ब्राह्मणसँग विवाह गरेकी दलित युवतीको व्यथा : लाखौँ ठगिएपछि थाहा पाएँ अर्की श्रीमति र बच्चा रहेछ !

diyopost.com
दियो पोस्ट  बिहिबार, मंसिर ०२, २०७८ | १९:५०:४२

काठमाडौं । उदयपुर घर भएकी एक दलित महिलाले विवाहको नाटक गरि आफू ठगिएको बताएकी छिन् । रीमा विश्वकर्मा (नाम परिवर्तन)ले आफूमाथि दलित भन्दै जातिय विभेद गरि घरबाट निकालेको र आफ्नो लाखौँ रकम समेत ठगि भएको बताएकी छिन् । ललितपुरको नागरिकता भएका सुजन तिमिल्सिनाले घरमा श्रीमती हुँदा हुँदै झुक्याएर विवाह गरि सम्पत्ति समेत ठगी गरेको उनको आरोप छ ।

दियापोस्टको सम्पर्कमा आएकी पीडित विश्वकर्माका अनुसार तिमिल्सिनाले आफू अविवाहित भएको झुटो दाबी गरी विश्वकर्मासँग विवाह गरेका थिए । तिमिल्सिनासँग ०७० सालमा उदयपुर भयलडाँडास्थित आफ्नै घरनजिकको मन्दिरमा विवाह भएको उनले बताइन् । त्यतिखेर तिमिल्सिनाले आफू टुहुरो भएको एवं आफ्नो जायजेथा केही पनि नभएको बताएका थिए ।

विवाह भएपश्चात ३÷४ महिना तिमिल्सिना विश्वकर्माकै घर (ससुराली)मा बसेका थिए । पछि उनीहरू काठमाडौँ स्थित हाडीगाउँमा कोठा भाडामा बस्दै आएका थिए । तर तिमिल्सिनाले पटक–पटक कोठा सारिरहने र आफूलाई काठमाडौँका भिन्न–भिन्न ठाउँमा सामान बोकाई पु¥याइरहने गरेको विश्वकर्मा बताउँछिन् । ‘मलाई उसको काम विशेषले यसो गरेको होला भन्ने लाग्थ्यो तर ऊ लुकिछिपी हिँड्ने गर्दोरहेछ । उसलाई धेरै थरी मानिसहरूले खोजिरहेका रहेछन्,’ विश्वकर्माले भनिन् ।

 

सानैदेखि नाचगानमा रुचि भएकी विश्वकर्मा विदेश यात्राका लागि उदयपुरदेखि काठमाडौँ आइपुगेकी थिइन् । विदेश जाने एजेन्टको खोजी गरिरहँदा उनको भेट ‘लक्षु मगर’ नामका एक व्यक्तिसँग भयो । उनै मगरको माध्यमले विश्वकर्माको भेट तिमिल्सिनासँग भएको थियो ।

‘उनले मलाई दुबई जान भिसा लगाइदिए । त्यसपछि फेरी दुबई राम्रो हुँदैन भनेर भिसा क्यान्सिल पनि गराए । म भर्खर सहर आएकी केटी, सोझी थिएँ । मेरै भलोको लागि भनेको होला भनेर चुप लागे’, विश्वकर्मा भन्छिन्,‘पछि उनले चाबहिलस्थित एक किताब पसलमा मलाई काम लगाइदिए । मासिक तलब नौ हजार रुपैयाँ थियो ।’

 

चाबहिलको कामपछि टेलरिङको काममा विश्वकर्मा लागिन् । यसपछि उनीहरूबिच भेटघाट बाक्लिँदै गयो । र, भेटघाटले विवाहको रूप लियो । ‘त्यतिबेला नोकियाको टुकटुके फोन थियो, फोटो खिचिएन । पछि विवाहको पोशाक र माला लगाएर फोटो खिच्यौँ भनेर कर गर्दा उसले मानेन । पटक–पटक भन्दा पनि उसले अनेक बहाना अघि सारेर टारिरहन्थ्यो,’ विश्वकर्मा भन्छिन् ।

पछिल्ला वर्षहरूमा हप्तामा दुई–चार दिन तिमिल्सिना कोठा छोडी हराउने गरेको विश्वकर्मा बताउँछिन् ।

 

 

‘हप्ताको दुई दिन जस्तो सधैँ हराउन थालेपछि मलाई शङ्का लाग्यो र खोज्दा–बुझ्दा थाहा भयो– ऊ विवाहित रहेछ । उसले मलाई फसाएको रहेछ । ऊ मेरो एटिएम कार्ड समेत लिएर भागेको थियो । पछि मैले कार्ड चाहिँ बन्द गराएँ । तर, मेरो लाखौँ रुपैयाँ ठगेर गयो ।’

विश्वकर्माले आफूले मानिसिक एवं शारीरिक दुर्व्यवहार भोग्दै आएकाले तिमिल्सिनामाथि कारवाहीको माग समेत गरेकी छन् । तिमिल्सिनाकी पहिलो पत्नि अस्मिता केसीबाट आफूमाथि जातिय गालीगलौज हुने गरेको समेत उनले बताइन् ।

केसीबाट ‘मेरो पोइलाई सुनपानी छर्केर चोख्याएँ’ जस्ता अत्यन्त तिरस्कारजन्य शब्दको प्रयोग गरेको अडियोमा नै सुन्न सकिन्छ । जुन अडिओमा केसीले विश्वकर्मामाथि बारम्बार जातीय लाञ्छना लगाएको सुनिन्छ । घटनाबारे प्रतिक्रिया लिन अस्मिताको नम्बरमा सम्पर्क गर्दा उनले आफ्ना पति तिमिल्सिना सम्पर्कमा नरहेको बताइन् । तर, उनलाई फोन गरेको केहीबेरमै आफूलाई हिमालय टेलिभिजनको पूर्वबरिष्ठ पत्रकार बताउने वाइपी घिमिरेले फोन गरे ।

आफू केसीको ससुराअंकल पर्ने बताउँदै उनले भने, ‘कुनै व्यक्तिले म सौता हू भन्दै फोन गरेपछि कसैले पनि ‘सौताजी बोल्नुभएको ओहो त पक्कै भन्दैन । यसमा अस्मिताको कुनै गल्ती छैन, रिसमा कसैले वेद पढ्दैन । गल्ती भए सुजनको होला ।’

 

 

 

 

सम्बन्धित खबर