हामी बाँचेको युग अर्थात फोहोरको डङ्गुर सिरानी हालेर निदाइरहेको विश्व !

diyopost.com
- ओलिभर वेनराइट
  मंगलबार, कार्तिक २३, २०७८ | २०:०८:०३

हाम्रा सन्तान, दर सन्तानले यस युगलाई कसरी सम्झिनेछन् ? उनीहरूले ढुङ्गे युग, पाषण युग, बाष्प युग, सूचना युगबारे जरुर पढ्नेछन् तर यस युग (वर्तमान समय)लाई उनीहरू कुन नवीन भाष्यले परिभाषित गर्नेछन् ? डिजाइन सङ्ग्रहालयको नयाँ प्रदर्शनीका अनुसार, एन्थ्रोपोसिन (भौगोलिक समयको एक अनौपचारिक एकाइ) न गेम चेन्जर हो, न प्रविधिकीको महारथी नै । यो युग जम्मामा फोहोरको युग हो , बेकारको युग ।

तर्कसङ्गत हिसाबले भन्नुपर्दा हामी ‘वेस्ट एज (फोहोरको युग)’ मा बाँचिरहेका छौँ,” लन्डन सङ्ग्रहालयका प्रमुख क्युरेटर जस्टिन म्याकगुर्क भन्छन्, जसले सह-क्युरेटर जेम्मा कर्टिनसँग समय सान्दर्भिक यस प्रदर्शनीका लागि गत तीन वर्ष फोहोरमा बिताएका छन् ।

“फोहोरको उत्पादन हाम्रो जीवन शैलीमा पूर्ण रूपमा केन्द्रित छ, विश्वव्यापी अर्थतन्त्र कसरी सञ्चालित हुँदै आइरहेको छ भन्ने कुरा फोहोरका डुंगुरहरूले बताइरहेका छन्। हामी यही कुरा देखाउन चाहन्थ्यौँ विश्वव्यापी रूपमा फोहोरको समस्यामा कति जटिल छ र यस समस्यालाई चाँडो भन्दा चाँडो सम्बोधन गर्ने बेला आइसकेको छ।”

कप-२६ जलवायु शिखर सम्मेलनको पूर्वसन्ध्यामा गरिएको वेस्ट एज (Waste Age) प्रदर्शनी एकप्रकारले विश्वव्यापी वेक-अप कल हो, फोहोर सिरानी हालेर गहिरो निन्द्रामा निदाइरहेको विश्वको लागि । यसरी निदाउनेहरूमा उपभोक्ताहरू पर्दैनन् । फोहोर निर्माताहरू, खुद्रा विक्रेताहरू र सरकारी नियामक नियाकहरूले दुर्गन्धको सपनादेखि ब्युँताउने कोसिस हो- वेस्ट एजको प्रदर्शनी ।

म्युजियम जाने बाटोमा टेक-अबे कफी किनेर, वा सामान किन्न आउँदा कपासको झोला बिर्सेर आउनेहरूको अनुहारमा थप्पड हानेको मात्रै होइन, फोहोरले हामी जीवनशैलीलाई कुन हदसम्म नकारात्मक प्रभाव पारिरहेको छ, फोहोर सम्बोधनको मुद्दा कति अत्यावश्यक छ र फोहोरमा काम गर्नेहरूको अवस्था कस्तो छ भनेर वैश्विक रूपमा बताउनु नै प्रदर्शनको लक्ष्य भएको म्याकगुर्क बताउँछन् ।

यस प्रदर्शनीलाई एक चेतावनीको रूपमा बुझ्नुपर्दछ । मानिस जन्मजात व्यर्थ या दुर्गन्ध मन पराउने प्राणी होइन ।जसप्रकारले ‘थ्रो-वे संस्कृति’ मौलाउँदै गयो मानिसले आफू दुर्गन्ध मन पराउने प्राणी होइन भन्ने नै बिर्सिसकेको छ । ऊ यही फोहोरसँग जुध्दै आफ्नो जीवनशैली स्वास्थ्यकरता बनाउने ध्याउन्नमा छ, जुन ‘सिजीले चाउचाउ बेचेर भोकमरी हटाउँछु’ भने बराबरको कुरा हो । ‘थ्रो-वे संस्कृति’ बिसौँ शताब्दीको मध्यतिर (युद्धको समय)मा मौलाएको संस्कृति हो, ‘प्रयोग गर र मिल्काइहाल ।’ युद्धको बाछिटा ‘थ्रो-वे संस्कृति’ अहिलेसम्म ओभाएको छैन ।

