सुरेन्द्र भण्डारीको ‘झूट’ पराजित : अदालतद्वारा विश्वकर्मासहित दियोपोस्ट डटकमलाई सफाई !

diyopost.com
दियो पोस्ट  मंगलबार, मंसिर ०७, २०७८ | २२:३३:४८

 

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले सञ्चार माध्यमको ‘आवाज बन्द गर्न’ गरेको ‘दुष्प्रयास’ असफल भएको छ ।

दियो मिडिया प्रा.लीद्वारा प्रकाशित दियोपोस्ट डटकमले लिखित गाली बेइज्जती गरेको भन्दै उनले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दा खारेज भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पुर्णेश्वर प्रसाद उपाध्यायको एकल इजलाशले भण्डारीले दायर गरेको मुद्दामा ‘दाबी नपुग्ने’ फैसला गरेको हो ।

दियो मिडिया ‘प्रतिवादी’को तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए । यता श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था ‘वादी’को तर्फबाट भने नेपाल बार एशोशिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बहस गरेका थिए ।
भण्डारीले लिखित गाली बेइज्जती गरेको भन्दै दियोपोस्ट डटकमसहित प्रधानसम्पादक तथा अध्यक्ष सुदीप विश्वकर्मा र संवाददाता विष्णु विश्वकर्मा विरुद्ध २०७६ भदौ १ गते मुद्दा दायर गरेका थिए ।

दियोपोस्ट डटकमले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले गायक रामकृष्ण ढकाल र अभिभावक संघका अध्यक्ष केशव पुरी लगायतलाई ‘ठगी गरेको’ भन्दै समाचार प्रकाशन गरेको थियो ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सहकारी भित्र गरेको हिनामिनाको समाचार समेत प्रमाण सहित प्रकाशन भएको थियो । समाचार प्रकाशित भएपछि प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो र राष्ट्र बैंक लगायत निकायले समेत छानबीन थालेको थियो । सत्ता र शक्तिको प्रभावमा छानबीन समेत प्रभावहिन हुँदै आएको थियो ।

दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मा

 

दियोपोस्टमा प्रकाशित समाचार हटाउन र समाचार रोक्न विभिन्न विचौलिया मार्फत भण्डारीले प्रयास गरेका थिए । उनले कतिपय ‘विचौलिया’ मार्फत ‘लेनदेन’को प्रस्ताव समेत पठाएका थिए । तर, दियोपोस्टले ‘समाचारको सौदाबाजी’ गर्नु अपराध हो भन्दै ती विचौलियाहरुले गरेको सबै प्रस्तावलाई अस्विकार गर्दै सहकारीबाट पीडित भएकाहरुले न्याय पाउनु पर्ने र संस्थागत सुशासनको सवाललाई प्राथामिकताको साथ निरन्तर उठाउँदै आएको थियो ।

भण्डारीले प्रेस काउन्सिल नेपाललाई समेत दुरुपयोग गरेर ‘गैरकानुनी पत्र काट्ने र इमेल नै गायब पार्ने’ गतिविधि गरेका थिए । दियोपोस्टले खण्डनलाई समेत स्थान दिए पनि काउन्सिलले ‘समाचार नलेख्न’ घुमाउरो पत्र नै काटेको थियो ।

काउन्सिलकै एक उच्च अधिकारीले समाचार हटाइदिन र बाँकी समाचार फलोअप नगरिदिन भन्दै दियोपोस्टका प्रधानसम्पादकलाई दबाव समेत दिएका थिए । उनीहरुको दबावका बाबजुत पनि दियोपोस्टले निरन्तर खबरदारी गरिहेको दियो । काउन्सिलले छलफल गराउने तयारी गर्र्दै गर्दा भण्डारीले २०७६ भदौ १ गते जिल्ला अदालत काठमाडौंमा लिखित गाली बेइज्जती गरेको भन्दै दियोपोस्ट विरुद्ध मुद्दा दायर गरेका थिए ।

 

२ वर्ष ३ महिनाको अवधिमा अधिवक्ता नेपालले दियोपोस्टको तर्फबाट पटक पटक बहस तथा पैरवी गरेका थिए । भण्डारीले दियोपोस्टमा प्रकाशित विभिन्न समाचारको शिर्षकसहित जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । ती सबै शिर्षकवाइज अधिवक्ता नेपालले कुशलतापूर्वक पैरवी गरेका थिए ।

 

 

 

सम्बन्धित खबर