धादिङ । धादिङको थांक्रे गाउँपालिका–७ अम्बाघारीकी ५४ वर्षिय चिरिमाया प्रजालाई हिँजो आज रातमा निन्द्रा र दिनमा भोक छैन । पुस्तौँदेखि बस्दै आएका उनको घरभन्दा केही मिटर तल अवैध रुपमा सञ्चालन गरिएको ढुंगा खानीले उनको परिवार मात्रै होइन त्यहाँका २ सय घरधुरी यतिबेला जोखिममा छन् ।
सातकिलोबाट सय मिटर उकालो चढेपछि चेपाङ बस्ती पुगिन्छ । त्यही टोलको पारी अर्को टोल र बस्तीहरु छन् । करिब २ सय घरधुरी रहेको अम्बाघारीको ठिक तल एउटा अवैध ढुंगा खानी छ । सोही खानीका कारण यहाँका बस्ती त जोखिममा परेका छन् नै खेतबारी समेत भासिन थालेको छ । खानेपानीका मुहानहरु सुकेका छन् । सिंचाइको कुलो भत्किएको छ ।
‘ब्रेकरले ढुंगा फूटाउँदा हाम्रो घर भूकम्पले भन्दा बढी हल्लिन्छ । घरको तलतिर त भाँसीएको छ । हामी बसीरहेको घर चर्किएको छ,’ चर्किएको भित्ता देखाउँदै चिरिमायाले दियोपोस्टसँग भनिन्,‘यो खानीले हामीलाई त उठिबास लगाउने भयो । खेतबारी सबै भासिएको छ ।’
गाउँपालिकामा दर्ता समेत नभएको श्री कुमारी माता रोडा ढुंगा उद्योगले साविक थांक्रे ४ हाल थांक्रे गाउँपालिका ७ सातकिलो स्थित ठाडोखोला हप्तेढुंगामा अवैध रुपमा सञ्चालन गरेको ढुंगा खानीका कारण यहाँको बस्ति नै जोखिममा परेको हो ।
‘यहाँ खानी सञ्चालन गर्न लागेपछि मैले शुरुमै हुँदैन भनेर विरोध गरेँ । हुँदैन भन्दाभन्दै उ.. त्यहाँ माथिको ढुंगा एक जना साहुले फुटाए लगे,’ फुटाइएको ढुंगा देखाउँदै चिरिमायाका पति कृष्ण बहादुर प्रजाले भने,‘यो खानीले गर्दा हाम्रो त घर नै हल्लिएर भत्कने भयो । तीन पुस्तादेखि बस्दै आएको बस्ती नै जोखिममा परेको छ ।’
खानी सञ्चालकहरुले आफ्नो जग्गा खन्छौँ भन्दै जबरजस्ती सार्वजनिक खोलाको ढुंगा फुटाएको उनको भनाई छ ।
खानीका कारण खानीक्षेत्र भन्दा तलको बस्तिमा बाढी पहिरो आएको छ । गत वर्खायाममा पनि खानीकै कारण खानी तलको सातकिलोस्थित सयौँ घरधुरीमा बढीले क्षेति पुर्याएको थियो ।
स्थानिय ६३ वर्षिय कृष्ण बहादुर थापाका अनुसार खानी सञ्चालकहरुले ठाडो खोलाको धार नै परिवर्तन गरेर अवैध रुपमा चोरी निकासी गरेका छन् । ‘सार्वजनिक खोलोलाई नै हटाएर उनीहरुले अवैध रुपमा ढुंगा फुटाएका छन् । अहिले जहाँ स्क्याभेटर र मेसिन देखिरहनु भएको छ त्यहाँ पहिले खोला थियो । खोलालाई दायाँ तर्फ सारिएको छ । खानीका कारण आएको बाढीले मेरो घर नै क्षतिग्रस्त भयो । मैले घर नै सार्नु परेको छ,’ थापा भन्छन्,‘सुतेकै ठाउँमा पानी पुगेपछि घरमा बस्न सकिएन । खानीका कारण हामी २ सय घरधुरी प्रभावित भएका छौँ ।’
