पत्रकारको नजरमा सिख नरसंहार : २७३३ जना सिख मारिएको विभत्स हत्याकाण्डको नालीबेली

diyopost.com
फूलमती
  सोमबार, कार्तिक २२, २०७८ | १:२९:३६

त्यो मेरो जीवनको सबैभन्दा विभत्स दृश्य थियो ।

दिल्ली पुलिसको तरकारी बजारस्थित चिहान घरमा जो दृष्य देख्यौँ ।

यस्तो थियो की मेरो साथी सरकार र पत्रकार दिपांकरले वान्तै गर्न खोजे ।

१ नोभेम्बर १९८४ को दिन । ईन्दिरा गान्धीलाई उनकै सिख सुरक्षाकर्मीद्वारा गोली हानेको २४ घण्टा पुगेको थियो । डरलाग्दो हिंसामा निर्दोष सिखहरुलाई निशाना बनाइँदै थियो । यो मध्यकालीन न्यायको क्रुर प्रदर्शनी थियो ।

त्यो दिन म, सरकार र राजिव पाण्डे हत्याकाण्डको रिपोटिङ गर्न दुई स्कुटरबाट निस्क्यौँ । त्यहीबेला हामीले दिल्ली क्यान्टोन्मेन्ट रेलवे स्टेशनमा ट्रयाकदेखि केही टाढा एक युवा सिखको लाश देख्यौं । त्यहाँ उभिएका मानिसले भनेँ, “सायद नौजवान रेलबाट आएर स्टेशनमा झरे र त्यसपछि उनलाई घेरा हालेर निमर्मतापूर्वक मारियो ।” हामी ती मानिसले भनेका कुराहरु टिपोट गर्दै थियौं । त्यहिबेला सैन्य अधिकारीले भने,‘तिमीहरु शहरमा घुमेर किन आफ्नो समय बर्बाद गर्दैछौं । तिमीहरुले त दिल्ली पुलिसको शवगृहमा गएर हत्याकाण्डको बारेमा बुझनुपर्छ ।’ त्यसपछि दिँउसो हामी शवगृह आइपुग्यौं । छ वर्षको आफ्नो पत्रकारिता यात्रामा पहिलो पटक शवगृह आएको थिएँ । त्यसको इन्चार्ज डा. एलटी रमानी र उनको स्टाफ आँत्तिएका थिए । लाशहरुको लस्कर देखाँउदै उनले मलाई भने, “ यति धेरै लाशहरु छन् , सबैको पेस्टमार्टम गर्न असम्भव छ ।”

हामी डा. रमानीसँग कुरा गर्दैगर्दा अधबैंसे उमेरको मान्छेले लाशहरुलाई ठेलामा ल्याएर यसरी फालिरिहेका थिए की त्यो रगतले रंगिएका राता बोराहरु हुन् । म लाशहरुको गणना गर्दै थिएँ । त्यहिबेला एक जना पुलिसले मसंग भने, “तिमी यहाँ भएका लाशहरुको गिन्ती त गर्न सक्छौ तर के तिमी भित्र कोठामा भएका लाशहरुको पनि गिन्ती गर्छौ ?” अनि मैले सोधें, “कुन कोठा र त्यहाँ कति लाशहरु छन् ।” उनले भने, “तिमी आफैं गएर किन हेर्दैनौ ?” पाण्डे , सरकार र म एउटा ठूलो कोठा तर्फ गयौं र ढोका अगाडि पुग्यौं । ढोका अगाडि पुग्दा हामी लाशका दुर्घन्धले निस्सासियौँ । कोठामा सिख पुरुष, महिला र बालबालिकाका शव छरिएका थिए । मलाई पछि थाहा भयो, यी मानिसहरू रेल यात्रीहरू थिए । उनीहरुलाई के हुदैं छ भन्ने कुरा थाहा थिएन । दिल्लीको सिमानामा रेल रोकेर जबरजस्ती बाहिर निकालेर निर्ममतापूर्वक हत्या गरिएको थियो ।

