लेखक रीता साहको प्रश्न,‘हामीलाई सँधै भारतीय भनेर किन हेपिन्छ ?

दियो पोस्ट  

मधेसमा महिलाको मुद्दा निकै गम्भिर प्रकृतिको छ । मधेसी समुदायबाट लेखक भएर समाजमा चेतना छर्नु आफैमा चुनौतीको विषय हो । यस्तो चुनौती झेलिरहेकी पात्र हुन् लेखिका रीता साह । मधेशको सामान्य परिवारमा जन्मिएकी साहले प्रभावशाली रुपमा आफ्नो मुद्दालाई कलम मार्फत जगाउँदै आएकी छिन् । उनै साहसँग कुराकानीको आधारमा दियोपोस्टका लागि सृजना सुवेदीले उनको प्रोफाइल तयार पारेकी छिन् ।

मेरो जन्म भारतीय सिमा नजिक सप्तरी जिल्लाको एउटा गाउँमा भएको हो । मैले मेरो बाल्यकाल मधेशी समुदायमा बिताएँ । मधेशी समुदायको अवस्था जति नाजुक छ त्यसभन्दा बढी दयनीय अवस्था मधेशी समुदायका महिलाको छ । पितृसत्तात्मक सोचको कारण महिलाहरु हेपिन बाध्य छन् । म सानैदेखि पढेर केही गर्छु भन्ने सोचको थिएँ । मैले पढ्नको लागि समाज र परिवारमा नै पनि धेरै संघर्ष गर्नुपर्यो । मधेशी समुदायमा महिला घरबाट बाहिर गएँर पढ्नुलाई अस्विकार्य मानिन्थ्यो ।

परिवार र समाजको चाहाना विपरित जति कठीनाइ भोग्दै पढ्नको लागि म काठमाडाँै आएँ, त्यसभन्दा बढी संघर्ष त यहाँ आएपछि गर्नुपर्यो । मैले यहाँ आएर भोगेको विभेदले नै मलाई काठमाडौँमा मधेशी समुदायका मानिसहरु दिनानुदिन कसरी विभेदको भारी बोक्दै बाँच्न बाध्य छन् भन्ने कुराको बोध गरायो ।

आजभन्दा बीसवर्षअघि मभित्र एकप्रकारको घमण्ड थियो । मेरो समाजमा मभन्दा पढेलेखेको अरु मानिस थिएनन् । मलाई आफू अरुभन्दा निकै मोर्डन, पढेलेखेको, स्मार्ट छु भन्ने लाग्थ्यो तर जब पढ्नको लागि म ताहाचल कलेजमा गएँ त्यसपछि मेरो सोचमा परिवर्तन आयो । त्यहाँ भोग्नुपरेको अनुभव मेरो कल्पनाभन्दा बाहिरको थियो ।

म मधेशबाट आएको मान्छे मेरो लवचमा मधेशी टोन आउँथ्यो । नेपाली राम्ररी र स्पष्ट बोले पनि आफ्नै लवजले गर्दा अरुको भन्दा मेरो बोली फरक हुनु स्वभाविक थियो । यहाँका मानिसको भन्दा मेरो पहिरन पनि केही भिन्न थियो । म पाउजु लगाएर कलेज जान्थेँ । त्यसबेला मलाई साथीहरुले मात्र नभएर पढाउने गुरुलेसमेत ‘पाएलीया हो हो’ भन्ने हिन्दी गीत गाएर जिस्काए । उनीहरुले जिस्काएपछि मैले पाउजु नै नलगाई कलेज जान लागेँ । साथी तथा शिक्षकहरुले मेरो बोली र पहिरनमा खिल्ली उडाउने भएपछि मलार्ई आफैँभित्र एक प्रकारको हीनता बोध हुन्थ्यो र म धेरै साथीहरुसँग बोल्न पनि सक्दिन थिएँ ।

