त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रवेशद्वार विपरित दिशाको एउटा गल्लीमा भव्य घर निर्माण हुँदै थियो । ७ तला माथि उक्लिएपछि घरको छतमा पुगेँ । चर्को घाममा एक दम्पति सरसफाई गर्दै थिए ।
माइतिघर मण्डलामा हुने हरेक आन्दोलनहरुमा प्लेकार्ड बोकेर उभिने त्यो अनुहारलाई चिन्न कुनै मुस्किल परेन । उनीहरु थिए–रोहित हिङमाङ र उनकी श्रीमति कमला हिङमाङ ।
लामो राजनीतिक इतिहास बोकेका ६८ वार्षिय रोहित हिङमाङ नेपाली राजनीतिका अपवाद हुन् ।
संघीय राजधानी काठमाडौँको माइतीघर मण्डला आन्दोलनस्थल हो । जहाँ हरेक दिन कुनै न कुनै ब्यानरमा मानिसहरु आन्दोलनमा उभिन्छन् । ती आन्दोलनहरुमा सधैँजसो ब्यानर तथा प्लेकार्ड बोकेर उभिने अनुहार हुन्– रोहित ।
आफु बस्ने घर, बाउबाजेले दिएको जमिन र आफुसंग भएको सबै सम्पत्ती समेत बेचेर उनी ४६ वर्षदेखि सडकमा संघर्ष गरिरहेका छन् ।
उनी कहिले जात व्यवस्थाका बिरुद्ध नारा लगाउँछन् त कहिले महिला हिंसा बिरुद्ध आवाज उठाउँछन् । अझ भनौँ, सभ्य र समतामुलक समाज निर्माणको अभिभारा बोकेर अहिलसम्म पनि उनी आन्दोलनमा होमिएका छन् ।
२०१० सालमा झापामा जन्मिएका रोहित हिङमाङले संघर्षको एउटा कठिन पहाड चढेका छन् । थाहा छैन, अझै कति चढ्नुपर्ने हो । झापामै राजनीति गर्दागर्दै दुई छोरा र एक छोरी जन्मिए । उमेर पुगे पछि छोरीको बिहे भयो । दुई छोरा मध्ये एक छोराको मृत्यु भएपछि उनी निकै बिछिप्त भए । पटक पटकको जेल जीवन, नाता आफन्तकोे अपमान, आर्थिक अभाव र सन्तानको मृत्युको पीडा सहन नसकेर उनी एक छोरा र श्रीमतीलाई लिएर २२ वर्ष अघि गाउँ छोडेर राजधानी आए । त्यसपछि सुरु भए उनका कहाली लाग्दा संघर्षका दिनहरु ।
राजनीतिक यात्राको शुरुवात
रोहित हिङमाङले २०३२ साल देखि आफ्नो राजनीतिक यात्रा शुरु गरेका थिए । झापामा कोडिनेसन केन्द्र थियो त्यसैको सम्पर्कबाट माले पार्टीमा आबद्ध भएर उनी पहिलो पटक राजनीतिमा जोडिएका थिए । कम्युनिस्ट पार्टीले आफू जस्तै सर्वहारा वर्ग र गरिबहरुको मुक्तिको लागि काम गर्छ भन्ने बुझेपछि उनी समाज परिवर्तन गर्न र समानतामुलक समाज निर्माणको सपना बोकेर संघर्षमा होमिएका थिए । किसान, मजदुर, दलित र महिलाहरुको लागि लड्ने प्रण उनले त्यही समय देखि नै लिएका हुन् ।
४६ वर्षको लामो राजनीतिक यात्राको धेरै तीता मीठा अनुभवहरु उनीसँग छन् । जेलजीवनका कठिन दिनहरु उनले भोगे । अहिले यो समयसम्म आइपुग्दा पनि उनले र उनको पार्टीले बोकेका उद्धेश्यहरु पुरा नभएको प्रति उनको दुखेसो छ । विभिन्न अवरोध, राजनीतिक परिवर्तन, संगठनको विभिन्न क्रियाकलापहरुमा फेरबदल हुँदै उनी लागेको पार्टी ३६ साल र ४६ सालको आन्दोलन पछि शान्तिपूर्ण आन्दोलनमा रुपान्तरण भयो । त्यतिबेलाको आन्दोलनबाट जनताको भोटबाट प्रतिनीधि चुन्न पाउने उपलब्धी बाहेक अरु उद्देश्य पुरा नभएको उनको ठम्याँई छ ।