पिरामिडजस्तै लाशहरूको थुप्रो थियो । जताततै रगत थियो । त्यसपछि मेरो साथी ‘सरकार’ले वान्ता गर्न थाले । केही बेर बस्न खोज्दा पाण्डे र म पनि आत्तिएर फर्कियौं । सिख विरोधी हिंसामा परेका ३५० भन्दा बढीको लाश शवगृहमा रहेको र हरेक आधा घण्टामा थप शवहरू आउँदै गरेको डा.रमानीले बताए । डा. रमानीले दिल्लीभर नरसंहार भइरहेको सुनेका थिए । एक प्रहरीले पनि हिंसा भैरहेको पुष्टि गरे । तर यसको बाबजुद पनि सरकारी प्रवक्ताहरूले भीडको हिंसामा थोरै मानिसको ज्यान गएको र शहरको अवस्था नियन्त्रणमा रहेको दाबी गरिरहेका थिए ।

हामी छिटो स्कुटर चलाएर अफिस पुग्यौँ । त्यतिबेला हामी युएनआई समाचार संस्थामा काम गरथ््यौं । सुरुमा मैले युएनआईका सम्पादक र महाप्रबन्धक यूआर कलकुरलाई अवस्थाबारे अवगत गराउनुपर्छ जस्तो लाग्यो । साधारणतया म उहाँलाई फोन गर्थें वा उहाँको सचिवलाई अचानक भेट्न अनुमति माग्थेँ तर त्यो दिन म साहसपूर्वक कलकुरको ढोकामा गएँ । त्यहाँ मैले अरुण शौरीलाई कलकुर नजिकै बसिरहेको देखेँ । त्यतिबेला अरुण शौरी इन्डियन एक्सप्रेसमा काम गर्थे । मलाई देखेर कलकुरले कुरा गम्भीर भएको महसुस गरे । शवगृहमा हामीले के देख्यौं र डाक्टरहरूका अनुसार मृतकको सङख्या बारे मैले उहाँलाई भनेँ, यो सुनेर शौरीले टेबुलमा मुक्का हानेर भने, “हेर, म यही बताउन खोज्दैछु । सरकारले झुट बोलिरहेको छ । यी चिसो रगत ‘कोल्ड ब्लडेड हत्या’हरू हुन् । तपाईका पत्रकारले पनि यही बताइरहेका छन् ।”

कलकुरबाट हरियो संकेत ‘ग्रिन सिग्नल’ पाएपछि, मैले मेरो रेमिङ्टन टाइपराइटरमा छिटो रिपोर्ट टाइप गर्न थालें । त्यो खबर युएनआईको समाचार सेवाबाट जनतामा छिट्टै पुग्यो र आतंक मच्चियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरुको फौज दिल्ली प्रहरीको शवगृहमा पुग्यो । इन्दिरा गान्धीको हत्याको कथाले नाटकीय मोड लिएको थियो ।

आर्मी अफिसरको माध्यमबाट सरकारले लुकाउन खोजेको भारतको राजधानीमा भएको नरसंहारको बारेमा विश्वलाई थाहा भयो । त्यसपछि भारत सरकारले हिंसा नियन्त्रण गर्न सेना बोलाएको थियो । पहिले नै नियन्त्रण भएको भए अरु धेरैको ज्यान बाँच्ने थियो । तर सेना आए पनि दुई दिनसम्म सहरको स्थिति नियन्त्रणमा आउन सकेन, त्यो अर्कै कथा हो ।

सन् १९८४ मा भएको नरसंहार अचानक भएको होइन । यो कांग्रेससँग सम्बन्धित नेताहरूले तयार पारेका थिए र यसमा ती गलाकाटुहरू पनि संलग्न थिए जसले शहर लुट्दै नाफा कमाए । हामीमध्ये धेरै पत्रकारहरूले यो सबैलाई नजिकबाट हेरेका छौं । र दिल्ली पुलिसको बारेमा जति भने पनि त्यो कमै हुन्छ ।

ईन्दिरा गान्धीको हत्यापछि के हुन लागेको छ भन्ने पहिलो सङ्केत त्यतिबेला थाहा भयो जब राष्ट्रपति ज्ञानी जैल सिंहले अक्टोबर ३१ मा साँझ ५ बजे उत्तरी यमनको आफ्नो यात्रा अधुरो छोडेर भारत फर्केर अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) गएका थिए । जहाँ गम्भिर घाइते गान्धीलाई गम्भीर लगिएको थियो । बाटोमा उनको ‘काफिला’लाई भीडले रोक्ने प्रयास गरे पनि रोक्न नसकेपछि एम्सबाट करिब एक किलोमिटर टाढा रहेको कमल सिनेमा नजिकैको काफिलेमा ढुंगामुढा गर्न थाले ।

