
काठमाडौं, मंसिर ६ । युएईमा जारी टी १० लिग क्रिकेट प्रतियोगितामा नेपालका खेलाडी पारस खड्का र सन्दीप लामिछानेको टिम भिड्ने भएका छन् ।
पारस आवद्ध टिम अवुधावी र सन्दीप आवद्ध कर्नाटका टसकर्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।
प्रतियोगितामा सन्दीप लगारतार टिममा परिरहेका छन् भने पारसले भने दुई खेलमा मात्रै मौका पाए ।
पारसले २ खेलमा नट आउट चार रन बनाएका छन् भने लेगस्पिनर सन्दीपले अहिलेसम्म ६ विकेट लिएका छन् । टी १० को पहिलो खेलमा एक विकेट लिएका सन्दीपले दोस्रो खेलमा २ विकेट लिएका थिए ।
तेस्रो खेलमा भने टी १० कै सर्वाधिक महँगो बलर बने । उक्त खेलमा विकेट विहिन बनेका सन्दीपले ३५ रन खर्चिएका थिए । चौथो खेलमा १ विकेट हात पारेका सन्दीपले पाँचौं खेलमा भने २ विकेट लिए ।
पाँचौं खेलमा उनको ब्याटबाट ५ रन पनि बनेको थियो । पारसले पहिलो खेलमा १ रन तथा दोस्रो खेलमा ३ रनमा नट आउट रहेका थिए ।