वैदेशिक रोजगारीबाट फर्किएका दीपक भन्छन्,‘भारत र फिलिपिन्सबाट मजदुर ल्याएर काम लगाउनु परेको छ

diyopost.com
दियो पोस्ट  बुधबार, मंसिर ०८, २०७८ | १४:२२:२५

 

रीता बुढाथोकी

नेपालबाट दैनिक एक हजारदेखि १५ सय युवाहरु रोजगारीको खोजि गर्दै बिदेश जाने गर्छन । अर्थात करिव ५ लाख युवाहरु वर्षेनी रोजगारीको क्रममा विदेश जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।
तर, बिदेशमा नेपाली युवाहरु श्रम मात्रै गर्दैनन्, सीप सिप सिकेर दक्ष बनेर स्वदेश फर्किएका पनि छन् । लामो समय वैदेशिक रोजगारीमा दुबई पुगेर श्रमसंगै सीप र पढाई पुरा गरेर नेपाल फर्किएका एक पात्र हुन्– दीपक लामिछाने ।
त्यहाँ उनले पैसा मात्र कमाएनन्, सीप सिकेर दक्ष समेत बने । योसंगै उनले बाँकी पढाई पनि दुबईमै पुरा गरे । पढाई पुरा गरिसकेपछि उनले मनमा दृढ आत्मबिस्वास र हातमा पढाई पुरा गरेको सर्टिफिकेट बोकेर नेपाल फर्किए । यतीबेला उनले नेपालमै “हिमालयन सेफ्टी सोलुसन प्रा.लि” नामक कम्पनी सञ्चालनमा ल्याएका छन् । व्यावसायीक सुरक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा उनको कम्पनिले काम गर्छ । यस कम्पनीले सबै क्षेत्रमा कार्यरत मजदुरहरुकोे सुरक्षा सम्बन्धी तालिम संचालन गर्ने गर्दछ । उनै लामिछानेसँग व्यावसायीक जीवन र वैदेशिक रोजगारीको अनुभूतिबारे दियोपोस्टले गरेको अन्तर्वार्ताको पूर्णपाठ । 

 

वैदेशिक रोजगारीबाट नेपाल फर्किएपछि के गर्दै हुनुहुन्छ ?

हिमालयन सेफ्टी सोलुसन प्राईभेट लिमिटेड नामक कम्पनी दर्ता गरि यसलाई अगाडी बढाउने प्रक्रियामा छु । हाम्रो कम्पनीले नेपालमा व्यावसायीक स्वास्थ्य, सुरक्षा र वातावरणको क्षेत्रमा काम गर्छ । कम्पनीद्वारा सबैभन्दा पहिले मान्छे बाँच्नुपर्छ भन्ने कुरालाई प्रमोट गर्नका लागि हामी क्रियाशिल छौँ । नेपालमा सन् २०१५ को भुकम्प र कोभिड १९ पछि स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता हो भन्ने कुरा आम मानिसलाई महसुस भएको छ । यसलाई प्रवद्र्धन गर्दैछौँ ।
तपाईंको कम्पनिबारे बताइदिनुस् न ।

यो नितान्त नीजि कम्पनी हो । हामीले व्यावसायजन्य सुरक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका छौँ । व्यावसायजन्य स्वास्थ्य र सुरक्षा जो नेपालको श्रम ऐन २०७४ को खण्ड १२ मा पनि हरेक कम्पनीहरुले आफ्ना कामदारहरुको स्वास्थ्य र सुरक्षाको लागि ब्यवस्थापन गर्नु पर्छ भन्ने कुरा उल्लेख गरिएको छ । आफुले काम गरेको संस्था तथा कम्पनिमा आफ्नो स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी छ कि छैन भनेर प्रश्न गर्नुु कामदारहरुको अधिकार पनि हो । जुनसुकै स्थानमा कार्यरत श्रमिकहरुले स्वस्थ र सुरक्षित ढंगले काम गर्न पाउनुपर्छ । यही शिलशिलामा नेपालमा स्वास्थ्य र सुरक्षालाई प्रवद्र्धन गर्ने अवस्था नभएकाले हामीले यसलाई कम्पनी मार्फत प्रवद्र्धन गर्न खोजेका हौँ ।