जैल सिंह भारतका पहिलो सिख प्रधानमन्त्री र कांग्रेसको पूर्वनेता थिए । आक्रमणमा उनलाई चोट लागेन तर उनी झस्किए । तर अन्य हजारौं निर्दोष सिखहरू उनीजस्तो भाग्यमानी थिएनन् । उनको मामलामा जस्तै, राष्ट्रपति ज्ञानी जैल सिंहको काफिलेमा आक्रमण गर्नेहरू मध्ये कोही पनि पक्राउ परेनन् । भीडले ‘खून का बदला खून से’ (रगतको बदला रगतबाट) नारा लगाएको थियो । एकैछिनमा भीड झन् बलियो हुँदै गयो । सहरमा ठूलो संख्यामा प्रहरी तैनाथ भए पनि मूकदर्शक बनेर बसेका थिए । भीडले नारा लगाइरहेको थियो र राजधानीका चारै भागमा हिंसा फैलिएको थियो । त्यतिन्जेलसम्म कांग्रेसका नेता एचकेएल भगत, ललित माकन, सज्जन कुमार र धरमदास शास्त्री एम्स हुँदै फर्किसकेका थिए । त्यस क्षेत्रमा कांग्रेसका अर्का नेता अर्जुन दास पनि थिए, जो राजनीतिमा आउनुअघि साइकल मर्मत गर्थे र सञ्जय गान्धीका विशेष थिए । त्यसपश्चातका घटनाहरूबाट प्रष्ट हुन्छ, कांग्रेस नेताहरूले आफ्ना सम्बन्धित क्षेत्रहरूमा भीडलाई खालिस्तानसँग कुनै सम्बन्ध नभएका सिखहरूलाई आक्रमण गर्न उक्साए । यी कांग्रेस नेताहरूको कारण धेरै अलगाववादी जन्मिए जति पाकिस्तान र जर्नेल सिंह भिन्द्रावालाले पनि गर्न सकेका थिएनन् ।

एम्समा इन्दिरा गान्धीको मृत्युमा दुख व्यक्त गर्ने धेरै सिखहरू थिए, तर सिख विरोधी हिंसा निकै तीव्र भएको थियो र उनीहरू बिस्तारै त्यहाँबाट पछि हटेका थिए । त्यसको केही घण्टापछि म र अर्का रिपोर्टर जसप्रीत लुथराले आगजनीको पहिलो घटना देख्यौं । आगजनी एम्स नजिकै रहेको किदवाई नगरको चक्रपथ नजिकै भएको थियो । सिखहरूको स्वामित्वमा रहेका केही निजी बसहरूमा आगो लगाइयो र मानिसहरू अझै पनि “खून का बदला खून से” नारा लगाइरहेका थिए । त्यतिबेला वरपर एक जना पनि प्रहरी थिएन र कोही आएनन् । जसप्रीतले हतार–हतार आफ्नो हातमा लगाएको बाला निकाले र नाम लिने बित्तिकै उसको परिचय खुल्ने भएकोले मलाई नाम लिएर नबोलाउन आग्रह गरे ।

यो स्मरण गर्नुपर्ने कुरा हो , त्यो समयमा २४ घण्टा चल्ने समाचार च्यानल र मोबाइल फोन थिएन । जसका कारण हत्याराको गिरोह सजिलै घटनास्थलबाट निस्किन्थ्यो । पत्रकारहरूले या त फोनमा आफ्ना समाचारहरू टिपाउनुपर्र्नेे थियो वा उनीहरू आफ्ना समाचारहरू फाइल गर्न प्रत्येक पटक कार्यालय पुग्नुपर्ने अवस्था थियो ।

राति अबेर युएनआई पुग्दा मैले थाहा पाँएकी मेरो हिंसाको स्टोरी अझै झुन्डिएको पाइयो । वायरबाट शोक व्यक्त गर्ने समाचार पठाइरहँदा मेरो स्टोरीलाई महत्व दिइएको थिएन । वास्तवमा, अधिकांश पत्रकारहरूले हिंसाको अपेक्षा गरेका थिएनन् । न्युजरुममा पुग्दा मैले मानिसहरूले हिंसा अचानक भएको र छिट्टै रोकिने भनेको कुरा सुनें तर उसको कुरा पत्याइनँ र मैले उसलाई केही पनि भनिनँ ।
स्थिति नियन्त्रण भन्दा बाहिर जाने अनुमान गर्दै मैले दुईवटा काम गरें । पहिलो, मैले रफी मार्गमा रहेको यूएनआई कार्यालय बाहिर ट्याक्सी स्ट्यान्डमा रहेका सिखहरूलाई आफ्ना सवारी साधनहरू सुरक्षित ठाउँमा राख्न आग्रह गरें । म तिनीहरूलाई मद्दत गर्न चाहन्छु भन्ने कुरा बुझ्न उनीहरूलाई केही समय लाग्यो । केही वर्षपछि अचानक एकजनासँग भेट भयो, त्यसपछि उसले ‘त्यो दिन मेरो कुरा नसुनेको भए एउटै ट्याक्सी पनि सुरक्षित हुने थिएन’ भन्यो ।

