यस्तो हुनेछ भविष्यको संसार !

diyopost.com
दियो पोस्ट  शनिबार, कार्तिक २७, २०७८ | १०:३२:४२

ई.वी. रामासामी नायकर ‘पेरियार’ (सेप्टेम्बर १७, १८७९–डिसेम्बर २४, १९७३) भारतको बहुजन–श्रमण परम्पराको आधुनिक युगका महान् नायकहरू मध्ये एक हुन् । उनी हरेक प्रकारको अन्याय र असमानताको खिलापमा उत्रने नायक हुन् । उनी जाति र पितृसत्तालाई भारतीय समाजको खुट्टालाई बाँधेको यस्तो डोरी मान्छन्, जसलाई नतोडे सम्म न्याय र समानतामा आधारित आधुनिक लोकतान्त्रिक भारत निर्माण हुन सक्दैन । उनको मान्यता थियो जाती व्यवस्थालाई पोषित गर्ने ब्राह्मणवाद, शास्त्र, धर्म र ईश्वरको बिनासबिना जातिको बिनास हुँदैन । किनकी यी सबै मानिसलाई गुलामीको भावना भर्नका लागि र अज्ञानताको वृद्धिका लागि रचिएको हो ।

उनको विशिष्ट तर्क, अडानका कारण सन् १९७० को जुनमा युनेस्कोले उनलाई ‘आधुनिक युगको मसीहा’, ’दक्षिण–पूर्वी एशियाको सुकरात’, ’सामाजिक सुधारवादी आन्दोलनका पिता’ र ’अज्ञानता, अन्धविश्वास, रूढिवादीता र अर्थहीनता प्रथाको कट्टर शत्रु’ नाम दिएको थियो ।

अन्याय विरुद्ध जीवनभर लड्ने पेरियारको जन्म तमिलनाडुको इरोड सहरमा भएको थियो । उनको बुबाको नाम वेंकटप्पा नायकर र आमाको नाम चिन्ना थायम्मल उर्फ मुथम्मल थियो ।

प्रस्तुत अंश ‘सेल्फ रिस्पेक्ट मुभमेन्ट’(आत्मसम्मान आंदोलन) को एक कार्यक्रममा पेरियारले दिएको भाषणको लिखित संस्करण हो । सन् १९४४ मा तमिल भाषामा ‘इनी वरुम उल्हम ?’ शीर्षकबाट प्रकाशित भएको थियो । अंग्रेजीमा यसको पहिलो संस्करण १९८० मा ’द वर्ल्ड टु कम’ शीर्षकमा प्रकाशित भएको थियो । यसको तमिलबाट अंग्रेजीमा अनुवाद प्रो. एस. वेणुले गरे । यसको संशोधित संस्करण प्रो. एस.एफ. एन चेलैयाले २०१२ मा प्रकाशित गरे । यसलाई ’द पेरियार सेल्फ–रिस्पेक्ट प्रोपगान्डा इन्स्टिच्युट’ द्वारा बुकलेटको रूपमा प्रकाशित गरिएको थियो । यसको समीक्षा पेरियारलाई बीसौं शताब्दीका एचजी वेल्ससँग तुलना गर्दै प्रसिद्ध अंग्रेजी दैनिक ‘द हिन्दू’ मा प्रकाशित भएको थियो ।

पेरियारले मानवजातिका लागि के परिकल्पना गरेका छन्, त्यसको विस्तृत रूपरेखा उनले ‘भविष्यको संसार’ शीर्षकको आफ्नो लेखमा प्रस्तुत गरेका छन् ।

हिजोको संसार कस्तो थियो ? आजको संसार कस्तो छ ? भविष्यमा संसार कस्तो हुनेछ ? शताब्दीयौंको अवधिमा समयसँगै के परिवर्तनहरू हुनेछन् ? यी कुरालाई विवेकवादीले मात्र बुझ्न सक्छ । धर्मगुरुहरूलाई बुझ्न अत्यन्तै गाह्रो छ । यो भन्नको लागि मेरो आधार के हो ?

धर्माचार्यहरूलाई त्यति मात्र थाहा छ, जति उनीहरूले शास्त्र र हास्यास्पद पौराणिक साहित्यबाट रटेर (घोकेर) बुझेका छन् । जुन ज्ञान र तर्कको परीक्षामा कतै उभिन सक्दैन । तिनीहरूमध्ये कतिपयले भावनामा बगेर मात्र सिक्ने र बुझ्ने गर्छन् । दिमागको सट्टा हृदयले सोच्ने गर्छन् । अन्धा विश्वासीहरू जस्तै, उनीहरूले जे सिकेका छन् त्यो मात्र सत्य हो भन्ने कुरामा विश्वास गर्छन् । यो तर्कवादीहरुको बाटो होइन । तिनीहरूले ज्ञान प्राप्तिलाई महत्व दिन्छन् । उनीहरु अनुभवहरूबाट काम गर्छन् । तिनीहरूले आफ्नो आँखाबाट गुज्रिएको सबै कुराबाट सिक्छन् । तिनीहरूले प्रकृतिमा निरन्तर परिवर्तनहरू, जीवित संसारको विकासको प्रक्रियाबाट पनि ज्ञान प्राप्त गर्छन् । यसका साथै वैज्ञानिक अनुसन्धान, महापुरुषको ज्ञान, व्यक्तिगत अनुसन्धान, उपलब्ध अनुसन्धान कार्यलाई आवश्यकता अनुसार र कुनै पूर्वाग्रह बिना नै स्वीकार गर्छन् ।

