेदार नारायणप्रसाद रेग्मीले बताए । गत ८ जेठमा जिल्ला अदालत मोरङको आदेशबाट पुर्पक्षका लागि थुनामा गएका सिलवाल र अग्रवाल दुवैले जिल्लाको आदेश बेरित भएकाले रीतपूर्वकको आदेश माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
अब १९ जनाको अन्तिम आदेश हुन बाँकी
सुन तस्करी र सनम शाक्य हत्या आरोपमा जिल्ला अदालतबाट थुनामा गएर उच्च अदालतमा रीतपूर्वकको आदेश माग गर्दै निवेदन दिनेमध्ये हालसम्म आठजना अभियुक्त छाडिइसकेका छन् । १९ जनाको हकमा अझै अन्तिम आदेश हुन बाँकी छ । सुन तस्करी प्रकरणमा प्रहरीले विभिन्न चरणमा ७० जनाविरुद्ध अभियोग दर्ता गराएको छ जसमा पाँचजना जिल्ला अदालतको आदेशबाट तारेखमा छाडिएका र ४० जना पुर्पक्षमा जेल गएका छन् ।
जिल्ला अदालतले तारेखमा छाडेका दुईजनालाई उच्च अदालतले पुनः थुनामा राख्न अन्तिम आदेश गरेको छ । २०१५ जुलाईयता संगठित आपराधिक सञ्जाल बनाएर १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँबराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम सुन तस्करी गरेको र सनम शाक्यको अपहरण गरी हत्या गरेको अभियोग अदालतमा दर्ता भएको छ । शुक्रकारबो नयाँ पत्रिकामा खबर छ ।