महरामाथिको थुनछेक बहस सकिएन, सोमबार पनि जारी रहने

महरामाथिको थुनछेक बहस सकिएन, सोमबार पनि जारी रहने

काठमाडौँ, कात्तिक १७ । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहसका लागि समयअभाव भएको छ । जिल्ला अदालत काठमाडौँमा आइतबार बिहान ११ बजेबाट शुरु भएको बहस साँझ सम्म भएको थियो । बहसका लागि समय अभाव भएपछि हेर्दाहेर्दैमा राखिएको छ । भोली सोमबार पनि थुनछेक बहस चल्ने छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहसमा सरकारका तर्फबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकाल सहभागी छन् । सरकारको पक्षबाट सहभागी सबैले बहसमा भाग लिइसकेका छन् ।

त्यस्तै महराको पक्षबाट भने वरिष्ठ अधिवक्ता तथा पुर्वमहान्यायधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा २० जना अधिवक्ता रहेका छन् । जसमा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा र लव मैनाली लगायत बहस गर्दैछन् । महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् ।

बिहीबार दर्ता भएको महराविरुद्धको मुद्दामा शुक्रबार न्यायाधीशसँगको बयान सकिएको थियो । शुक्रबारबाटै थुनछेक बहस सुरु हुने भनिए पनि समय अभावका कारण आइतबारबाट मात्रै थुनछेक बहस सुरु हुन लागेको जिल्ला अदालत काठमाडौँले जनाएको छ ।

थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छोड्ने वा सामान्य तारेखमा रिहा गर्नेमध्ये एक आदेश हुनेछ ।

Trending News