शोषण दमनमा परेका सर्वहारा वर्गको मुक्तिका लागि भएका आन्दोलन, ४६ सालको आन्दोलन, ५२ सालदेखिको जनयुद्ध, ६२/६३ को आन्दोलनले पनि केही उपब्धी हाँसिल नगरेको उनको तर्क छ । ‘दलित र महिला मुक्तिको आन्दोलन सबै भन्दा पुरानो आन्दोलन हो । तर, अहिले सम्मपनि हामीले एउटै मुद्दाको लडिरहेका छौं माइतीघरमा बसेर अहिले पनि ‘हामी पनि मान्छे हौँ’ भनेर आन्दोलन गर्नुपर्ने स्थिति छ,’ उनी भन्छन् ।
सत्ता विरुद्ध पटक पटक आन्दोलनमा होमिने उनी प्रहरी प्रशासनको समेत आँखाको तारो बेनेका थिए । ‘क्रान्तिकारी’ बिचार राखेकै कारण उनी कैयौँ पटक जेल परे । जेलमै छँदा १२ वर्षिय छोराको मृत्यु भयो । तर बिडम्वना, मृतक छोरालाई अन्तिम श्रद्धाञ्जली समेत दिन पाएनन् । रोइरहेकी श्रीमतीको आँसु समेत पुछ्दिन पाएनन् । त्यो घटना सम्झिँदा उनी अहिले पनि भाबुक हुन्छन्, ‘मैले १२ वर्षको छोरा गुमाउँदा पनि उसको मुख हेर्न पाइन, म कति अभागी बाबु थिएँ ।’
रोहित जेलमा छँदा उनकी श्रीमति गर्भवती थिइन् । गर्भवती अवस्थामा उनले निकै दुख भोग्नु पर्यो । पेटमा बच्चा हुँर्कदैँ थियो । काखको नानी पिठ्युँमा बोकेर उनी श्रीमानलाई खाना पुर्याउन जेल पुग्थिन् । श्रीमतीको साथले गर्दा पनि उनी आन्दोलनमा निश्चिन्त होमिएका थिए ।
परिवर्तन हुन्छ भनेर नै हिङमाङलाई श्रीमतिले साथ दिएकी थिइन् । तर, अहिले उनलाई विरक्त लाग्छ । उनकी श्रीमति कमला हिङमाङले भनिन् ‘त्यतिबेला घरको सबैकाम म एक्लैले गर्नुपर्थ्यो । ससाना छोराछोरी र एउटा नानी त पेटमा नै थियो तर पनि दिनदिनै हिँडेर श्रीमानलाई जेलबाट छुटाउन जान्थेँ । जेलबाट छुटाउँदा केही रकमहरु तिर्नुपर्ने भएकाले आफूले लगाएको ‘बुलाकी लगायत गरगहना बेचेँ ।’
त्यसो त, उनले खाना पकाएर खुवाएका, उनकै घरमा बसेका मान्छेहरु आज मन्त्री बनिसकेका छन् ।
तर, सत्तामा रहेकाहरुले हिङमाङको परिवारलाई बिर्सेकोमा उनीहरुको दुखेसो छ ।
रोहित हिङमाङ समाज पविर्तनको लागि जेलनेल भोग्दै आन्दोलनमा होमिएका थिए । समाजको लागि केहि गर्छु भन्दै गर्दा उनी आफ्नै परिवारको आँखामा नराम्रो बन्न पुगे । छोराछोरीहरुले सँधै गुनासो गर्छन् । तपाईंले राजनीति गरेर के पाउनु भयो ? हाम्रो लागि बस्ने एउटा छाप्रो छैन तर तपाईंलाई दुनियाँको चासो किन ? तर, छोराछोरीका यी प्रश्नमा उनी मौन छन् ।
जात व्यवस्था विरुद्धको लडाइँ
रोहित हिङमाङलाई आज पनि जात व्यवस्थाको अन्त्य हुनुपर्छ भनेर लडनुपर्ने अवस्थालाई देखेर दुख लाग्छ । उनी प्रश्न गर्छन्, “६८ वर्षको उमेरमा पनि सडकमा आएर लडिरहेको छु । मैले धेरै दुखहरु भोगेँ केही छैन । तर अबको पुस्ताले पनि यस्तै विषयमा लडि रहनुपर्ने हो भने देश कहिले अगाडि बढछ ?’
हजारौं वर्षदेखि जरा गाडेर बसेको पितृसत्ता र जातव्यवस्थाको अन्त्य गर्न जेलनेल सहनु परेपनि आन्दोलनबाट ब्याक नहुने रोहितको प्रण छ ।