३१ अक्टोबरको राती मैले मेरो एक सिख सहकर्मीलाई प्रेस क्लब अफ इन्डियामा फुर्सदमा बियर पिइरहेको देखेँ । मैले उसलाई बाहिर के भइरहेको छ भनी सुनाएँ र चाँडै घर जान पनि भनें । उसले मेरो कुरा स्वीकार गर्यो । एक हप्तापछि उसले जीवन बचाइ दिएकोमा मलाई धन्यवाद दियो । त्यसबेला दिल्लीभरका धेरै गैर–सिखहरूले आफ्ना सिख छिमेकी र साथीहरूको जीवन बचाउन आफ्नो जीवन दाउमा लगाएका थिए तर कहिलेकाहीँ त मानिसहरू पूर्ण अपरिचितहरूलाई बचाउन समेत अगाडि आए ।

मेरा स्वर्गीय सहकर्मी जसविन्दर सिंह, त्यतिबेला हिन्दी साप्ताहिक धर्मयुगमा कार्यरत थिए । उनी कैंची लिएर यूएनआईको कार्यालयमा आए र भने,‘मेरो कपाल काटिदेऊ ।’ उनको कुरा सुनेर म छक्क परें । उनले त्यसो गर्नु सिख धर्मका आधारभूत सिद्धान्तहरूको विरुद्ध थियो । तर उनले आफ्नो कपाल काट्ने जिद्दी गर्दै भने, “म पत्रकार हुँ र मैले जमिनमा काम गर्नुपर्छ र पगडी भएसम्म म गर्न सक्दिनँ ।” यदि मैले उनको कपाल न काटेको खण्डमा उनले अरु कसैको हातबाट काट्ने बताए । त्यसपछि मैले त्यो पाप गरें ।

दिल्लीमा ३१ अक्टोबरदेखि ५ नोभेम्बरसम्म हिंसा जारी रह्यो । नोभेम्बरको पहिलो तीन दिन सबैभन्दा खराब थियो । दिल्ली क्यान्टोनमेन्टको गोपीनाथ बजार शान्तिको मुहान जस्तै थियो । त्यहाँ, हिन्दू र सिख पुरुषहरूले इलाकाको सुरक्षा गरिरहेका थिए ताकि बदमाशहरू क्षेत्रमा प्रवेश गर्न नपरोस् तर बाँकी ठाउँमा भीड निरंकुश थियो । सरोजिनी नगर, नेताजी नगर, लाजपत नगर, पञ्जाबी बाग, राजौरी गार्डेन, कनाट प्लेस, वसन्त विहार, खान मार्केट, जनकपुरी, जहांगीरपुरी, कल्याणपुरी, सीलमपुर, शकरपुर, पाण्डव नगर, वेस्ट पटेल नगर, नारायण, रकबगंज गुरुद्वारा, पहारगञ्ज साकेत, तुघलकाबाद र पञ्चशीलमा विनाश भयो । त्यहाँ बस्ने अधिकांश मानिसहरू मध्यम वर्ग र उच्च मध्यम वर्गका मानिसहरू थिए जसले यसअघि यस्तो हिंसा विरलै देखेका थिए ।

