काठमाडौं, मंसिर ४ । नेदरल्याण्ड्स विश्व फुटबलमा अभागी टिमका रुपमा परिचित छ । किनकी विश्वकप फुटबल जस्तो प्रतिष्ठित प्रतियोगिताको तीनवटा फाइनल खेलेर पनि एकपटक पनि उपाधि जित्न नसकेको तीतो यथार्थ यो टिमसँग जोडिएको छ । सन् १९७४, १९७८ र २०१० मा फाइनल खेले पनि नेदरल्याण्ड्स पराजित हुन पुग्यो । २०१४ को विश्वकपमा तेस्रो भएको नेदरल्याण्ड्स २०१८ को विश्वकपमा छनोट नै हुन सकेन ।
तर, विश्वकपमा छनोट नभएको यही नेदरल्याण्डले पछिल्ला केही दिनयता विश्व फुटबल पारखीहरुको ध्यान खिचिरहेको छ । २०१८ को विश्वकप विजेता फ्रान्स र पाँच पटकको विश्वविजेता जर्मनीलाई पछि पार्दै नेदरल्याण्ड्स युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुग्न सफल भएको हो ।
गएराती भएको खेलमा जर्मनीविरुद्ध उत्कृष्ट कम्व्याक गर्दै नेदरल्याण्डले फ्रान्सलाई पछाडि पार्दै सेमिफाइनलमा प्रवेश पक्का गरेको हो । यस अघि नै रेलिगेसनमा परिसकेको जर्मनीले जितले सान्त्वना दिन्थ्यो । तर, उसले जित्दाको फाइदा फ्रान्स सेमिफाइनलमा पुग्थ्यो । तर, ८५ औं मिनेटसम्म २–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै नेदरल्याण्ड्सले ८५ र ९० औं मिनेटमा गोल गर्दै २–२ को बराबरी मात्रै गरेन । फ्रान्ससँग सातसात अंक बनाए पनि हेडटुहेडमा अगाडि रहँदैै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । अघिल्ला तीन खेलमा दुई हार एकमा बराबरी गर्दै सान्त्वना जिततर्फ अघि बढ्ने क्रममा ९ र १९ औं मिनेटमा गोल गर्न सफल भएको थियो । ८४ औं मिनेटसम्म जितनजिक पुगेको पनि थियो । तर, पाँच मिनेट सम्हालिन नसक्दा आफूमात्र दुःखी भएन त्यो भन्दा बढ्दा दुखी फ्रान्सलाई बनाइदियो । जर्मनी जितेको भए फ्रान्स सेमिफाइनलमा पुग्ने थियो ।
यसरी नयाँ स्वरुपको नेसन्स लिगमा विश्वकपमा छनोट नै नभएको नेदरल्याण्ड्सले विजेता फ्रान्सलाई नै पछि पार्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
नेदरल्याण्ड्स सहित स्वीटजरल्याण्ड, इङल्याण्ड र पोर्चुगल सेमिफाइलनमा प्रवेश गरेका छन् । अब सेमिफाइनलका खेल आगामी जुनमा हुनेछ । स्वीटरल्याण्डले ९ अंक बटुलेर सेमिफाइनलमा प्रवेश पायो भने अरु तीन टिमले समान सातसात अंक बटुले ।