जात्रा हेर्न हेलिकोप्टर चार्टर गरेर धादिङ पुगे राज्यमन्त्री रामबीर मानन्धर, पैसा तिर्ने व्यापारी को ?

जात्रा हेर्न हेलिकोप्टर चार्टर गरेर धादिङ पुगे राज्यमन्त्री रामबीर मानन्धर, पैसा तिर्ने व्यापारी को ?

दियोपोस्ट संवाददाता,


धादिङ, १४ मंसिर । धादिङको उत्तरी भूभाग रुभीभ्याली गाउँपालिका स्थित लापा, तिप्लीङ, रि र झार्लाङका जनता सिटामोल खान नपाएरै ज्यान गुमाउनु पर्ने बाध्यतामा छन् । समयमै उपचार नपाएर मृत्यु हुने नागरिक रहेको देशमा सरकारका एक राज्य मन्त्री भने हेलिकोप्टर चार्टर गरेर जात्रा हेर्न पुगेका छन् ।


शुक्रबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ सल्यानवेशीमा आयोजित त्रिपुरा सुन्दरी माईको मेला हेर्नका लागि सहरी विकास राज्य मन्त्री रामविर माननन्धर अल्टिच्युड एयरको हेलिकोप्टर मार्फत त्यहाँ पुगेका हुन् । गाडीबाट यात्रा गर्दा जम्मा ४ घण्टामा पुग्ने उक्त स्थानमा हेलिकोप्टर लिएर गएपछि स्थानियबासी समेत अचम्ममा परेका थिए ।


सामान्य जात्रामा जाँदा समेत लाखौँ खर्च गरेर हेलिकोप्टरमा यात्रा गर्ने मानन्धरको यात्रा नै शंकाष्पद देखिएको छ । त्रिपुरा सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश सुवेदीका अनुसार गाउँपालिकाले महँगो शुल्कमा हेलिकोप्टर चार्टर गरेको छैन । काठमाडौंबाट धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका ६ स्थित सल्यानबेशी पुग्न हेलिकोप्टरलाई कम्तिमा १ लाख ६० हजार रुपैयाँ बुझाउनुपर्छ । उक्त शुल्क कसले बुझायो भनेर अल्टिच्युड एयरका प्रतिनिधि सिताराम सापकोटालाई सम्पर्क गर्दा उनले मन्त्रीसँगै गएका २ युवाले तिरेको बताए ।


उनका अनुसार राज्यमन्त्री मानन्धरसँगै गएका पर्यटन व्यावसायी कुमार थापा ‘अन्जन’ र गणेश रिमालले हेलिकोप्टरको शुल्क तिरेका हुन् ।


केही दिनअघि ट्रेकिङ एजेन्सीज एशोशियशन अफ नेपाल टानको निर्वाचनमा पराजित भएका थापा ठमेलका विवादास्पद व्यापारी हुन् । थापामाथि समेत फेक रेस्क्यु धन्दा चलाएर पदयात्री पर्यटक ठगी गरेको आरोप छ ।
उनीद्वारा सञ्चालित आसाइ ट्रेकमाथि पर्यटन मन्त्रालयमा उजुरी पर्दा समेत सहसचिव घनश्याम उपाध्यायको नेतृत्वको छानबीन समितिले छानबीन नगरी उन्मुक्ति दिएको आरोप पर्यटन व्यावसायीहरुकै छ ।


धादिङको त्रिपुरा सन्दरी गाउँपालिका ६ सल्यानवेशीमा विगत लामो समयदेखि त्रिपुरा सुन्दरी माइ जात्रा हुँदै आएको छ । पर्यटन मन्त्री योगेश भट्टराई समेत सहभागी हुने भनिएको थियो ।

Trending News