कलेजमा मात्र नभएर मैले यहाँका हरेक ठाउँमा त्यस्तो विभेदको सामना गर्नु परेको छ । मधेशी लवजकै आधारमा मलाई धेरै पटक मेरो राष्ट्रीयतामाथि नै धक्का दिएको जस्तो लाग्छ । कोही मानिससँग परिचय गर्दा पहिल्यै तपाईँको घर भारतको कुन ठाउँमा हो भनेर सोध्थे । आफूलाई जान्ने बुझ्ने भन्नेले नै यस्तो प्रश्न गर्दा एकदमै रिस उठ्थ्यो र रिसलाई थाम्न नसकेर मैले पनि कहिलेकाहिँ तपाईँको घर चाहिँ चीनको कुन ठाउँमा हो ? भनेर सोध्ने गरेको थिएँ ।

मैले नेपालीमा नै कुरा गरिरहँदा मसँग बाटोघाटो वा गाडीमा भेट भएर बोल्ने मानिस पनि टुटेफुटेको हिन्दीमा बोल्न खोज्थे । यसरी बोल्दा यहाँ नेपालको खस भाषालाई मात्र भाषाको मान्यता दिएर आफ्नो भाषालाई हेपेको जस्तो लाग्थ्यो । नेपालमा भाषिक विविधता छ भनेर गर्व गर्दै हिँड्नेले नै त्यसो गर्दा सारै नराम्रो लाग्थ्यो । आफूहरुलाई विद्वान् भन्न रुचाउने उनीहरुकै सोचाइमाथि दया पनि लाग्थ्यो ।

हेपिनुपरेको त्यस्तै एउटा घटना भने अहिले पनि मेरो दिमागमा ताजा नै भएर बसेको छ । एकदिन साग किन्नलाई फुटपाथमा साग बेच्न बसेकी महिला व्यापारीकहाँ गएँँ । सकेसम्म सस्तोमा सामान किन्न पाए हुने भन्ने त सबैले सोचेकै हुन्छन् । सागको मुल्य पर्नेभन्दा अलि महंगो नै भनेपछि मैले ती महिलालाई दिदी, साग अलि महंगो भएन र अलिकलि घटाउनुस् न भनेर अनुरोध गरेँ । उनी भने त्यतिकैमा जंगिएँर तपाईँहरुको जात नै त्यस्तै भन्दै तुक्ष वचन लगाइन् र मनमा वचनले दिएको ठूलै चोट बोकेर साग नकिनिकन फर्किएँ । त्यो घटनापछि भने पढेलेखेका मानिसदेखि सामान्य रुपमा व्यापार गर्ने मानिसको दिमागमा समेत मधेशीप्रति यति नकरात्मक धारणा किन आयो भन्ने सोचाइतिर मन गयो ।

त्यसपछि म अध्ययनतिर लागेँ । खासमा नेपालमा मधेशी समुदायका मानिसहरु आजबाट हेपिएका हैनन् भन्ने कुरा इतिहास नै साक्षी छ । राणाकालमा नै शिवरात्रीको बेलामा भारतीयहरुलाई काठमाडौँ प्रवेश खुल्ला हुँदा मधेशीको लागि भने ४ दिनको लागि भिसा लिएर आउनुपर्ने बनाएको थियो । त्यहिबेलादेखि काठमाडौँमा मधेशीको पहुँच थिएन र त्यसै परम्पराले आजसम्म पनि निरन्तरता पाइरहेको छ । आज पनि मधेशी अलग राज्यको मानिस हो जस्तो गरिन्छ र उनीहरुलाई भेदभावको प्रत्यक्ष सिकार बनाइन्छ ।