पूर्वी दिल्लीका त्रिलोकपुरी, भजनपुरालगायत धेरै क्षेत्रमा नरसंहार भइरहेको थियो । सिख हिंसामा मारिएका २७३३ सिख मध्ये १२३४ सिख पूर्वी दिल्लीमा मात्र मारिएका थिए । यो निष्कर्श सन् १९८७ मा दिल्लीका गृहसचिव आरके ओझाको नेतृत्वमा बनेको समितिको हो । त्यो घना जनसंख्या भएको क्षेत्रलाई जमुना पार भनिन्छ र यसका सांसद एचकेएल भगत थिए । आहुजा समितिले कल्याणपुरी थानाको कार्यक्षेत्रमा ३१० जनाको मृत्यु भएको र त्रिलोकपुरीको ब्लक ३२ र ब्लक ३६ मा भएको जघन्य हत्याकाण्ड भएको अनुमान गरेको छ । त्रिलोकपुरी जहाँ नरसंहार भएको थियो त्यो दिल्ली प्रहरी मुख्यालयबाट मात्र एक किलोमिटर टाढा छ । हत्याकाण्डलाई तीन पत्रकारहरूः राहुल बेदी, जोसेफ मलाक्कन र आलोक तोमरले खुलासा गरेका थिए । जब उनीहरु त्रिलोकपुरी पुगेका थिए त्यहाँ हात खुट्टा काटिएको र जलेको लाश सडकमा छरिएको देखे । समस्यामा परेका जनताले गुनासो गरे पनि प्रहरीले बचाउने कुनै प्रयास गरेन र पत्रकारहरुलाई एकाध हत्या भएको र स्थिति नियन्त्रणमा रहेको बताए ।

पत्रकार मनोज मित्ता र अधिवक्ता एचएस फुल्काको २००७ मा आएको पुस्तक ‘व्हेन ट्री शुक दिल्ली : १९८४ कार्नेज एन्ड इट्स आफ्टरमाथ’ले पूर्वी दिल्लीमा दिल्ली पुलिसले आगजनीमा संलग्न भएकोमा चार जनालाई मात्रै गिरफ्तार गरेको उल्लेख गरिएको छ तर त्यस क्षेत्रबाट आफूलाई बचाउन प्रयास गरिरहेका २६ जनालाई पक्राउ गरिएको थियो । यस्तै स्थिति पश्चिम दिल्लीमा पनि थियो । त्यहाँ ३१ दंगा र ४० सिखलाई गिरफ्तार गरिएको थियो ।

रकाबगंज गुरुद्वारमा मेरो भीडसँग आमने–सामने भयो । भीडले गुरुद्वारामा ढुंगा हानेको थियो । त्यहाँ प्रहरी प्रमुख सुभाष टण्डन उपस्थित थिए । प्रहरीले गोली चलाएको थियो तर अपराधीहरूमाथि होइन गुरुद्वार भित्र उपस्थित मानिसहरूमाथि । अन्य पत्रकारहरूले मध्य प्रदेशका कांग्रेस सांसद कमलनाथलाई त्यही ठाउँमा देखेका थिए । त्यहाँ भीडले दुई सिखलाई समातेर जलाएर मारिदिए । पछि, मध्य दिल्लीको बाबा खरक सिंह मार्गमा, जहाँ बंगला साहिब गुरुद्वारा अवस्थित छ त्यहाँ मेरो साथीले सिखहरूलाई तरवार बोकेका सिपाहीहरू जस्तै लाइनमा उभिएको देखे । ती आक्रामक देखिने मानिसहरूले वास्तवमा प्रार्थना गर्न आएका मानिसहरूलाई सुरक्षा दिइरहेका थिए ।


शिर्ष प्रहरी अधिकारी म्याक्सवेल परेराले चाँदनी चोकमा एक सिख जुत्ता पसल लुट्ने मानिसहरूलाई गोली हान्न आदेश दिए । गोली लागेर एक दंगाकारीको मृत्यु भयो र परेराले लाउडस्पीकरबाट दंगा गर्नेलाई मार्ने प्रहरीलाई दुई सय रुपैयाँ पुरस्कार दिने घोषणा गरे । तत्कालै भीड ऐतिहासिक शीशगंज गुरुद्वाराबाट भाग्यो । दुई गुरुद्वारहरूमा भएको आक्रमण विशेष गरी लज्जास्पद कुरा थियो । गुरुद्वारहरूमा आक्रमण गर्ने भीडलाई सायद थाहा थिएन, शिशगञ्ज गुरुद्वार त्यही ठाउँमा बनेको थियो जहाँ मुगल सम्राट औरंगजेबको आदेशमा सिखहरूका नवौं गुरु तेगबहादुरको टाउको काटिएको थियो जब उनी हिन्दूहरूले सहयोग मागेको बेला सहयोग गर्दै थिए । त्यही समयमा, रकाबगंज गुरुद्वार बनाइएको थियो जहाँ गुरु तेग बहादुरको टाउको औरंगजेबका सिपाहीहरूको हातमा पर्नबाट बचाएर गाडिएको थियो । ती बदमाशहरूले गुरु तेगबहादुरको बलिदानको बदला लिएर उनको सम्झनामा बनेका गुरुद्वारहरूमा आक्रमण गरे ।