धर्माचार्य परम्पराले दिएको ज्ञान मात्र ज्ञान हो, त्यसमा सुधार सम्भव छैन भन्ने कुरालाई मान्छन् । उनीहरु विगतको बारेमा प्रचलित पूर्वाग्रह र विश्वासहरू यसमा कुनै परिवर्तन गर्न तयार छैनन् । अर्कोतिर तर्कवादी विश्वास गर्छन्, यो संसार हरेक पल अगाडि बढिरहेको छ । सबै कुरा छिटो परिवर्तन हुँदैछ । त्यसैले उनीहरु नयाँ र श्रेष्ठ कुरालाई स्वागत गर्न सधैं तयार हुन्छन् । मेरो भनाई संसारभरका सबै धार्मिक नेताहरू एकै हुन् भन्ने होइन् तर, जहाँसम्म ब्राह्मणहरूको सवाल छ, तिनीहरू सबै तर्कवादको विरोध गर्छन् । परम्पराले नयाँपनलाई बेवास्ता गर्छ । यसले मानिसहरूलाई स्वतन्त्र रूपमा तर्क गर्न र सोच्न अनुमति दिँदैन । न त यसले शिक्षा प्रणाली र परीक्षा पद्धति सुधार गर्न मद्दत गर्छ । बरु, यसले पूर्वाग्रह रहित मानिसहरूको सोचाइमा बाधाहरू खडा गर्छ । परम्परा पालन गर्ने धर्माचार्यहरू अज्ञानको दलदलमा डुबेका छन्, पुराणहरूको दुर्गन्धित माटोमा गहिरो मग्न छन् । अंधविश्वास र अवैज्ञानिक विचारहरुले उनीहरुलाई डरलाग्दो विषालु बनाइदिएको छ ।

हाम्रा धार्मिक नेताहरू, विशेष गरी हिन्दू धर्मका अनुयायीहरू तिनीहरू पनि धार्मिक नेताहरूबाट गुज्रिएका छन् । धर्माचार्यले जनतालाई हजार वर्ष पछाडि जान सल्लाह दिन्छन् भने नेताहरूले हजारौं वर्ष पछाडि धकेल्ने प्रयास गरिरहन्छन् । उनीहरूले जनतालाई शताब्दीयौं पछाडि धकेलेका छन् । तर्कवाद न त धार्मिक नेताहरूलाई मन पर्यो, न हाम्रा हिन्दू नेताहरूलाई । तिनीहरू अवैज्ञानिक, मूर्ख र दिमागहीन कुराहरूमा मात्र संलग्न छन् ।

मेरो अनुभवको आधारमा म भन्न सक्छु , नयाँ दुनियाँमा पनि यस्ता मानिसहरूको कारण आगामी समय उनीहरुजस्तै असभ्य र मूर्ख मानिसहरूको हुनेछ । ‘सुनौलो विगत’ (ओल्ड इज गोल्ड) को परिकल्पनालाई त्यही व्यक्तिले विश्वास गर्छ जसले न त परिवर्तनलाई बुझेको छ र न त व्यक्तिले नयाँ परिवर्तनलाई पत्याउन सक्छ । बुद्धिका अन्धो मानिसहरूले मात्र त्यसलाई पछ्याउन सक्छन् ।

हामी जस्ता तर्कवादीहरूले पुरातनतालाई सिधै अस्वीकार गर्दैनन् । त्यसमा जे राम्रो छ त्यसलाई हामी स्वागत गर्छौं तर त्यसलाई ग्रहण गर्न पनि राम्रो र नयाँपनमा विश्वास गर्न आवश्यक छ । त्यतिबेला मात्र हामी नयाँ र अत्याधुनिक सत्य पत्ता लगाउन सक्छौं । नयाँ र राम्रो समाज निर्माण गर्न नयाँ परिवर्तनलाई स्वागत गर्न तयार हुँदा मात्र समाजले प्रगति गर्न सक्छ ।

धर्माचार्यको विचारमा परम्पराले दिएको ज्ञान नै एक मात्र ज्ञान हो । विगतको बारेमा प्रचलित पूर्वाग्रह र विश्वासहरूमा परिवर्तन गर्न उनीहरु तयार छैनन् । अर्कोतर्फ तर्कवादी विश्वास गर्छन् , यो संसार हरेक पल अगाडि बढिरहेको छ ।
मानिसहरू जुनसुकै देश वा संस्कृतिका भएतापनि पुरातनसँग कहिल्यै सन्तुष्ट थिएनन् । उनीहरुको दृष्टि सधैं नवीनतम ज्ञान र प्रगतिमा केन्द्रित छ । उनीहरु जिज्ञासु र निष्पक्ष थिए । त्यसैले तिनीहरूले अद्भुत चीजहरू पत्ता लगाउन सक्षम भए । आज संसारको हरेक कुनाबाट मानिसहरूले मानव उपयोगी आविष्कारहरूको फाइदा उठाउँदैछन् । त्यसैले यो लेख ती व्यक्तिहरूको लागि मात्र हो, जसले सत्यको अनुभव गर्न जान्दछ र यसलाई आत्मसात गर्न तयार छ ।