एउटा कम्पनी पनि आफ्ना कामदारको स्वस्थ्य र सुरक्षा चाहान्छ, सरकार पनि आफ्ना कर्मचारीको स्वास्थ्य र सुरक्षा चाहान्छ । कामदार पनि आफुले काम गर्ने ठाउँमा स्वस्थ र सुरक्षित हुनुपर्छ । काम गर्दा कुनै दुर्घटना हुनु हुनुहुँदैन । वास्तवमा स्वास्थ्य र सुरक्षा त सबै क्षेत्रमा आवश्यक कुरा हो नि । यसैकारण यति महत्वपूर्ण कुरालाई नेपालमा किन प्रवद्र्धन नगर्ने त ? भन्ने उद्धेश्यले हामीले यो कम्पनी बिस्तार गरेका हौँ । हामीले स्वस्थ्य र सुरक्षा सम्बन्धी योग्यता प्रदान गर्छौँ । र बिभिन्न कम्पनीहरुका लागि चाहिने रोजगारीसंग सम्बन्धित तालिमहरु पनि प्रदान गर्छौँ । र व्यावसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि बिभिन्न संसाधनहरु पनि उपलब्ध गराउँछौँ । साथै नेपाल सरकारको नियम अनुसार हरेक कम्पनीहरुले आफ्नो व्यावसायीक प्रयोजनका लागि स्वस्थ्य र सुरक्षा सम्बन्धि अडिट गर्नु पर्ने हुन्छ । हामी त्यो पनि गर्छौँ । र हामीले प्रमाणपत्र र व्यवस्थापनको काम पनि गरिरहेका छौँ ।

नेपालमा यस्तो प्रकारको कम्पनि खोल्ने सोच कहाँबाट आयो ?

म जतिबेला बैदेशिक रोजगारीको शिलशिलामा दुवई थिएँ । त्यतिबेला व्यावसायजन्य स्वास्थ्य र सुरक्षा के हो भन्ने कुराको जानकारी पनि थिएन । विदेशमा काम गर्दै गर्दा मलाई महसुस भयो । त्यसपछि मैले बिदेशमै “पेशागत सुरक्षा तथा स्वास्थ्य” बिषयमा अध्ययन सुरु गरेँ । र यही बिषयमा स्नाताक पुरा गरि बिदेशमै यही क्षेत्रमा काम गर्ने मौका पाएँ । र बिभिन्न देशहरुले आफ्नो देशमा काम गर्ने कामदारको स्वस्थ्य र सुरक्षाका लागि त्यही अनुसारको नीति र कार्यक्रम नै बनाउने रहेछन् । कामदारको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमितामा राखेको देखेपछि मेरो देशमा पनि यही लागु गर्न पाए हुन्थ्यो भन्ने मलाई लागिरहेको थियो । त्यसकालागि मैले नेपाल फर्केपछि त्यो बारेमा बुझ्ने कोशिस पनि गरेँ । स्वास्थ्य र सुरक्षाको सवाललाई प्रवद्र्धन गर्ने संस्थाहरुको कमी भएको पाएँ । यही शिलशिलामा मैले बिदेशमा सिकेको सिप अब नेपालमा पनि लागु गर्नु पर्छ भनेर सोँच बनाएँ । नेपालमा स्वस्थ्य र सुरक्षालाई प्रवद्र्धन गर्नुका साथै यसको आवश्यकता महसुस गराउने र यसको संरक्षणको पनि आवश्यकता छ भन्ने महसुस भइरहेको थियो । त्यसका लागि संबन्धित क्षेत्रका बिशेषज्ञको आश्यकता पनि महसुस गरेको थिएँ । म बेलाबेलामा नेपाल आउँदा पनि त्यसको संभावनाको अध्ययन पनि गरेको थिएँ । नेपालमा यसलाई लागु गर्न सकिन्छ भन्ने लागेर बिदेशको काम छोडेर म स्वदेश फर्किएको हुँ ।

नेपालमा अध्ययन पुरा गरेर विदेश जाने युवाहरु पनि छन् उनीहरुलाई के भन्नुहुुन्छ ?