नोभेम्बर २ मा म राजौरी गार्डेनमा थिएँ । मैले केही मानिसहरूले इन्दिरा गान्धीको हत्याको उत्सव मनाएको भन्दै सिखहरूको हत्यालाई जायज ठहराएको देखेँ र मैले एउटा गल्तीले अर्को गल्तीलाई कसरी औचित्य दिन्छ भन्ने बुझ्न सकिनँ । मैले त्यहाँ उभिरहेका एक व्यक्तिलाई सोधें कि उसले सिखहरू रमाउँदै गरेको देखेको छ । उसले भन्यो, “भाइ, सबैले देखेका छन् ।” त्यहाँ उपस्थित अरूले पनि त्यही सही हो भने तर मैले पछि हटिन र सोधेँ, “तर के तपाईंले त्यो देख्नुभयो?” मान्छे स्तब्ध भयो र यताउता हेर्दै चर्को स्वरमा बोल्न थाल्यो, “कहाँ छ गुड्डु ? गुड्डुले देखेको छ ।” तर गुड्डु कतै भेटिएनन् । त्यहाँ उपस्थित कसैले पनि सिखहरूले उत्सव मनाएको देखेका थिएनन् । हो, यो फरक कुरा हो कि लन्डनमा युवा सिखहरूले इन्दिरा गान्धीको हत्याको उत्सव मनाएका केही तस्बिरहरु आएका थिए तर दिल्लीको कुनै भागमा वा भारतको अन्य भागहरूमा यस्तो भएन । मनगढन्ते कथाहरू डरलाग्दो प्रभावका साथ फैलिन थाल्यो ।

जब म कनाट प्लेसको बाहिरी सर्कलमा पुगेँ, मैले ऐतिहासिक रीगल भवन र नजिकैको मरीना होटलका केही भागमा आगो लागेको देखेँ । सडकमा अराजकता थियो । केही दमकल पुगेका थिए । त्यसपछि एक्कासी प्रहरीले पसल जलाउनबाट जोगाउने पसल र होटल मालिकलाई लाठीले कुट्न थाले । एकजना चिच्याए, “मेरो जीवनभरको कमाई धुवाँ भएर जाँदैछ ।”

दिल्लीको नेताजी नगरमा एउटा सिख कपडा पसलमा एउटा कपडा पनि बाँकी नरहने तरिकाले नराम्ररी लुटियो । लुटेराहरुले इन्ची टेप पनि लगे । भोगलमा पनि सिख पसलहरू लुटिएका थिए । बाहिरी रिङरोडमा रहेको सिखको घरमा अर्धशहरी क्षेत्रका मानिसहरू हाँसी हाँसी ढुङ्गा हानिरहेका थिए । मैले पत्रकार हुँ भनी बताएपछि भीडले मलाई पाँच मिनेटभित्र त्यो ठाँउ नछाडेमा नतिजा भयानक हुने धम्की दियो । यी सबै क्षेत्रमा प्रहरीले लुटेरा र आगजनी गर्नेलाई रोक्न कुनै पहल गरेन । जब म मेरा एकजना साथीसँग जनकपुरी पुग्यौं केही मानिसहरूले हामीलाई सडकको छेउमा लिएर गए जहाँ लडेका एक सिख जवान जलिरहेका थिए । युवकले भीडबाट भाग्न खोजेको तर समातिएपछि कुटपिट गरी मट्टितेल खन्याएर आगो लगाइयो भनेर हामीलाई बताएका थिए ।

अचानक त्यहाँ धेरै शरणार्थी शिविरहरू देखा परे जहाँ डराएको सिख पुरुष, महिला र बालबालिकाहरू – तिनीहरूमध्ये धेरैजसो गरिब परिवारका – आफ्नो जीवनको लागि आउन थाले । एउटा शिविरमा केही मानिसहरू आफूले सबै गुमाएको भन्दै रोइरहेका थिए । धेरै मानिसहरू डराए । उनीहरुले कुन अपराधको सजाय पाएका थिए भन्ने बुझेका छैनन् । उनीहरूले मलाई भन्न थाले, “के यो १९४७ मा हिन्दूहरूलाई बचाउने इनाम हो” मलाई लाज लाग्यो । सोही स्थानमा उत्तर प्रदेशका एक विपक्षी नेता भ्रमणमा आए र मानिसहरूलाई सोधे, “ के तपाई ठीक हुनुहुन्छ ? तपाईलाई केहि चाहिन्छ? चाहिन्छ भने मलाई भन्नुहोस्, म तपाईहरुलाई सहयोग गर्छु ।” उनले यो कुरा इमान्दारीपूर्वक भनिरहेको हुन सक्छन तर मलाई लाग्दैन कि उनले केहि गर्न सक्छन् ।