यस्ता व्यक्तिहरूले मात्र शताब्दी अगाडिको परिवर्तनको कल्पना गर्न सक्छन् ।

विगतको सिंहावलोकन र ठूला इतिहासकारहरूको सुझावले आगामी दिनमा राजतन्त्रको अन्त्य हुने देखाउँछ । बहुमूल्य सुन, चाँदी, हीरा र रत्नहरू अब मालिक वर्गको विशेषाधिकारमा हुनेछैन । त्यो संसारमा न शासक, न शासन, न राजा, न राज्यको आवश्यकता पर्नेछ । आजको समयमा जस्तो जनताको जीविकोपार्जन र खुसीमा त्यस्तो कुनै प्रतिबन्ध हुनेछैन । आज जीविकोपार्जनका लागि गरिने श्रम अत्याधिक छ । आफ्नै मिहिनेतको आनन्द प्राप्त गर्ने अवसरहरू तुलनात्मक रूपमा सीमित छन् । एकातर्फ हामीसँग खेतीपाती र सुखमोदका लागि प्रशस्त स्रोतसाधन छ, विलासिताका सामग्रीसमेत छन् । अर्कोतिर भोकमरी, गरिबी र गरिबीले सताइएका जनता पनि ठूलो संख्यामा छन् । त्यस्ता व्यक्तिहरूसँग सधैं सामान्य सुविधाहरूको अभाव हुन्छ । तिनीहरूसँग न त पर्याप्त भोजन छ, न जीवनको कुनै सुख । यद्यपि, संसार अवसरहरूले भरिएको छ र ती अवसरहरूबाट कुनै पनि व्यक्तिले आफ्नो रुचि अनुसार जीवनको लक्ष्य निर्धारण गर्न सक्छ । तपाईं आफैलाई माथि उठाउन सक्नुहुन्छ । यद्यपि त्यहाँ धेरै कम व्यक्तिहरू छन् जसले ती सबैको आनन्द लिन सक्छन् ।

विश्व कच्चा पदार्थ र उत्पादनको क्षेत्रमा तीव्र विकासतर्फ अघि बढिरहेको छ । अर्कोतर्फ, थोरै स्रोतसाधनमा बाँच्न बाध्य भएका अनगिन्ती मानिसहरू छन् । समाजमा जीवनका आधारभूत आवश्यकताहरू छन् । उनीहरुको अभावमा जीवन निकै कष्टकर हुन्छ । धेरै मानिसहरू न्यूनतम सुविधाको लागि पनि तडपिन बाध्य छन् । उनीहरुले निकै कठिन तरिकाले जीविकोपार्जन गरिरहेका छन् । हामीसँग कृषियोग्य जमिनको कमी छैन । बाँकी स्रोतहरू पनि पर्याप्त मात्रामा छन् तर त्यस्ता मानिसहरु पनि छन् जोसंग एक टुक्रा जग्गा पनि छैन । यो संसारमा खुसीसाथ बाँच्नका लागि प्रशस्त साधनस्रोत छ, अर्कोतिर भोक, गरिबी र चिन्ता छ । जसका कारण समाजमा चुनौतीहरू छन् ।

के यी सबै र भगवानबीच कुनै सम्बन्ध छ ?
के यो सबै र मान्छे बीच कुनै तालमेल छ ?

संसारका कामहरू भगवानसँग जोड्ने मानिसहरू पनि छन् । तर संसारको दुष्टताको लागि परमेश्वरलाई जिम्मेवार ठहराउने कोही पनि हामीले भेट्टाउँदैनौं । त्यसोभए यो मान्नु पर्छ , मानिसहरु मूर्ख छन् । के उनीहरुसँग दुष्टताहरू सामना गर्ने शक्ति छैन ?

मानिस सबै प्राणीहरूमध्ये सबैभन्दा बुद्धिमान हो । मानिसले ईश्वर, धर्म, दर्शन, अध्यात्मलाई समेटेको छ । भनिन्छ , असाधारण मानवहरू ईश्वरलाई प्राप्त गर्न सफल भए । कतिपय मानिसहरुको बारेमा दाबी गरिन्छ , उनीहरु भगवानमा निकै तल्लीन थिए र उनीहरु आफै भगवान बनेका थिए । म ठूलो साहसका साथ सोध्छु , “यस्तो महान् व्यक्तित्वले पनि संसारमा व्याप्त सबै मूर्खतालाई उखेल्न किन असफल भयो ? मानिसहरूले आफ्नो सामान्य ज्ञानबाट बुझ्न सकेनन् भन्ने कुरा स्पष्ट छ । सांसारिक चीजहरूको ईश्वर, धर्म, आध्यात्मिक शिक्षा, न्याय, मर्यादा, शासन आदिसँग कुनै सम्बन्ध छैन । के धेरै मानिसहरू स्वतन्त्र रूपमा सोच्न र निर्णय गर्न असमर्थ छन् ?

युद्धहरू, जुन आजकल सामान्य छ, भविष्यमा त्यसको लागि कुनै ठाउँ हुनेछैन । जनतालाई युद्धमा मर्न बाध्य पार्न सकिँदैन । हत्या र लुटपाटका घटनामा उल्लेख्य कमी आउनेछ । कोही पनि बेरोजगार हुनेछैन । कतै खाना र जीविकोपार्जनको लागि झगडा हुनेछैन् ।
पश्चिमी देशहरूमा धेरै विद्वानहरूले बुद्धिमत्तालाई महत्व दिएर तर्कसंगत सोच्न सुरु गरे । ती विचारहरुको सहयोगमा उनीहरुले अचम्मको ज्ञानसँगै अद्भुत आविष्कार गरेका छन् । फलस्वरूप, उनीहरुले आफ्नो आध्यात्मिकतालाई बहिष्कार संगै अन्धविश्वास र आत्म–वंचितताको समाधान खोज्न सक्षम भए । अन्ततः तिनीहरू पुरातन ठगीहरू लामो समयसम्म टिक्ने छैनन् भन्ने निष्कर्षमा पुगे । त्यसैले उनीहरुले नयाँ युगमा ध्यान दिन थालेका छन् ।