स्थानियबासीको विरोधपछि थाँक्रे गाउँपालिकाले खानी अनुगमनका लागि भन्दै प्राविधिक पठाएको थियो । प्राविधिकले उक्त खानी सञ्चालन भए वस्ती नै भासिने भन्दै सञ्चालनमा रोक लगाएको थियो । त्यतिबेला गाउँपालिका अध्यक्ष राम कुमार आचार्य र खानी सञ्चालक मध्ये कृष्ण प्रसाद पन्त नेकपा एमालेकै दुई धारमा थिए । आचार्य केपी ओली प्यानलमा थिए । यता पन्त भने माधव समुहमा सक्रिय थिए । अध्यक्ष आचार्यले गत वैशाखमा खानी सञ्चालनमा रोक लगाएका थिए । तर, पछिल्लो समय पन्त पनि नेकपा एमालेमै सामेल भएपछि भने खानी पुन सञ्चालनमा आएको छ ।
‘यीनीहरुले वातावरणिय प्रभाव मुल्यांकन समेत गरेका छैनन् । स्थानियबासीलाई थाहा नै नदिई खानी सञ्चालन भएको छ । खानी सञ्चालन गर्नुअघि ट्राउट माछा पाल्ने भनेर जग्गा फुत्काइयो,’ थापा भन्छन् ।
स्थानिय उद्धव थापाका अनुसार खानीका कारण उनको खेत नै भासिएको छ । ‘हाम्रो खेत नै भासिएको छ । धान फलेको छ तर, धान काट्न जाने आँट छैन,’ थापा भन्छन्,‘उद्योग सञ्चालन गर्दा सधियारलाई समेत कुनै सोधखोज गरिएको छैन । कसरी सञ्चालनमा आयो नै थाहा भएन ।’
२०७७ साल असार ८ गते स्थानियबासीहरुले सामुहिक रुपमा गाउँपालिका कार्यालयमा निवेदन दिए । वडा नम्बर ७ को कार्यालयमा दिएको निवेदन भने वडाध्यक्ष राम कुमार बस्नेतले निवेदन नै गायब बनाएको उनीहरुको आरोप छ ।
गाउँपालिकामा स्थानियबासीले दिएको निवेदन उपर भने छलफल भयो । छलफलपछि गत वैशाख १ गतेदेखि खानी सञ्चालनमा रोक समेत लगाइयो । तर, केहीदिन देखि फेरी खानी निर्वाध रुपमा सञ्चालनमा आएको छ । अवैध रुपमा ब्रेकर ३२० सिसिको ब्रेकर चलाएर ढुंगा फुटाउँदा बस्ती नै जोखिममा परेको भन्दै स्थानियबासीले ईलाका प्रहरी कार्यालय खानीखोलाकी ईन्सपेक्टर रुपा थापालाई भेटेरै उजुरी दिएका थिए । तर, थापाले समेत उजुरी नै गायब पारेर कुनै सुनुवाई नगरेको स्थानियबासीले बताए ।
गत शनिबार दियोपोस्ट खानीस्थलमा पुग्दा त्यहाँ मिडियाकर्मी आउँछ भन्ने सुचना पाएका खानीका कर्मचारी खानीस्थलमा थिएनन् ।
‘यो खानी अब बन्द हुन्छ’ : गाउँपालिका अध्यक्ष आचार्य
थाँक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यका अनुसार खानी सञ्चालकहरुले स्थानियबासीसँग तीन महिनाभित्र खानी बन्द गर्ने कागजात गरेका थिए । गाउँपालिका अध्यक्ष आचार्यका अनुसार उक्त अवैध खानी कृष्ण पन्त, मनोज सिग्देल र विश्व सिग्देल लगायत समुहले सञ्चालन गरेका हुन् । ‘उहाँहरु सबैले गाउँपालिकामा आएर खानी बन्द गर्छु भनेर कागजात गर्नुभएको हो । फेरी सञ्चालनमा आएको रहेछ । उहाँहरुलाई एक पटक छलफलमा बोलाउँछु । बन्द गर्न भन्छु ।
