‘श्रीमतीको नाममा बालुवा खानी पास गर्ने’ शालिकराम बागमतीमा तेस्रो बरियताको मन्त्री !

diyopost.com
दियो पोस्ट  बिहिबार, कार्तिक २५, २०७८ | १८:१३:५९

 

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विहिबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । उनले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका शालिकराम जमकट्टेललाई पुन आर्थिक मामिला मन्त्री नियुक्त गर्दैछन् । त्यस्तै नेपाली कांग्रेसका संसदीय दलका सचिव निमा लामालाई स्वास्थ्यमन्त्रीमा सपथ गराउने तयारी छ ।

यसअघि डोरमणी पौड्याल मुख्यमन्त्री रहँदा दोस्रो बरियतामा रहेर आन्तरिक मामिला तथा कानुनमन्त्री सम्हालेका जमकट्टेल अब तेस्रो बरियतामा झरेका छन् । दोस्रो बरियतामा भने हाल आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका कृष्ण प्रसाद शर्मा खनाल रहेका छन् । त्यसो त प्रदेश संसदीय दलमा माओवादी केन्द्र सबैभन्दा ठूलो दल हो । बागमती प्रदेश सभामा माओवादी केन्द्रको २३ जना, नेपाली कांग्रेसको २२ जना, नेकपा एकीकृत समाजवादीको १३ जना र जनता समाजवादीको १ जना सांसद छन् । यी सबै सत्तारुढ दल हुन् ।

एक पटक दोस्रो बरियताको मन्त्री भइसकेको व्यक्ति फेरी दोस्रो बरियतामा मन्त्री हुन जानु लज्जास्पद भएको भन्दै माओवादी केन्द्र भित्रै टिप्पणी हुन थालेको छ । त्यसो त जम्मकट्टेल अन्तरिम व्यवस्थापिकादेखि निरन्तर सांसद रहँदै आएका छन् । उनी यसअघि ६३ सालमा बनेको अन्तरिक विधायीका, २०६४ सालको प्रतिनिधि सभा सदस्य र २०७४ सालको प्रदेश सभा सदस्यमा निर्वाचित भएका व्यक्ति हुन् । २०७० सालको प्रतिनिधि सभा निर्वाचनमा भने उनी हाल मुख्यमन्त्री रहेका राजेन्द्र पाण्डेसँगै पराजित भएका थिए । एकै व्यक्तिलाई पटक पटक मन्त्री र सांसद बनाएपनि जम्मकट्टेलकै कारण धादिङमा माओवादी केन्द्र कमजोर बन्दै आएको छ ।

उनीबाट असन्तुष्ट भएर दर्जनौँ जिल्ला नेताले पार्टी छाडेर अन्यत्र प्रवेश गरेका छन् । केहीदिन अघि नै जम्मकट्टेलकै कारण गणतान्त्रिक खेलकुद महासंघका संस्थापक अध्यक्ष ध्रुव विक्रम मल्लले पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेको जिल्लाकै नेताहरु बताउँछन् । मल्ल जस्ता इमान्दार नेता कार्यकर्ता जमकट्टेलकै कारण पार्टीमा अटाउन सकेका छैनन् । कतिपय न्युटल जस्तो बसेका छन् । गाउँका सोझा नेता कार्यकर्ताले कुनै समस्या लिएर जमकट्टेललाई फोन गर्दा उनले फोन समेत नउठाउने एक माओवादी कार्यकर्ताले बताए ।

यता उनले बालुवा तस्करीको नाइके तथा त्रिशुली नदि दोहनका योजनाकार गणेशलाल श्रेष्ठलाई गजुरी गाउँपालिका अध्यक्षको टिकट नै दिलाएका थिए । इमान्दार कार्यकर्तालाई पञ्छाएर श्रेष्ठलाई टिकट दिएपछि जनताले जमानत नै जफत हुने गरि चुनावमा हराएका थिए । जम्मकट्टेलकै सहारामा श्रेष्ठले केहीदिन अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेको तस्विर सार्वजनिक गरेका थिए ।

जम्मकट्टेलको शंकाष्पद आर्थिक गतिविधि !

उनको निर्वाचन क्षेत्रमा पर्ने त्रिशुली नदिमा भइरहेको अवैध बालुवा उत्खनन् रोक्न जनप्रतिनिधिको हैसियतले उनको दायीत्व हो । तर, जम्मकट्टेलकै कारण पृथ्वीराजमार्ग क्षेत्रमा अवैध क्रसर, बालुवा उद्योग र मापदण्ड विपरितका ढुंगा खानीहरु छन् । कतिपय खानीबाट उनले आर्थिक लाभ समेत लिँदै आएको बेला बेला चर्चा हुने गर्छ । केही वर्षअघि दशैं खर्चको नाममा जम्मकट्टेल, संघीय सांसद भूमि त्रिपाठी, जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बालुवा तस्करहरुसँग लाखौँ रकम लिएको माइन्युट फेला परेको थियो । उक्त माइन्युटबारे दियापोस्ट डटकमले खबर प्रकाशन गरेको थियो । तर, उक्त घुसकाण्ड उच्च राजनीतिक मिलेमतोमा गुपचुप पारिएको थियो ।

त्यस्तै उनले त्रिशुली नदि किनारमा बालुवाको ढिस्को रहेको जग्गा आफ्नी श्रीमतीको नाममा खरिद गरेका छन् । कार्यकर्ताहरु मजदुरीकै लागि विदेश पलायन भइरहेको र कोरोना महामारीकै समयमा जम्मकट्टेलले करोडौं पर्ने खानीस्थलको जग्गा आफ्नी श्रीमतीको नाममा पास गरेका हुन् । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा निर्माण भइरहेको ह्वासिन सिमेन्ट उद्योगमा समेत जम्मकट्टेलको स्वार्थ जोडिएको छ । उनकै मिलेमतोमा सरकारी जग्गा कब्जा गरेर मलेखु खोलाको धार नै परिवर्तन गरेर ह्वासिन सिमेन्ट उद्योग निर्माण भइरहेको छ ।

नजिकै उद्योगले नै अवैध रुपमा ढुंगा खानी सञ्चालन गर्दै आएको छ । त्यहाँ पोखरेल थरका एक व्यक्ति मार्फत कौडीको भाउ अर्थात प्रति रोपनी ३० हजार रुपैयाँमा स्थानियसँग जग्गा किनेर उद्योगलाई प्रति रापनी १० लाख देखि ३० लाखसम्म असुल गरिएको छ । सामान्य आर्थिक हैसियत भएका जमकट्टेलले मन्त्री र सांसद भएपछि करोडौँको सम्पत्ति जोडेका छन् ।

सम्बन्धित खबर