हामी किन जन्मियौ ? आज पनि आम मानिसले जीविकोपार्जनको लागि किन संघर्ष गर्नुपरेको छ ? भोक र गरिबीले किन अकालमै मर्छन् मान्छे ? जबकि संसारमा प्रशस्त स्रोतसाधन छन् । मानव मनमा उब्जिएका यी प्रश्नहरूले स्तब्ध बनाउछ । आज परिस्थिति बदलिएको छ । अहिले तर्कसंगत रूपमा धेरै चीजहरूको वास्तविक रूप हाम्रो अगाडि छ । समयक्रममा यो पद्धति परिवर्तनको साधन मात्र नभई सामाजिक क्रान्तिलाई पनि जन्म दिनेछ । यस्तो समय आउनेछ जब धन सम्पतिलाई सिक्कामा नापिनेछैन । न त सरकारको आवश्यकता हुनेछ । बाँच्नका लागि मानिसले धेरै मेहनत गर्नु पर्दैन । क्षुद्र मानिने वा व्यक्तिलाई तुच्छ ठान्ने काम हुने छैन । आज सरकारसँग असीमित अधिकार छ । तर, भविष्यमा अनन्त शक्ति भएको सरकार बन्ने छैन । दासत्वको कुनै निशान रहनेछैन । बाँच्नका लागि कोही पनि अरुको भर पर्नु पर्दैन । महिला आत्मनिर्भर हुनेछन् र उनीहरुलाई सुरक्षा र सहयोगको कुनै आवश्यकता हुनैछैन ।
आगामी संसारमा मानिसलाई खुसीसाथ बाँच्न एक वा दुई घण्टा पर्याप्त हुनेछ । यसबाट उनले सन्त–महात्मा, जमिनदार, शोषक धर्मगुरु र दार्शनिकहरूले जस्तो गौरवपूर्ण जीवन बिताउन सक्नेछन् । सामान्य आराम र सबै सुखको लागि मात्र दुई घण्टाको श्रम पर्याप्त हुनेछ । मानिसका सामान्य रोगहरु जस्तै खुट्टा दुख्ने, कान, नाक, पेट, हड्डी आदि र अन्य रोगहरु सहनुपर्ने छैन । नयाँ संसारमा मानिसको मात्रै चिन्ता र कठिनाइ समाजले ठीक गर्दैन । विश्वमा समाज एकता र सहकार्यको आधारमा बन्छ ।
युद्धहरू, जुन आजकल सामान्य छ, भविष्यमा त्यसको लागि कुनै ठाउँ हुनेछैन । जनतालाई युद्धमा मर्न बाध्य पार्न सकिँदैन । हत्या र लुटपाटका घटनामा उल्लेख्य कमी आउनेछ । कोही पनि बेरोजगार हुनेछैन । कतै खाना र जीविकोपार्जनको लागि झगडा हुनेछैन् । मानिसहरूले आफूलाई खुसी र स्वस्थ राख्न काम खोज्छन् । मूल्यवान वस्तुहरू, रमणीय साइटहरू, मनमोहक दृश्यहरू र शक्तिशाली प्रदर्शनीहरू जहाँ मानिसहरूले सँगै जीवनको आनन्द लिन सक्छन् । सबैको लागि सबै समयमा समान रूपमा उपलब्ध हुनेछ । आगामी संसारमा साहुकार, निजी व्यापारी, उद्योगी र पुँजीपतिको मातहतमा चल्ने संस्थाका लागि कुनै ठाउँ रहनेछैन । नाफाको लालसामा मात्र काम गर्ने एजेन्ट, दलाल वा दलाल आउने संसारमा देखिने छैनन् ।

सहकारी विश्व–राज्यमा जल, स्थल र वायु सेना विगतको कुरा बन्नेछ । बस्तीहरू नष्ट गर्ने युद्धपोत र हतियारहरू आफैं नष्ट हुनेछन् । जीविकोपार्जनका लागि रोजगारीको खोजीमा मानिसको पहुँच हुनेछ । सुखमा चौतर्फी वृद्धि हुनेछ । ज्ञान र विज्ञानको सहयोगले मानिसको औसत आयु बढ्दै जानेछ । जनसङ्ख्या वृद्धिको गतिलाई ध्यानमा राखी आवश्यक वस्तुको उपलब्धता र त्यसलाई परिचालन गर्न लाग्ने श्रम लागत न्यून स्तरमा रहनेछ । मेसिन क्रान्तिले यसलाई सहज बनाउँछ ।