यो जल्दोबल्दो समस्या हो । अन्तर्राष्ट्रिय श्रम बजारको माग र नेपाली युवाहरुको प्रतिस्पर्धाको स्तरमा अत्यन्तै ठूलो अन्तर छ । नेपालबाट १२ कक्षा उत्तिर्ण गरेपछि विदेश जाने लहर चलेको छ । त्यतिमात्र होइन, स्नातक तथा स्नाकोत्तर गरेका साथीहरु पनि बिदेश जानुहुन्छ । त्यहाँ उहाँहरुले भनेजस्तो काम पाउनुहुन्न । किनकी नेपालमा त्यो खालको माग नै आउँदैन । नेपालबाट साधारण तरिकाले अर्ध सीप र सामान्य कामदारको मात्र माग हुनेगर्छ । तर ‘स्किलपर्शन’को माग नआएको अवस्थामा नेपालबाट त्यो लेभलमा जाने मान्छेहरु पाउन पनि मुस्किल हुन्छ ।

मैले बारम्बार भनिरहने एउटा मात्र कुरा के हो भने, त्यही कम्पनिमा एउटा भारतीय, अथवा फिलिपिनो या अन्य देशका नागरिकहरु उच्च तहमा पुगेर काम गरिरहेको अवस्थामा नेपालीहरु सधै कम स्तर र कम पारिश्रमिकमा काम गर्नु परेको स्थिति छ । अन्तर्राष्ट्रिय बजारको माग र हाम्रो देशको युवाको क्षमतामा ठूलो अन्तर छ ।

भारतले एउटा उच्च क्षमता भएको मान्छेलाई पठाउन सक्छ भने नेपालले पनि पठाउन सक्छ नी । तर, अन्तर्राष्ट्रिय बजारले चाहेको जनशक्ति आपूर्ति गर्न राज्यले ध्यान दिनुपर्छ । बिदेश जाने युवाहरु पनि आफु कुन कामका लागि योग्य छु र आफुसंग कस्तो खालको सीप छ भन्ने कुरालाई ध्यानमा राखेर बिदेश जाँदा राम्रो तलव र सुबिधा पाउँछन् । आखिर विदेश जाने नै हो भने हामीले अन्तर्राष्ट्रिय बजारको अध्ययन गरेर त्यो लेबलको क्षमता र सीप हासिल गरेर जानुपर्छ । विदेशमा पैसा फल्छ भन्ने मानसिकता चिर्नुपर्छ ।

 

नेपालमा रोजगारीको संभावना नहुनाले पनि दक्ष जनशक्ति बाहिर गएका होइनन् र ?

मलाई त्यस्तो लाग्दैन । उदाहरणका लागि मैले मेरो कम्पनीमा सक्षम र सीप भएको मान्छे राख्न खोज्दा भने जस्तो काम गर्ने मान्छे नपाएको अवस्था छ । मेरो चाहना अनुरुप काम गर्न सक्ने मान्छे बजारमा नपाएको महसुस मैले गरेको छु । धेरै बेरोजगार साथीहरुले अन्तर्वार्ताका लागि वायोडाटा पठाउनुहुन्छ । तर, मेरो कम्पनीको अवश्यकता अनुरुप काम गर्ने मान्छे भेट्न मुस्किल हुन्छ । धेरै कम्पनीहरुले स्वास्थ्य र सुरक्षाको क्षेत्रमा काम गर्ने मान्छे खोजेको छ । जस्तो, हाइड्रोपावर, कन्स्ट्रक्सन कम्पनी तथा बिभिन्न उद्योगहरुमा काम गर्ने श्रमिकको माग हुने गर्छ । उनीहरुले स्वास्थ्य र सुरक्षाको क्षेत्रमा काम गर्ने मान्छे नपाएर भारतबाट फिलिपिन्सबाट श्रमिक ल्याउनु परेको अवस्था छ । तर त्यही श्रमिक नेपालमै उत्पादन हुने हो भने, अन्य देशबाट श्रमिकहरु भाडामा ल्याउनु पर्दैन ।