इस्वीको १९६० ताका पोलिस्टाइरिन कपमा लेखिएको विवरण यस्तो थियो, “ नयाँ र गहिरो । एक पार्टी गिलास, जसको तपाईँ मजा लिनुस्..र, फ्याँक्नु ।’ यसको छेउमा इस्वीको १९८० को एउटा प्लास्टिक झोला झुन्डिएको छ, जहाँ कागजको कप प्रयोग गर्नुको फाइदाहरूबारे लेखिएको छ । चार दशक पश्चात् अर्थात् आज विश्व थाहा पाउँदै छ कि एक मिनेटमा १० लाखभन्दा बढी प्लास्टिकका झोलाहरू उपभोग गरिरहेको छ । यतिबेला इलेकट्रोनिक्स फोहोरको उत्पादन अझ रफ्तारमा दिनानुदिन बढिरहेको छ ।

 

 

फोहोर उत्पादन गर्ने क्युरेटरहरू तर्क गर्छन्, लामो समयदेखि फोहोर नै अर्थतन्त्रको प्राथमिक इन्जिन भएको छ। लाइट बल्बको इतिहास आफैँमा एक उज्यालो ऐतिहासिक क्षण हो । इस्वीको १९२० को दशकमा, बल्बहरू यति लामो समय (करिब २,५०० घण्टा) सम्म टिकेका थिए कि यसको व्यापारिक लाभ अव्यवहारिक ठहराइयो । एउटा बल्ब लामो समयसम्म बलिरहनु भनेको बल्ब बनाउनेहरूको लागि घाटाको सौदा हो । सन् १९२४ मा, जनरल इलेक्ट्रिक, फिलिप्स र अन्य व्यक्तिहरूले लाइट बल्बको आयु १,००० घण्टामा सीमित पार्नका लागि फोबस कार्टेल (Phoebus cartel) गठन गरे । यसपश्चात् अप्रचलित रूपमा यस संस्कारले बढवा पायो । आज पनि यस्ता अभ्यासहरू जारी छन् । गत वर्ष एप्पलले  उपभोक्ताहरूलाई नवीनतम ह्यान्डसेटहरू किन्न प्रोत्साहित गर्न पुराना फोन मोडेलहरूलाई जानाजानी ढिलो लन्च गरेको आरोप लागेको थियो र उसले यस मुद्दालाई दरकिनार गर्न ५०० मिलियन डलर तिर्न सम्म खोजेको थियो ।

घानाका लेखक एवं कलाकार इब्राहिम महामाले आर्टले विद्युतीय कारोबारीहरूका वास्तविकतालाई हाम्रो आँखा अगाडी राख्दिएको छ ।  उनले पुरानो टिभी मोनिटरहरूको विशाल पर्खाल खडा गरेका छन्, जसले घानाको इगबोगब्लोशी (Agbogbloshie)का भिडियो क्लिपहरू देखाउने गर्दछ । घानाको इगबोगब्लोशी निकै वर्षदेखि संसारको सबैभन्दा ठुलो ई-फोहोर डम्प बन्न पुगेको छ, जहाँ  अनौपचारिक कामदारहरूले तामाको तार र अन्य बहुमूल्य धातुहरू काट्न विद्युतीय तारहरू जलाउँछन्। महमाले यस विषाक्त प्रक्रिया देखाउन टिभी स्क्रिनको वरिपरि त्यस्तै फोहोरतुल्य धातुहरूलाई प्रयोगमा ल्याएका छन् । टिभीमा दृश्यहरू एकदम बिरसिला छन् तर तिनले दिएको सन्देश स्पष्ट छ- फोहोरहरू बहुमूल्य छन् ।

विकसित संसारका कम्प्युटरहरू र इलेक्ट्रोनिक फोहोरहरूको डम्पिङ पोइन्ट इगबोगब्लोशी, तस्बीर : फेलिक्स

 

 

 

विश्वको सुनको आपूर्तिको लगभग ७ प्रतिशत अवशेषहरू इलेकट्रोनिक उपकरणहरूमा फसेको छ । तथ्याङ्कका अनुसार इस्वीको २०८० सम्ममा धातु भण्डारहरू (खानी)हरू जमिन मुनि होइन कि इलेकट्रोनिक उपकरणका चेपचेपमा अड्किएर विश्व भ्रमण गरिरहेका हुनेछन् । एउटा रमाइलो तथ्य पनि जोडी हालौँ, एक टन काँचो सुनबाट तीन ग्राम सुन उत्पादन हुन्छ जबकि एक टन मोबाइल फोनलाई रिसाइकल गर्दा ३०० ग्राम । यसैकारण भन्न थालिएको छ, फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) र ल्याण्डफीलहरू ‘नयाँ खानी’हरू हुन् ।