हामीले आजसम्म फोहोर र नराम्रो कमबार्ट जे बुझ्यौं त्यसलाई आउने संसारमा त्यस्तो व्यवहार गरिने छैन । न त तिनीहरूको कारणले कसैलाई तुच्छ ठान्न सकिन्छ । आगामी दिनमा मेैला धुने, फोहोर भाँडाकुँडा धुने, कप, प्लेट धुने जस्ता कामका लागि मेसिनको सहयोग लिइनेछ ।
उदाहरणका लागि – एक कारीगरले एक मिनेटमा औसत १५० वटा धागो बुन्न सक्थ्यो । आज ४५००० धागो प्रति मिनेटको गतिमा विभिन्न प्रकारका कपडाहरू सजिलै बुन्न सक्ने मेसिनहरू छन् । त्यस्तै, यसअघि कारीगरलाई प्रतिमिनेट दुई–तीन चुरोट बनाउन गाह्रो थियो । आज एउटा मेसिनले प्रतिमिनेट साढे दुई हजार चुरोट बनाउँछ । आज मेसिनको ड्यासबोर्डमा तमाखुको पात, कागज आदि मात्र राख्नु पर्ने हुन्छ । चुरोट बनाउनेदेखि प्याकेट बनाउनेसम्मको काम मेसिनले गर्छ । त्यहाँबाट सजिलै बाहिर पठाउन सकिन्छ । यसबाहेक खराब चुरोटलाई छुट्याउन र नष्ट गर्ने काम पनि मेसिनले गर्छ । आज, जीवनका सबै क्षेत्रहरूमा मेशिनहरू मार्फत सजिलैसँग काम भइरहेको छ । प्रविधिसँग सम्बन्धित ज्ञानमा तीव्र वृद्धि भइरहेको छ । टेक्नोलोजीको सहयोगले यो आगामी संसारमा हरेक कुरा सम्भव हुनेछ ।

मानिसहरु अल्छी र आराम गर्न मन पराउनेछन् भनेर डराउनु पर्दैन । यस्तो चिन्ता कसैले गर्नुपर्दैन । यति मात्रै होइन, जीवनका आवश्यकताको प्राप्तिको विधि र स्रोतको विकास हुँदै जाँदा र सुविधाको माग बढ्दै गएपछि मानिसको वर्षभरिको श्रम र क्षमतालाई जनहितमा उपयोग गर्न स्वाभाविक रूपमा आवश्यक कदम चालिनेछ । मानव खाली समयको सार्थक सदुपयोग गर्न सकियोस् भनेर यस्ता योजनाहरू बनाइनेछ । सबैभन्दा आधुनिक मानव आविष्कारको कुनै सीमा हुनेछैन । सबैले काम पाउनेछन् । विशेष गरी सद्गुणी, प्रतिभाशाली र मानवताको हितमा आधुनिक सोचका साथ काम गर्नेहरूलाई कामको कुनै कमी हुनेछैन । मजदुरले ज्यालामा मात्र काम गर्दैन, आफ्नो मानसिक विकासका लागि पनि काममा लगनशील हुन्छ । सबैजना यसमा व्यस्त हुनेछन् । नाफाको लागि मात्र उत्पादन हुँदैन ।

ठूलालाई काम गरेको देख्दा सानाहरू पनि समाजको हितमा बहुउपयोगी योगदान गर्न अचम्मको रूपमा तयार हुन्छन् । कसै–कसैले सोच्न सक्छन् उनका उत्तराधिकारीहरू सुस्त र आरामदायी हुनेछन्, ठिकै छ तर मलाई त्यस्तो लाग्दैन । कतिपय मानिस अल्छी र बेकार हुन सक्छन् भन्ने सोचेर समाजको बोझ बन्न सक्दैनन् । तिनीहरूले समाजको प्रगतिमा न्यूनतम प्रभाव पार्नेछन । यदि कसैले जानाजानी अल्छी हुन जिद्दी गर्छ भने, यो उसको लागि हानिकारक हुनेछ; सम्पूर्ण समाजको लागि होइन । सत्य यो हो कि आउने दिनहरूमा जो कोहीले पनि आफूलाई अल्छी र सुस्त भन्न लाज महसुस गर्नेछन् । समाजका लागि उपयोगी काम गर्न मानिसहरुबीच प्रतिस्पर्धा हुनेछ । तिनीहरूका लागि थप काम हुनेछ । र कुनै पनि काम गर्न हातको कमी हुनेछैन । कुनै पनि काम पूरा नगरेको दोष कसैले आफू लिन चाहने छैनन् ।

तपाईले सोध्नुहुन्छ, के त्यहाँ केही मानिसहरू हुनेछन् जो स–साना र फोहोर कामहरु गर्ने छन् । हामीले आजसम्म फोहोर र नराम्रो कर्मलाई जे बुझ्यौं, त्यसलाई आउने संसारमा त्यस्तो व्यवहार गरिने छैन । न त तिनीहरूको कारणले कसैलाई तुच्छ ठान्न सकिन्छ । आगामी दिनमा फोहोर मैला धुने, फोहोर भाँडाकुँडा धुने, कप, प्लेट धुने जस्ता कामका लागि मेसिनको सहयोग लिइनेछ । मानिसले प्राविधिक सीप हासिल गर्ने, मेसिन प्रयोग गर्न सिक्ने अपेक्षा गरिन्छ । टाउकोमा भारी बोक्न, खाडल तान्न वा खन्न मानव श्रमको आवश्यकता पर्दैन । कुनै पनि कामलाई अनादर मानिने छैन । नयाँ संसार बनाउन कवि, कलाकार, कलम र मूर्तिकारबीच प्रतिस्पर्धा हुनेछ । असल मानिसहरूलाई असल कामको जिम्मा दिइनेछ । जसले गर्दा नाम र ख्याति दुवै कमाउन सकून् ।