आम मानिसले मात्र नभएर नेपालको संविधानले पनि मधेशी समुदायमाथि दमन गरेको थियो । नेपालको नागरिकता लिनको लागि ढाका टोपी लगाएकै फोटो चाहिने अरु कुनै प्रकारको कपडा लगाएर फोटो खिच्दा नहुने नियम संविधानले नै बनाएको थियो । त्यस्तै नेपाली नागरिकता पाउन नेपाली भाषा राम्ररी बोल्न जानेकै हुनुपर्ने भयो । त्यसबेलाको नियमअनुसार धेरै मधेशका मानिसहरुले भाषा नजानेकै आधारमा नागरिकताबाट बञ्चित हुनुपरेको थियो । यो खस भाषा र उनीहरुको पहिरनलाई मात्र नेपालीको मान्यता दिनुको परिणामा हो । यसमा राज्यले मधेशी लगाएत अन्य सत्तामा पहुँच नपुगेको मानिसलाई गरेको विभेद प्रष्ट देखिन्छ । राज्यबाट हेपिएको समुदायलाई समाजका अन्य समुदायले नि जे गरे पनि हुन्छ भन्ने धारणा बनाए ।
हामी थोरै जाने बुझेका मानिसलाई त यसरी हेप्न सक्छन् भने सामान्य ठेला वा साइकलमा सामान बेच्ने, ज्याला मज्दुरी गरेका मानिसहरुलाई त मानिसलाई गर्नुपर्ने जस्तो व्यवहार पनि गर्दैनन् । त्यहाँ खान नपाएर काम गर्न आएको भन्ने जस्तो सोच उनीहरु बनाउँछन् ।
मधेशी समुदायमाथि भइरहेको विभेद जातीय तथा सामुदायिक विभेद मात्र नभएर रंगभेदको उच्च नमुना पनि हो । उनीहरु तराईमा हुर्किएकै कारणले पहाडी मुलुकको मानिसभन्दा स्वभाविक केही कालो हुन्छन् । कालो रंगको मानिस देखेपछि नै पहाडी समुदायको मानिसलाई पनि मधेशी भन्ने गरिन्छ । यो उनीहरुमाथि भएको रंगभेद हो ।
मधेशी समुदायका मानिसहरुलाई सरकारी कार्यलयमा पनि भेदभाव गरिन्छ । एकपटक बुवाको पेन्सन लिनको लागि आमासँग किताबखाना गएँको थिएँ । उनीहरुले सानो कुरा नमिल्दा पनि धेरै दुःख दिएका थिए । मैले आफ्नो भिजिटिङ कार्ड राखेर दिन अनुरोध गर्दा पनि उनीहरुले हामी मधेशी भएकै आधारमा विश्वास गरेनन् ।
त्यस्तै हरेक पाइलामा हामीलाई भारतीय भनेर हेप्ने चलन आज पनि छ । गाडी, पसल, बाटोघाटो, सरकारी कार्यलय, समाज सबैतिरबाट तिरस्कृत भएर मधेशी मुलका मानिसहरु काठमाडौँमा बाँचिरहेका छन् । आफ्नै राष्ट्रभित्र पनि पहिचानबिना बाँच्नुको पीडा उनीहरुले जति कसैले पनि भोगेका छैनन् । भैया, बिहारी, धोती, मधिशे जस्ता अपशब्द बोल्नु, जानीनजानी हिन्दीमा बोल्न खोज्नु आदि सबै राष्ट्रियतामाथि गरिएको प्रहार हो ।

मधेशी मानिसहरुले भोगिरहेको समस्याको निराकरण गर्नको लागि राजनीतिक, सामाजिक, शैक्षिक आदि सम्पूर्ण क्षेत्रबाट पहल गर्नुपर्छ । सबैभन्दा पहिला त हामीले नागरिकहरुको सोचमा नै परिवर्तन ल्याउन पहल गर्नुपर्छ । विभिन्न थरीका जनचेतनामूलक कार्यक्रमहरु गरेर उनीहरुमा भएको मधेशी मुलका मानिसप्रतिको गलत धारणा हटाउनु पर्छ । यसको लागि हाम्रो मिडियाहरु पनि सकारात्मक हुनुपर्छ ।

अहिले मिडियाहरुले मधेशी मुलको मानिसको समस्या र उनीहरुमाथि राज्य तथा समाजले गरेको दमनलाई जतिसुकै ठूलै मुद्धा भए पनि स्थान दिँदैनन् । कतिपय मिडियाले त त्यसलाई लुकाउन र ढाकछोप गरेर दंगा फैलाउने काममा टेवा पुरुयाइरहेका हुन्छन् । मधेश आन्दोलनलाई एकतर्फी रुपबाट मात्र विश्लेषण गरिनु, प्रहरी इनकाउन्टरमा नै ज्यान गुमाएका राममनोहर यादवको समाचारलाई उचित स्थान नदिनु सबै यसैका उदाहरण हुन् ।

TATA ADD

सिफारिस