गत नोभेम्बर १ र २ मा चरणबद्ध रूपमा दिल्लीमा सेना तैनाथ गरिए तापनि हिंसा रोकिने नाम लिइरहेको थिएन । सेनाले कतै गोलाबारी गरेनन् तर सैनिकहरूले धेरै सिखहरूलाई सुरक्षित ठाउँमा पु¥याए । त्यसपछि नोभेम्बर ४ मा अचानक हिंसामा कमी आएको थियो तर त्यसपछि पनि केही दिनसम्म छिटपुट हिंसा जारी रह्यो । यस्तो छिटपुट हिंसा पहाडगञ्जमा भएको थियो जहाँ केही सिख भाइहरूलाई आक्रमण गरी जलाइयो । त्यसको धेरै दिनसम्म दिल्लीको सडकमा एउटा पनि सिख देखिएन । यति हुँदाहुँदै पनि केही बाहेक अरु सिखहरूले दिल्ली छोडेनन् । प्रहार पछि पनि उनीहरु बिस्तारै आफ्नो खुट्टामा उभिए । तर आज पनि उनीहरुको घाउ निको भएको छैन ।

नोभेम्बर ५ बिहान रातिको सिफ्ट सकेर घर फर्कँदा मदर डेरी नजिकै मानिसहरु जम्मा भएको देखेँ । उनीहरु क्षतिग्रस्त गुरुद्वारमा कार सेवा गर्न साकेततर्फ गइरहेका थिए । हतार–हतार कफी पिएर म भीडसँगै मार्चमा सामेल भएँ । हामी ‘हिन्दू–सिख भाई–भाई’, ‘भारत माता की जय’ भन्ने नारा लगाइरहेका थियौं ।

त्यो गुरुद्वार युद्धभूमि जस्तो देखिन्थ्यो । लाखौं सिसाका टुक्रा र फर्निचर जलेको थियो । मानिसहरूले गुरुद्वार सफा गर्न लागे । मैले पनि कुचो उठाएँ र कार्पेटमा छरिएको गिलास सफा गर्न थालें । आगामी दिनहरुमा सहरका अन्य भागमा पनि हिन्दू–सिख ¥यालीहरू आयोजना गरिएको थियो ।

दिल्ली पुलिसको सबैभन्दा कुख्यात अपराध सिखहरूले सरकारी ट्यांकीको पानीमा विष मिसाएको अफवाह फैलाउनु थियो । दिल्ली पुलिसले लाउडस्पीकरबाट यो अफवाह फैलाएको थियो र मानिसहरूलाई पानी नपिउन अपील गरेको थियो । इन्जिनियरहरूले त्यसो गर्न असम्भव छ भनी जोड दिए, तर केही प्रहरी अधिकारीहरूले डराएको मानिसहरूबाट कल आएपछि यो सत्य हो भने । र सत्य बाहिर आउन नपाँउदै मानिसहरूको दिमाग सिख समुदायप्रति विषले भरिएको थियो ।

प्रहरीसँगै दिल्लीको शान्ति सुरक्षाको जिम्मा लिने केन्द्र सरकार पनि आफ्नो कर्तव्यमा पूर्ण रूपमा असफल भयो । तत्कालीन गृहमन्त्री पीवी नरसिंहा रावले नयाँ दिल्लीको चक्कर पनि लगाउनु परेन । यदि उनले त्यसो गरेको भए, उनको प्रभाव धेरै सहयोगी साबित हुने थियो । तर उनी आफ्नो सरकारी निवासमा केही भएको छैन जस्तो आरामसँग बसे । यता दिल्ली जलिरहेको थियो ।

जीटी नानावती आयोग, जसको प्रतिवेदन २००५ मा सार्वजनिक भएको थियो । कूटनीतिकबाट राजनीतिमा आएका इतिहासकार पतवन्त सिंह, आई.के. गुजराल र लेफ्टिनेन्ट गभर्नर जेएस अरोराले रावलाई नोभेम्बर १ मा फोन गरेको बताएका थिए । गृहमन्त्रीको मनोवृत्ति यति नरम भएकोले उनलाई कुनै कुराको चिन्ता नभएको जस्तो देखिएको थपतवन्तले बताए ।