सबै मानिसहरुमा आत्मसम्मानको भावना हुनेछ । महिला र पुरुष दुवैले एकअर्काको भावनाको सम्मान गर्नेछन् र कसैको प्रेमलाई जबरजस्ती पाउने प्रयास गरिने छैन । महिला दासताको लागि कुनै ठाउँ हुनेछैन र पितृसत्ताको अन्त्य हुनेछ ।
कुनै पनि व्यक्ति आत्मसम्मान, चरित्र र मर्यादाबाट वञ्चित हुनेछैन । व्यक्तिगत लाभका सबै बाटा बन्द हुने भएकाले कोहि मानिस गलत काममा फस्नेछैन । अनुचित र अनैतिक कार्य तिर झुकाव गर्ने कोही पनि हुनेछैन । यी सर्तहरूले सबैलाई उच्च नैतिक स्तरहरू पालना गर्न उत्प्रेरित गर्नेछ । उसलाई थप विनम्र र संवेदनशील बनाउनेछ । यदि उच्च–नीच, विशेषाधिकार र वञ्चितता छ भने, त्यहाँ घृणा, ईर्ष्या, र अलगावको कारण पनि हुनेछ; र जहाँ यी कुराहरू छैनन्, त्यहाँ अनैतिकताको लागि कुनै ठाउँ हुनेछैन । नयाँ संसारमा, कसैले केही चोर्न वा हडप्नु पर्दैन । गंगाजस्ता पवित्र नदीको किनारमा बस्ने मानिसहरूले त्यसको पानी चोर्दैनन् । उनीहरूले जति पानी चाहिन्छ त्यतिमात्रै लिनेछन् । तिनीहरूले भविष्यमा प्रयोगको लागि पानी अरूबाट लुकाउने छैनन् । यदि कसैसँग आफ्नो आवश्यकताको धेरै चीजहरू छन् भने, उसले चोर्ने सोच पनि गर्दैन । त्यसैगरी, कसैले झुट बोल्नु, ठग्नु वा धोका दिनु पर्दैन । किनभने, त्यसबाट उसलाई कुनै फाइदा हुँदैन । मादक पेयले कसैलाई हानी गर्दैन । न त कसैले कसैलाई मार्ने सोचाइ राख्छ । समय बिताउने नाममा जुवा, सट्टेबाजी जस्ता लतको अन्त्य हुनेछ । उनीहरुका कारण कसैले आर्थिक नोक्सानी बेहोर्नुपर्दैन ।

पैसाको लागि वा बाध्यतामा कसैले पनि वेश्यावृत्तिमा लाग्नु पर्दैन । स्वाभिमानी समाजमा कसैले अर्कोमाथि शासन गर्न सक्दैन । कसैले कसैबाट पक्षपातको अपेक्षा गर्नेछैनन् । त्यस्तो समाजमा जीवन र काम–सम्बन्धप्रति मानिसको दृष्टिकोण उदार र मानवीय हुनेछ । उनीहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नेछन् । सबैमा आत्मसम्मानको भावना हुनेछ । महिला र पुरुष दुवैले एकअर्काको भावनाको सम्मान गर्नेछन् र कसैको प्रेमलाई जबरजस्ती गर्ने प्रयास गरिने छैन । महिला दासताको लागि कुनै ठाउँ हुनेछैन । पितृसत्ताको अन्तय हुनेछ । दुवैले एकअर्कामाथि बल प्रयोग गर्नेछैनन् । अब आउने समाजमा कतै पनि वेश्यावृत्ति हुने छैन ।

मानसिक असक्षमता भएका व्यक्तिहरूलाई विशेष हेरचाहको आवश्यकता हुन सक्छ । ती व्यक्तिले अरूलाई समस्या सिर्जना गर्दा मात्रै नियन्त्रणमा लिइनेछ । महिला र पुरुष दुवैलाई कुनै किसिमको प्रतिबन्ध लगाउन आवश्यक छैन । किनकी उनीहरु सम्बन्धको राम्रो र नराम्रो पक्षबाट सजग हुनेछन् ।

यातायातका साधनहरू मुख्यतया हवाई हुनेछन् र तिनीहरूले उच्च गतिमा काम गर्नेछन् । सञ्चार प्रणाली वायरलेस हुनेछ । यो सबैको लागि उपलब्ध हुनेछ र मानिसहरूले यसलाई आफ्नो खल्तीमा बोक्नेछन् । रेडियो प्रत्येकको टोपीमा माउन्ट गर्न सकिन्छ । प्रसारण उपकरणहरू व्यापक प्रयोगमा हुनेछन् । टेलिकम्युनिकेशन एकदमै सहज हुनेछ र मानिसहरू आमनेसामने बसे झैं कुरा गर्न सक्नेछन् । मानिस जुनसुकै ठाउँमा र कुनै पनि समयमा तुरुन्तै सम्पर्क गर्न सक्षम हुनेछ । शिक्षालाई छिटो र टाढासम्म फैलाउन सम्भव हुनेछ । एक हप्ताको मूल्यवान स्वस्थ खाना सम्भवतः एउटा क्याप्सुलमा समावेश हुनेछ, जुन सबैका लागि सजिलै उपलब्ध हुनेछ । मानिसको उमेर एक सय वर्ष वा सोभन्दा दोब्बर भएको हुनुपर्छ । नपुंसक महिला वा पुरुषले बच्चाको लागि यौन सम्पर्क गर्न आवश्यक पर्दैन । त्यतिमात्र होइन, उन्नत जातका जनावरका लागि बलियो र बलियो भाले जाति विशेष रूपमा ल्याइनेछ । स्वस्थ र बुद्धिमान पुरुषलाई वीर्य दानका लागि तयार गरी महिलाको पाठेघरमा वैज्ञानिक रूपमा जडान गरिने छ । यो यस्तो तरिका हुनेछ, जसबाट आउने बच्चा शारीरिक र मानसिक रूपमा पूर्ण रूपमा स्वस्थ र तजिलो हुनेछ । बच्चा जन्माउने प्रक्रियालाई सरल बनाइनेछ; जसका लागि दम्पतीलाई यौनसम्पर्कको आवश्यकता पर्दैन । जनताको इच्छा र सहयोगले जनसङ्ख्या नियन्त्रणको काम सहज हुनेछ ।