मान्नुभएन भने कहाँ कहाँ लेख्न पर्छ । सबै लेख्छु भनेपछि । उहाँहरु फेरी कार्यालयमा आउनु भएको हो,’ अध्यक्ष आचार्यले दियोपोस्टसँग भने,‘उनीहरुले मेरो जग्गामा बाटो लान पाउनुपर्छ भनेका थिए । मैले तिम्रो जग्गामा होइन खोलामा के को बाटो भनेँ । त्यो सार्वजनिक जग्गा हो । त्यहाँ सबैको सहमति चाहिन्छ भनेपछि बन्द भएको थियो । कृष्ण पन्तसँग पनि कुरा भएको छ । उहाँले पनि बन्द गर्छु भन्नु भएको छ । त्यो बन्द हुन्छ ।’
गाउँपालिकामा उजुरी परेपछि उक्त खानी सञ्चालनका लागि कुनै पनि अनुमति र स्विकृती नदिएको आचार्यले दाबी गरे । खानी सञ्चालकहरुले ढुंगा झिकेर त्यहीँ ग्याविन लगाउने र माटो थुपारिएको माटो निकाल्न तीन महिनाको समय मागेको गाउँपालिका अध्यक्ष आचार्यको दाबी छ । तर, उनीहरुले थुपारिएको माटो चलाएका छैनन् । सार्वजनिक खोलामा रहेको ढुंगा फुटाएर नजिकै रहेको क्रसरमा लगिएको छ । खोलामा ब्रेकर लगाएर ढुंगा फुटाएको खानीस्थलमै देख्न सकिन्छ । खानी सञ्चालकहरुले खोलामा रहेको ग्याबिनको ढुंगा समेत अवैध रुपमा चोरी गरेर खानीबाट सय मिटर तल रहेको क्रसरमा पुर्याएका छन् । क्रसर समेत पृथ्वीराजमार्गको आडमै सञ्चालन गरिएको छ । उक्त क्रसर पनि खानी सञ्चालकहरुकै स्वामित्वमा रहेको छ । राजमार्ग आसपास यस्ता अवैध क्रसर दर्जनौँ सञ्चालन भएपनि जिल्ला प्रशासन कार्यालयले कुनै कारबाही गर्न सकेको छैन ।
पार्टनरहरुले मेरो कुरा सुनुवाई गरेनन् : कृष्ण पन्त
खानी सञ्चालक मध्ये नेकपा एमालेका थाँक्रे गाउँपालिका अध्यक्ष कृष्ण पन्तलाई सम्पर्क गर्दा खानी सञ्चालन भएको स्विकार गरे । नेपाल टिफर तथा ट्रक व्यावसायी समितिका पूर्वअध्यक्ष समेत रहेका उनले खोलामा भने स्क्याभेटर नलगाएको दाबी गरे । ‘पुर्जा भित्रको उ…गरेको हो पहिला । अहिले पछिल्लो समय अलि समस्या आयो । बस्तीमा समस्या आयो । बस्ती नै बगेको कारणले अब खानी चलाउन हुँदैन भनेर मेरै नेतृत्वमा मैले दुई तिन महिना अगाडी बन्द गरिदिएको हो,’ पन्तले दियोपोस्टसँग भने,‘९/१० जना पार्टनर मध्ये म १० प्रतिशत पार्टनर हो । पछिल्लो समय ९० प्रतिशत पार्टनरले जबरजस्ती गरेका हुन् । अन्य पार्टनरको विषयमा मलाई नाम समेत थाहा छैन । मैले खानीका कारण जग्गामा नोक्सान भएपछि चलाएपनि नचलाएपनि ब्यहोर्न पर्छ भनेको छु । त्यो विषयमा म र उनीहरुबीच विवाद भएको छ ।’