“जसरी भने पनि फोहोरहरू एक श्रेणीगत त्रुटि हो,” म्याकगुर्क भन्छन्, “ फोहोर एक महत्त्वपूर्ण  चीजवस्तु हो तर यसलाई कम मूल्याङ्कन गरियो, या मूल्याङ्कन नै गर्न सकिएन ।” प्रदर्शनीमा यस्ता डिजाइनहरू पनि बनाइएको छ, जसले जमिनमाथिको खानीहरू कस्तो हुनेछ भनेर चित्रित गरेको छ। भविष्यमा यस्ता खानीहरू कस्ता हुनेछन्, कसरी भत्काइने एवं पुनः निर्माण गरिनेछ भनेर देखाइएको छ ।  इस्वीको २०२५ सम्ममा विश्वव्यापी निर्माणजन्य फोहोर २.२ टन पुग्ने अनुमान गरिएको छ, र यस प्रदर्शनीले यस्ता फोहरहरूलाई पुन : प्रयोग गर्न जोड दिने काम गरेको छ ।

उपभोग्य वस्तुको क्षेत्रमा, पुनः प्रयोगलाई बढवा दिन सञ्चालित विश्वव्यापी मर्मत प्लेटफर्मको रूपमा ‘आइ फिक्स इट’ नामक एक अनलाइन प्लेटफर्मले एक प्रतियोगिता गर्दै आइरहेको छ, जसले नि:शुल्क मर्मत गाइडहरू प्रकाशित पनि गर्दै आइरहेको छ । यसका साथै उक्त प्लेटफर्मले   स्पेयर पार्ट्स र उपकरणहरू बेच्ने काम पनि गर्दछ । जनवरीमा, मर्मत योग्यता सूचकाङ्क लागू गर्ने फ्रान्स युरोपको पहिलो देश हो, जसले निर्माताहरूलाई स्मार्टफोन, ल्यापटप, वाशिङ मेसिन, टेलिभिजनहरूको मर्मत योग्यताको बारेमा स्पष्ट जानकारी उपलब्ध गराउने एवं आफ्ना उत्पादनहरूलाई १० अङ्कमा र्यान्किङ गर्न पनि अह्राउने गर्दछ । यसैअनुसार, पुनः प्रयोग गर्न सकिने सामान प्रयोग गरेको आधारमा आइफोन ११ ले १० मध्ये ४.५ नम्बर पाएको थियो ।

प्रदर्शनी आफ्नो अन्तिम खण्ड ‘पोस्ट-वेस्ट’ संसारको कल्पना गर्दै  फिक्सिङ र रिसाइक्लिङ्गभन्दा बाहिर जान्छ, जहाँ सामग्रीहरू निकाल्नुको सट्टा बढाइन्छ। डिजाइन प्रदर्शनी नियमितहरू हेम्पक्रिट वा माइसेलियम इन्सुलेशनका चमत्कारहरूसँग परिचित हुन सक्छन्, तर यस प्रदर्शनीमा प्राकृतिक फाइबरबाट बनेको पानीमा घुलनशील इलेकट्रोनिक सर्किट बोर्डहरू, समुद्री डुङ्गा एवं कङ्क्रिटका सामग्रीबाट बनेका विभिन्न सामुन्द्रिक जिवाशेषहरू समावेश छन्। यो एक सराहनीय पक्ष हो । यहाँ समस्या मात्रै होइन, समाधान पनि बताइएको छ ।

बायोडिग्रेडेबल सामाग्रीहरूले समाधानको साथसाथै समस्या पनि लिएर आउने गर्छन् । तपाईँले प्लास्टिकको कन्टेनरलाई रिसाइक्लिङ बिनमा कति पटक फ्याँक्नुभएको छ, यो कम्पोस्टेबल भेगवेयर ( हो भनेर थाहा पाउनु अघि?  र, यो फोहोर कम्पोस्ट बिनमा जानुपर्दछ या ल्याण्डफिलमा ? ‘व्यवहार र बोली मिलेको खण्डमा मात्र नयाँ जैविक-भविष्य सुनिश्चित हुन् सक्दछ,” म्याकगुर्कले प्रदर्शनी क्याटलगमा लेखेका छन्। प्लास्टिकको कडा-चिल्लो-चमकदार विशेषताको प्रशंसा गरेको लगभग एक शताब्दी पछि, हामीले यस चीजको अनियमितता, अपूर्णता, क्षय र विघटनलाई बल्ल बुझ्न थालेका छौँ ।

सोच्नुहोस् त, हाम्रो भविष्यको अर्गानो-ल्यापटप (Organo Laptob) न बेसी तात्दछ, न धेरै ह्यांग हुन्छ ।  न छिटो च छिटो ब्याट्री चेन्ज गरिरहनु पर्ने झन्झट बेहोर्नुपर्छ । जबजब ल्यापटप काम गर्न छाड्छ, यो आफैँ माटोमा मिल्दै जान्छ र कुनै फोहोर नगरी पृथ्वीको गर्भमा हराउँछ ? के यस कुरालाई सम्भव नगर्ने ?

( द गार्जियनबाट, अनु: राजु झल्लु प्रसाद)

सम्बन्धित खबर