दैनिक उपभोगका वस्तुहरू जुन आज छन् भविष्यमा फरक हुनेछ । उदाहरणका लागि, सवारी साधनहरूको वजन उल्लेखनीय रूपमा कम हुनेछ । यसले पेट्रोलको खपत कम गर्नेछ । भविष्यका कारहरू बिजुली वा रिचार्जेबल ब्याट्रीमा चल्न सक्नेछन् । सबैले फाइदा लिन सक्ने गरी विद्युत प्रयोग गरिनेछ । यो मानवताको लागि धेरै उपयोगी हुनेछ । यस्ता धेरै वैज्ञानिक सुधारहरु देख्न पाइनेछ । विज्ञानको धेरै तिब्र विकास हुनेछ, यसबाट नयाँ र उपयोगी आविष्कारहरु निस्किनेछन् ।

भविष्यमा न स्वर्ग हुनेछ न त नरक । किनभने, त्यहाँ अनन्त पाप वा पुण्यको लागि कुनै स्थान हुनेछैन । कसैको सहयोगको खाँचो पर्दैन । मानसिक रोगी बाहेक अरु कसैले हानी पु¥याउन चाहने छैनन् । त्यसैले, स्वर्ग र नर्कको परिकल्पना भविष्यमा मानवताको लागि अर्थहीन मानिनेछ ।
नयाँ संसारमा आविष्कारको दुरुपयोगको कुनै गुंजाइश हुँदैन । आजभोलि सरकारले सम्पत्तिको संरक्षण, शान्ति सुरक्षा, न्याय, प्रशासन, शिक्षा आदिको जिम्मेवारी लिइरहेको छ । यसका लागि सरकारका विभिन्न विभाग छन् । पछि ती सबै माध्यमहरू अनावश्यक र अप्रचलित हुनेछन् । यी कार्यहरूका लागि आजको प्रचलित प्रणालीहरू अन्ततः अर्थहीन देखिन्छन् । नयाँ दुनियाँमा पनि भगवानलाई बुझ्ने चाहना भएको मानिस हुनु भनेको कठिन मात्र हुनेछ ।

ईश्वरको अवधारणा सहज र प्राकृतिक रूपमा जन्मिएको होइन । यो विश्वासको प्रक्रिया हो । जुन कुरा ठूलाले सानालाई सुनाउने र प्रचार गर्ने गरेका छन् । आउने संसारमा भगवानको कुरा गर्ने र कर्मकाण्ड गर्ने मान्छे नगण्य हुनेछन् । यति मात्र होइन, भगवानको नाममा जति चमत्कारहरू दावी गरिन्छ , समयमा तिनीहरू हराउनेछन् । मानिसले परमेश्वरको कुरा गर्नेछ तर कुनै अलौकिक भावना बिना । आज मानिसले भगवानलाई आफ्नो आवश्यकता भनिएकाले सम्झन्छ ।

यदि हामीले काम गर्ने क्रममा अचानक अवरोधहरूको रहस्य बुझ्यौं भने र मानिसको सामान्य आवश्यकताहरू उसको आवश्यकता अनुसार समयमा सजिलै पूरा भयो भने उसलाई ईश्वर र सृष्टिको अवधारणाको आवश्यकता पर्दैन । स्वर्गको अवधारणा अवैज्ञानिक र अप्रामाणिक छ । पृथ्वीमा नै मानिसका लागि स्वर्गजस्तो वातावरण उपलब्ध भयो भने स्वर्गजस्तो निराधार कल्पनाको आवश्यकता पर्दैन । न त स्वर्ग जाने इच्छाले उसलाई सताउने छ । यो मान्छेको बुझाईको सीमा हो । ज्ञान र विकासको क्षेत्रमा भगवानको कुनै स्थान छैन ।

यदि कुनै व्यक्तिमा आफूलाई चिन्न सक्ने क्षमता छ भने उसलाई भगवानको आवश्यकता छैन । यदि मानिसले यस संसारलाई आफ्नो लागि स्वर्ग मान्छ भने उसले स्वर्गको स्वर्गमा र नर्कको पातालमा बसेको जस्तो भ्रमपूर्ण कुरामा विश्वास गर्दैन । एक सचेत र विवेकी व्यक्तिले तुरुन्तै यस्तो तर्कहीन सोचलाई अस्वीकार गर्नेछ । जहाँ व्यक्तिगत इच्छाहरू नष्ट हुन्छन्, त्यहाँ भगवान पनि मर्छन । जहाँ विज्ञान जीवित हुन्छ, त्यहाँ भगवान दफन हुन्छ ।

सामान्यतया, अपरिवर्तनीयता वा अस्थिरता बारे ठोस परिकल्पनाहरू सम्भव छन् । यसको अर्थ के हो ? यसमा भ्रम पैदा गर्ने कारकहरू के हुन ? मानिसहरूले नश्वरतालाई ईश्वरको पर्यायवाची र गुणको रूपमा हेर्दै आएका छन् । वैज्ञानिकहरूको नजरमा, यस्तो मूर्खता हो । हामी प्रायः आफ्नो व्यक्तिगत अनुभवहरू अरूसँग साझा गर्न हिचकिचाउँछौं । त्यसैले अरूको अनुभव र विचार हाम्रो दिमागमा हावी हुन्छ । हामी हाम्रो अज्ञानता देखाउँछौं ,जुन सामान्यतया हाम्रो होइन । उनीहरू संसारको जन्म र यसको ऐतिहासिक सहिष्णुता बुझ्नको लागि आदर्श माध्यम हुन सक्छन् । यी परिस्थितिहरूमा, संसारका धेरै रहस्यहरू अझै पनि हामीलाई अज्ञात छन् । कुनै पनि तर्कवादीले कृतज्ञताको बहानामा भगवानको पूजा गर्दैन ।