जैल सिंह पनि कांग्रेसको अकुशलताको शिकार भए । सिखहरूको एउटा समूहले जैल सिंहलाई फोन मार्फत उहाँलाई नैतिक र संवैधानिक आधारमा काम गर्न अनुरोध गरे । तर जैल सिंहले भने कि “मसँग हस्तक्षेप गर्ने अधिकार छैन ।”

सरकारले चाहेको भए सिख विरोधी हिंसा सुरु हुनुअघि नै नियन्त्रण गर्न सक्थ्यो । यदि राष्ट्रपतिको काफिलेमा आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको हुन्थ्यो भने हिंसा हुन नदिने सन्देश जान्थ्यो । चाँदनीचोकमा परेराले जे गरे त्यसले कानुनको शासन कडाइका साथ लागु गर्ने हो भने अपराधीलाई नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने देखाएको छ । व्हेन ट्रि शुक किताबमा मित्ता र फुल्काले अक्टोबर ३० देखि दिल्लीमा हिंसा भड्किएको त्यहाँको ७६ मध्ये ५ प्रहरी थानाले मात्रै आपराधिक मुद्दा दर्ता गरेको बताएको छ । नोभेम्बर १ मा आक्रमण गर्ने अनाधिकृत इजाजतपत्र पाएपछि र कांग्रेस सांसदहरूले धेरै ठाउँमा भीडको नेतृत्व गरेपछि नरसंहार सुरु भयो । सोही दिन कर्फ्यु घोषणा भएपनि पूर्णरुपमा कार्यान्वयन हुन दुई दिन लाग्यो । त्यसबेलासम्म हजारौं निर्दोष सिख मारिएका थिए । आधिकारिक तथ्याङ्क अनुसार, २७३३ सिख मारिए तर नागरिक न्याय समितिले यो संख्या ८७० बताएको छ ।

तत्कालै इन्दिरा गान्धीको उत्तराधिकारी बनेका राजीव गान्धी यस पागलपनमा पूर्ण रूपमा असफल साबित भए । उनले अराजकता रोक्न कुनै कदम चालेनन्, न त सार्वजनिक रूपमा यसको निन्दा गरे । यो ठूलो गल्ती थियो किनकि यसले भीडलाई प्रोत्साहित गर्यो । राजीव गान्धीको काम, वा उनले केही गरेनन् भन्ने कुराले तत्कालीन सरकारले सिखहरूलाई के भइरहेको छ भन्ने वास्ता नगरेको देखाउँछ ।

१९ नोभेम्बर १९८४ राजीव गान्धीले पहिलो पटक हिंसाको बारेमा कुनै टिप्पणी गरे र त्यो टिप्पणी विवादास्पद साबित भयो । उनले भनेका छन्, ‘जब ठूलो रुख खस्छ, पृथ्वी हल्लिन्छ ।” नयाँ प्रधानमन्त्रीले अपराधीलाई कारबाही र पीडितलाई न्याय दिने कुरा पनि गरेनन् ।

सरकारले सिख समुदायसँग माफी माग्न मनमोहन सिंह प्रधानमन्त्री नहुँदासम्म कुर्नुपर्‍यो । ११ अगस्त २००५ मा नरसंहारको ३० वर्ष पछि, मनमोहन सिंहले राज्यसभामा भने, “मलाई सिख समुदायसँग मात्र होइन सम्पूर्ण भारतीय राष्ट्रसँग १९८४ मा भएको घटनाको लागि माफी माग्न कुनै हिचकिचाहट छैन । सन् १९८४ मा जे भयो त्यो संविधानले तोकेको राष्ट्रवादको विचारलाई अस्वीकार गरिएको थियो । मेरो सरकारको तर्फबाट र यस देशका सम्पूर्ण जनताको तर्फबाट यस्तो घटना भएकोमा म लज्जित छु ।”

निस्सन्देह यो भयानक लज्जा र अपमानजनक विषय थियो ।

एमआर नारायण स्वामी वरिष्ठ पत्रकार हुन् । उनको यो लेख क्याराभान म्यागेजिनबाट दियोपोस्टका लागि फूलमतीले अनुवाद गरेकी हुन् ।

सम्बन्धित खबर