दमक, मंसिर १३ । आगोले जलेर शिवसताक्षी नगरपालिका–७, लालझोडामा आइतबार राति परिवारका चारै जनाको मृत्यु भयो । घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए ।
उनीहरूले ‘मेयर ७० लाखको गाडी चढ्ने, तर एउटा दमकल किन्न नसक्ने’ भन्दै सार्वजनिक आलोचना गरे।
मेयर चन्द्रकुमार शेर्मा यही वर्ष किनेको ७० लाखको ईसुजु डिम्याक्समा हुँइकिन्छन्। उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढछिन्। नगरपालिकाका जनप्रतिनिधिले एउटा रोलर, दुईवटा टिपर, एउटा स्काभेटर, दुईवटा ट्रलीसहितको ट्रयाक्टर, एक टोयोटा गाडी, एक टाटा सुमो, १९ मोटरसाइकल र एउटा स्कुटर खरिद गरेका छन्।
लालझोडाका मुक्तिनाथ दाहालले दमकल नभएकै कारण लक्ष्मण खनालको परिवारलाई बचाउन नसकिएको बताए। आगलागी भएको ३५ मिनेटपछि मात्रै दमकल घटनास्थल पुगेको थियो। ‘दमकल आइपुग्दा काठको दुईतले घर खरानी भइसकेको थियो, खनाल परिवारले ज्यान गुमाइसकेका थिए,’ उनले भने, ‘शिवसताक्षीमै दमकल भइदिएको भए, उनीहरुलाई बचाउन सकिन्थ्यो कि।’
जलेर ३४ वर्षीय लक्ष्मण खनाल, उनकी श्रीमती २९ वर्षीया राधिका, छोरी ४ वर्षीया चन्द्रा र ५ महिने छोरा टीकारामको ज्यान गएको थियो।
जनप्रतिनिधि जनताको जीउधनप्रति गम्भीर नबनेको लालझोडाका स्थानीयको गुनासो छ। शिवसताक्षी–९ का लोकेश खनालले भने, ‘जनताप्रति जनप्रतिनिधि जिम्मेवार भएनन्, आफूहरुलाई गाडी किने। दमकल खरिद गर्ने क्षमता भएर पनि नगरपालिकाले किनेन।’
साविकका सतासीधाम, धरमपुर, शिवगन्ज र पाँचगाछी गाविस मिलाएर बनाइएको शिवसताक्षी नगरपालिका जिल्लाको मध्यभागमै छ।
पूर्वपश्चिम लोकमार्गदेखि १५ किमी दक्षिणसम्म छ। १५ किमी पश्चिममा दमक र त्यति नै दूरीमा बिर्तामोड नगरपालिका छन्। शिवसताक्षीमा आगलागी भए बिर्तामोड र दमकबाट दमकल बोलाउनु पर्ने बाध्यता छ। लालझोडामा आगो लाग्दा दमक नगरपालिकाको दमकल बलाइएको थियो।
मेयर शेर्माले दमकल राख्ने क्षमता नगरपालिकाको नभएको तर्क गरे। भने, ‘दमकल किनेर मात्र हुँदैन, त्यसलाई चलाउन सक्नुपर्छ। नियमित ६/७ जना कर्मचारी पाल्नुपर्छ। त्यो व्ययभार धान्ने क्षमता नगरपालिकासँग छैन।’
उनले खनाल परिवारमा भएको जस्तो घटना सधैं नहुने जवाफ दिए। ‘यस्तो घटना सधैं हुँदैन, भवितव्यलाई कसैले रोक्न सक्दैन,’ उनले भने। नजिकैको कन्काइ नगरपालिकासँग सहकार्य गरेर दमकल खरिद गर्ने विषयमा छलफल अघि बढाएको जानकारी उनले दिए।
सुक्खायाम सुरु भएसँगै आगलागीका घटना हुन थालेका छन्। ग्रामीण बस्तीमा धेरै आगलागी हुने गरेको छ। जिल्लाका सबै स्थानीय तहसँग आगलागी नियन्त्रणमा लिन सक्ने उपायको व्यवस्था छैन। जिल्लामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तह छन्। आगलागीका घटना भए नियन्त्रणमा लिन सक्ने दमकल पाँचवटा स्थानीय तहसँग मात्रै छ।
बाँकी १० वटा स्थानीय तहसँग अग्नि नियन्त्रणका लागि कुनै व्यवस्था छैन। तत्काल यसबारे कुनै योजना नरहेको स्थानीय तहका प्रमुखहरूले बताए। दमक, मेचीनगर, भद्रपुर, बिर्तामोड र गौरादह नगरपालिकामा मात्र दमकल छ। अर्जुनधारा, कनकाइ र शिवसताक्षी नगरपालिका तथा बुद्धशान्ति, कचनकवल, हल्दिबारी, बाह्रदशी, कमल, गौरीगञ्ज र झापा गाउँपालिकामा दमकल छैन।