ज्ञान हासिल गरेर जो कोहीले आफ्नो जीवन सुधार्न सक्छ, यो संसारको नियम हो । जब मानिसले घटनालाई तर्कपूर्वक व्याख्या गर्न सक्दैन, तब चुपचाप अज्ञानताको रुखमुनि शरण लिन्छ र भगवानलाई पुकार्न थाल्छ । यस्ता गैर–बौद्धिक गतिविधिलाई आगामी दिनमा पूर्णतया अनुपयुक्त मानिनेछ ।

भविष्यमा न स्वर्ग हुनेछ न नरक । किनभने, त्यहाँ अनन्त पाप वा पुण्यको लागि कुनै स्थान हुनेछैन। कसैको सहयोगको खाँचो पर्दैन । पागल बाहेक अरु कसैलाई हानि पु¥याउन चाहदैन । त्यसैले, स्वर्ग र नर्कको परिकल्पना भविष्यमा मानवताको लागि अर्थहीन मानिनेछ।
यदि कुनै व्यक्तिमा आफूलाई चिन्न सक्ने क्षमता छ भने उसलाई भगवानको आवश्यकता छैन। स्वर्गको स्वर्गमा र नर्कको पातालमा बस्नु जस्ता भ्रमपूर्ण कुराहरूमा उसले कहिल्यै विश्वास गर्दैन। जहाँ व्यक्तिगत इच्छाहरू नष्ट हुन्छन्, त्यहाँ भगवान पनि मर्नुहुन्छ। जहाँ विज्ञान जीवित हुन्छ, त्यहाँ भगवान दफन हुन्छ।
यस्तो आदर्श संसार अचानक सृजना हुन सक्दैन । परिश्रमी मानिसहरूले क्रमशः क्रमशः परिवर्तन गर्दै पाइला पाइला चालेपछि दीर्घकालीन रूपमा यस्तो संसार अवश्य निर्माण गर्न सकिन्छ । नयाँ संसारको सृजना, समाजका विभिन्न समस्याको समाधान र मानव जीवनको राम्रो जीवनका लागि यो मार्ग उपयुक्त हुनेछ ।

त्यो समाजमा कसैले सोध्नेछैन– ‘के गरौं ? सबै कुरा भगवानको इच्छा द्वारा चल्छ÷शासित हुन्छ ।” मानवतामा जतिसुकै कमजोरीहरू आए पनि जनता चुप लागेर बस्दैनन् । तिनीहरू निश्चित रूपमा लक्ष्यमा पुग्न तिनीहरूलाई समाधान गर्नेछन् । भाग्य र दुर्भाग्यको कुरा हुनेछैन । हरेक काम पूर्ण आत्मविश्वासका साथ हुनेछ । समाजमा जतिसुकै विकृतिहरू देखा पर्छन्, त्यसलाई तुरुन्तै सुल्झाएर राम्रो समाज निर्माण गर्न सीपका साथ लाग्नेछ ।

पुरातन रीतिरिवाज र परम्पराहरूमा अन्धविश्वासले मानिसको सोच्ने, बुझ्ने र तर्कको प्रयोग गर्ने प्रवृत्तिलाई मेटाएको छ । यी कुराहरू संसारको उन्नतिमा बाधक बन्छन् । कतिपयको स्वार्थ उनीहरुसँग जोडिएको हुन्छ । निहित स्वार्थका लागि जो मानिसहरू पुराना र फोहोर कुराहरूबाट कमाइ गरिरहन्छ त्यसता मानिसले नयाँ संसारको संरचनाको विरोध गर्ने छ । सुख र शान्तिले भरिपूर्ण संसारको विरोध गर्छन् । जनताको विकासका लागि पनि धेरै सम्भावनाहरू हुनेछन् । यति हुँदाहुँदै पनि मानिसको अज्ञानता र केही व्यक्तिको स्वार्थको विरुद्धमा जो खुलेर उभिने छ, तिनीहरूले मात्र नयाँ संसार बनाउन सक्षम हुनेछ । नयाँ संसारका निर्माताहरूलाई बलियो बनाउन हामीले तिनीहरूको पङ्क्तिमा सामेल हुनुपर्छ । युवा तथा बुद्धिजीवीहरूका लागि आफ्नो सोच, ऊर्जा र सपनाले नयाँ विश्व निर्माणमा लाग्ने उपयुक्त समय छ ।

(तामिल देखि अंग्रेजी अनुवादः प्रोफेसर एएस वेणु, अंग्रेजी देखि हिन्दी अनुवादः ओमप्रकाश कश्यप , हिन्दीबाट नेपाली अनुवाद दियोपोस्टका लागि फूलमतीले गरेकी हुन् ।)
यो लेख फारवर्ड प्रेस द्धारा ‘ई.वी. रामासामी, पेरियारको “दर्शन चिन्तन र सत्य रामायण” शीर्षकबाट प्रकाशित पुस्तकमा संग्रहित छ । यो पुस्तक पेरियारका मौलिक रचनाहरूबाट चयन गरिएको संग्रह हो । यो लेख यस पुस्तकको पहिलो लेख हो ।

सम्बन्धित खबर