नेपालमा रोजगारीको अवसर छ । तर, त्यो रोजगारीको अवरसरलाई प्राप्त गर्नका लागि हामी आफै पनि सक्षम हुनु पर्छ । सबै भन्दा महत्वपूर्ण कुरा सिप हो । हामी ३० देखि ४० हजार तलवमा काम गर्न अप्ठ्यारो मान्छौ । तर, यही तलवमा भारतका कामदारहरुले जिबिकोपार्जन गरिरहेका छन् । ३०/४० हजार रुपैँया कमाउनकै लागि म्यापावरमार्फत, दलाल मार्फत लाखौँ पैसा तिरेर युवाहरु बिदेश जान्छन् । तर, त्यो लगानी नेपालमै लगानी गर्ने हो भने यहीँ कमाउन सकिन्छ । तर हामीले त्यता पट्टी सोँच्दैनौ । हामीले सहजरुपमा कमाई हुने बाटो मात्र खोज्छौँ ।

म पैसा कमाउन विदेशिएको मान्छे । बिदेशमा राम्रो सेवा र सुबिधा छाडेर आएको छु । यहाँको संभावना र अवसरलाई चिन्न नसकेर कैयौँ युवाहरु बिदेशिएका छन् ।

आम युवालाई नेपालमै रोजगारी दिने वातावरण कसरी बनाउन सकिन्छ ?

हरेक कम्पनीहरुले आफ्नो कामदार स्वस्थ्य र सुरक्षाका बिषयमा जानेका बुझेका राख्नु पर्छ । तर, नेपालको सन्दर्भमा त्यस्तो छैन । नेपाल प्रारम्भिक बिकास निर्माणको चरणमा छ । धेरै कम्पनीहरु क्रियाशिल छन् । बिदेशी लगानीबाट संचालित परियोजनाहरुले त हेल्थ र सेफ्टीको व्यावसायीकता राख्ने गर्छ । म आफ्नै कुरा गर्न चाहान्छु । यदी साँच्चै हामीसंग दक्ष श्रमिक छन् अर्थात ‘हेल्थ र सेफ्टी पढेको र बुझेको मान्छे छन् भने यहाँ हजारौँको रोजगारीको अबसर सिर्जना हुनसक्छ । तर, त्यसका लागि हामीले के गर्नुपर्छ भनेर त्यसको बारेमा रिसर्च गरेर आफुले आफैलाई त्यो स्तरको क्षमता बिकास चाँही गर्नुपर्छ । अर्को कुरा, बिदेश जान चाहानुहुन्छ भने पनि जानुस् । तर आफुले अन्तर्राष्ट्रिय श्रम बजारमा राम्रो स्तरमा काम गर्नका लागि आफुसंग कस्तो क्षमता आवश्यक पर्छ भनेर रिसर्च गरेर त्यही अनुसार क्षमता बिकास गरेर जानुस् । किनकी हामीले २÷४ लाख रुपैयाँ पैसा कमाउनु मात्र ठूलो कुरा होइन । तपाईको आफ्नो करियरको कुरा पनि महत्वपूर्ण हुन्छ ।

तपाईको आफ्नो परिचयको कुरा पनि छ । बिदेश जानुस, आफुले सीप आर्जन गर्नुस् । बिदेशमा आर्जन गरेको सीप नेपालमा प्रयोग गर्नुस् । बिदेशमा पैसा कमाएर आउनुस् । त्यहाँ कमाएको पैसा नेपालमा उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुस् । र अरु साथीहरुलाइ पनि रोजगारीको अबसर सिर्जना गरिदिनुस् । त्यसले नेपालको बेरोजगारी समस्या पनि एक हदसम्म हल हुन्छ ।

तपाईंको कम्पनिले कस्तो जनशक्ति परिचालन गर्छ ?