पन्तका अनुसार उद्योगले खानी विभागबाट अनुमति र लाइन्सेस पाएको थियो । यद्धपी वातवरणीय प्रभाव मुल्यांकन प्रतिवेदन भए/नभएको विषयमा आफूलाई केही थाहा नभएको उनले बताए ।
‘उहाँहरुले लाइसेन्स नै भएको हो भन्नु भएको हो । म पनि पछि पार्टनरको रुपमा छिरेको हो,’ उनले भने । ‘तपाईंलाई पोलिटिकल शेयर’ दिएको हो भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,‘त्यस्तो होइन । मेरो पनि जग्गा थियो । त्यस्तो केही पनि होइन ।’
पछिल्लो समय पार्टनरहरुको गतिविधिमा आफू समलग्न नभएको उनले बताए ।
एक दुई मिटर खोला दायाँ बयाँ भयो होला : खानी सञ्चालक सिग्देल
यता खानी सञ्चालक मनोज सिग्देललाई यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले जग्गा सम्याउनका लागि मेसिन चलाएको भन्दै झूट बोले । खानीस्थलमा पुग्दा उनको झूटको पर्दा खुल्छ । ‘खानी चलेको होइन हामी सम्याउँदै छौँ । अस्ति हामी सम्याउँदै थियौँ,’ सिग्देलले भने,‘अहिले तिहारले गर्दा रोकिएको हो ।’
खोलाको धार नै परिवर्तन गरेर उत्खनन् गर्नुभएको रहेछ नी भन्ने दियोपोस्टको प्रश्नमा उनले भने,‘खोला त त्यही हो । एक दुई मिटर दायाँ बायाँ भयो होला । त्यो अलग कुरा भो । त्यसलाई हामी ढलान गरेर बनाउने च्याट्ट बनाउने कुरा छ । आफ्नो जग्गा दुई तिरै छ । अलि रुप दिन पर्यो नी त । भिरकै रुप हुँदा राम्रो भएन नी ।’
ब्रेकर चलाउँदा चेपाङहरुको घर र स्थानियको खेत भासिएको विषयमा उनलाई प्रश्न गर्दा उनको जवाफ थियो,‘हाम्रो कारणले समस्या हो भने अलग कुरा भयो । हामीले चलाको भन्दा अर्को क्षेत्रको त हामी जिम्मा लिन सक्दैनौँ । सँगैको जग्गामा समस्या भए अलग कुरा भयो । हामीसँग सरोकार नै नभएको चिजहरुलाई त के गर्न सकिन्छ र ?’
खानी विभागबाट आफूहरुले स्विकृति लिएर नै खानी चलाएको उनको दाबी छ ।
दियोपोस्टको फोन पछि खानी बन्द !
शनिबार दियोपोस्ट खानीस्थलमा पुग्दा ५० जनाभन्दा बढी स्थानियबासी जम्मा भएर बसेका थिए । स्थानियबासीले गाउँपालिका अध्यक्षसहित खानी सञ्चालक तथा एमाले नेता कृष्ण पन्तलाई त्यहाँ बोलाएका थिए । तर, उनीहरु आएनन् । घटनाबारे जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्कालाई जानकारी गराउँदा उनले तत्कालै प्रहरी पठाए ।
स्थानियबासीले इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख निरिक्षक रुपा थापालाई पटक पटक उजुरी गर्दा पनि उजुरी समेत गायब पारेको बताए । तर, खड्काले प्रहरी पठाएपछि स्थानिय प्रहरीले सिडिओ तथा स्थानिय निकायको अनुमति विना खानी सञ्चालन नगर्न भन्दै रोक लगाएको छ ।