यो कम्पनी एकदमै नयाँ र नौलो जस्तो पनि लाग्न सक्छ । तर, नेपाल भन्दा बाहिर हरेक देशहरुले स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकता दिँदा नेपालमा यसको अभ्यास नै भएको थिएन । यसरी हेर्दा पनि हामी कहाँ छौँ भन्ने कुराको पुष्टि हुन्छ । अहिले मैले नेपालमै आफ्नो भबिष्य खोजिरहनु भएका साथीहरुलाई अन्तर्राष्ट्रिय स्तरको योग्यता हासिल गर्नका लागि पहल गरिरहेको छु । हामीले नेपाल र अन्तर्राष्ट्रिय श्रम बजारमा राम्रो स्तरको सेवा सुबिधामा काम गर्ने वातावरण बनाउने प्रयास गरिरहेका छौँ । जो ब्यक्ति बैदेशिक रोजगारमा जान खोज्दै हुनु हुन्छ, उहाँहरु खाडीमा जानु भयो ५०÷६० हजार, कोरियामा जानु भयो एक÷डेड लाख, कमाउनु हुन्छ । मैले पढाएका बिद्यार्थीहरु जम्मा ६ महिने कोर्श पुरा गरेपछि मध्यस्थमै एक÷डेड लाख कमाइरहनु भएको छ । नेपाल भित्रै पनि कम्तीमा प्लस टु पास गरेका साथीहरु अर्थात इन्जिनियरिगं गरेका साथीहरुले बिभिन्न कम्पनीमा राम्रो स्तरको तलवमा काम गरिरहनु भएको छ ।

हामीले गर्ने काम भनेको युवाहरुलाई अन्तर्राष्ट्रिय बजार र नेपाली बजार अनुसार योग्य बनाउने र उनीहरुलाई उपयुक्त स्थान दिने हो । त्यससंगैै हामीले स्वास्थ्यलाई पनि प्रमुख प्राथमिकतामा राखेका छौँ । हाम्रो सानो सहयोगले कसैको जीवन बाँच्छ भने, त्यो काम किन नगर्ने त ? भन्ने हिसावले कम्पनीहरुलाई हेल्थ र सेफ्टीको पोलिसी बनाइदिने, तालिम प्रदान गर्ने काम नै हाम्रो मुख्य काम हो ।

 

मैले भर्खर मात्र एउटा प्रोजेक्ट बिस्तार गरेको छु । जुन प्रोजेक्टमा ६ महिनादेखि १ वर्षको अबधिमा ३ सयदेखि ५ सय जना सेफ्टी अफिसरहरु नेपालमा उत्पादन गर्ने योजना अनुसार हामीले भर्ना पनि लिइरहेका छौँ । नेपाल भरिका इन्जिनियरिङ्ग पढेका साथीहरु, म्यानेजमेन्टमा डिग्री गरेका साथीहरु जो नेपालमै आफ्नो करिअर बनाउन चाहानुहुन्छ, उहाँहरुलाई कम्तीमा ३ महिनाको सेफ्टी अफिसरको कोर्ष छ, जुन अन्तर्राष्ट्रिय सम्वन्धन प्राप्त कोर्ष हो । त्यो हामीले प्रदान गर्छौँ ।

जो साथीहरु इन्जिनियरिङ्ग र म्यानेजमेन्टमा डिग्री गरेर पनि जागिर पाउनु भएको छैन र कामको खोजीमा हुनुहुन्छ भने उहाँहरु हामीसंग जोडिन सक्नु हुन्छ । हामी उहाँहरुलाई तालिमद्वारा योग्य बनाउँछौँ र काम पनि दिलाउँछाँै ।

तपाईंको कम्पनिबाट कति जनाले लाभ लिए ?

 

हाम्रो कम्पनी सन् २०१८ मा स्थापना भएको हो । स्थापना भएयता लगभग २ सय जना भन्दा बढी बिद्यार्थीले हामीकहाँ तालिम लिनुभयो । ति तालिम प्राप्त ५० प्रतिशत बिद्यार्थीहरु पास हुनु भएको थियो । उहाँहरु नेपाल भित्र र नेपाल बाहिर राम्रो रोजगारीमा हुनुहुन्छ । यहाँ पढ्ने मात्र होइन । हेल्थ र सेफ्टीको योग्यता बिदेशबाट लिएर नेपालमा बस्दै आउनु भएका साथीहरुलाई पनि हामीले समेटेका छाँै र उहाँहरुलाई हामीले रोजगारीको अबसर दिइरहेका छाँै । हेल्थ र सेफ्टीको बारेमा पढेको र त्यसको ज्ञान भएको कोही साथीहरु हुनुहुन्छ भने पनि हामीसंग सम्पर्क गर्न सक्नु हुन्छ । हामी तपाईलाई रोजगारीको अबसर दिन्छौँ ।

 

नेपालमा शैक्षिक बेरोजगारी बढ्दो छ । त्यसको मुख्य कारण प्राबिधिक तथा सीप मुलक शिक्षाको कमी पनि हो पनि भन्ने गरिन्छ । यसको समाधान कसरी हुन्छ ?

नेपालमा स्नातकोत्तर गरेका बिद्यार्थीहरु समेत बेरोजगार हुनुहुन्छ । उहाँहरुले कम लेभलको काम गर्नु भएको छ । नेपालमा १५/२० हजार रुपैयाँको जागिर पाउन समेत मुस्किल भएको छ । तर, एउटा ड्राइभरले नेपालमै ५० हजार कमाउँछन् । एकजना डोजर अपरेटरले महिनाको एक लाख रुपैयाँ कमाउँछन् । यस्तै टेक्निकल बिषय पढेको इलेक्ट्रिसियन तथा प्लम्बरले राम्रो आम्दानी गर्छन् । र यहाँ सेफ्टीकै कुरा गर्ने हो भने पनि मसंग हेल्थ र सेफ्टीको तालिम लिएका साथीहरुले कम्तीमा महिनाको ५० हजार रुपैयाँ भन्दा माथि कमाउनु भएको छ ।

रोजगारीको बजारमा आफुसंग के हुनुपर्छ भनेर एक किसिमको व्यावसायीक योग्यता पनि आबश्यक हुन्छ । एक ब्यक्तिले आफ्नो करियर अगाडी बढाउनका लागि ३ वटा कुराका अनिवार्य आबश्यकता हुन्छ । त्यो हो – शैक्षिक योग्यता, व्यावसायीक योग्यता र अनुभव । यि तिनै कुरा हासिल गरेको खण्डमा चाहे अनुसारका काम पाउन मुस्किल छैन । मैले एउटा उदाहरण पनि पेश गर्न चाहान्छु, एकजना बिदेशबाट आउनु भएको साथीले सेफ्टी अफिसरको ३ महिनाको तालिम लिनु भएको थियो । उहाँले तीन महिनाको तालिम गरेको भरमा साउदी अरबको एउटा कम्पनीमा १ लाख ५० हजार भन्दा बढी तलबमा काम पाउनु भयो । तर, एकजना प्लस टु गरेको बिद्यार्थीले त्यति तलव पाउनु भएन ।

क्वालिफिकेशन चाहिन्छ । तर आफुले हासिल गरेको डिग्रीसंगसंगै व्यावसायीक योग्यता पनि जोड्यो भने काम पाउन कुनै समस्या छैन । त्यसकारण शैक्षिक योग्यता संगसंगै जागिरसँग सम्बन्धित व्यावसायीक योग्यतालाई पनि हासिल गर्नु पर्छ । अहिलेको समय भनेको विश्वव्यापीकरणको हो । हामीले बिश्वका जुनसुकै देशले पनि मान्यता दिने खालको योग्यता हासिल गर्न सक्नु पर्छ । जुन हामी दिन्छाँै । अहिले नै हामीले कम्तीमा ३० जनालाई प्रत्यक्ष रोजगारी दिइसकेका छौँ । हामीसंग जोडिएर सीपसंगै कामको अबसर खोजिरहनु भएको छ भने हामी यो खालको सुबिधा प्रदान गर्न सक्छौँ ।

 

सम्बन्धित खबर