हुलाकी राजमार्गले हचुवामा सडक विस्तार गरेको खुलाशा, अदालतको आदेश समेत खुलमखुल्ला अवज्ञा

diyopost.com
दियो पोस्ट  आइतबार, मंसिर १२, २०७८ | २३:३६:५५

सर्लाही । हुलाकी राजमार्गले हचुवाको भरमा सडक विस्तार गर्दा सर्लाही हरिपुर्वा नगरपालिका वडा नम्बर २ का बच्चु साहसहित तीन परिवार घरबार विहिन हुने भएका छन् ।

नगरप्रमुख सियाराम रायसहित उच्च राजनीतिक घरानाको मिलेमतोमा साहको घर तोडफोड गरेको खुलाशा भएको छ ।

हुलाकी राजमार्ग कार्यालयले पीडितको घर भत्काउनकै लागि सडक मापदण्ड अनुसार दुवै तर्फको बाटो विस्तार गर्नुको सट्टा साहसहित तीन परिवारको घर तोडफोड गरेको उनीहरुको दाबी छ । पीडितहरुले उच्च अदालत जनकपुरमा समेत मुद्दा दायर गरेका थिए । उच्च अदालत जनकपुरले दुवै तर्फ बराबर हुनेगरि बाटो विस्तार गर्न तथा पीडित परिवारको मात्रै घर भत्काएर बाटो विस्तार नगर्न अन्तरिम आदेश दिएको थियो ।

उच्च अदालतको आदेशलाई समेत अवहेलना गर्दै हुलाकी राजमार्ग आयोजना कार्यालयले गत अशोज २२ गते इन्जिनियरको टोली पुन पठाएको थियो ।

इन्जिनियर रञ्जित राय यादव र विशेश्वर रायले गाली बेइज्जती गर्दै घर एकतर्फी रुपमा घर तोडफोडमा उत्रिएको पीडितले बताए । जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारले दिएको शान्ति सुरक्षाको निवेदनमा आफूमाथि हातपात समेत भएको बच्चु शाहले बताएका छन् ।

पीडितमाथि एकतर्फी दमन गर्नका लागि जनता समाजवादी पार्टीका एक सांसदको समेत समलग्नता रहेको उनीहरुले बताएका छन् । हुलाकी राजमार्गले सडक मापदण्ड विपरित स्थानिय जलाधरी साह, जबाहर साह र गगनदेव साहको घर भत्काउने कोशिस गरेको छ ।

उनीहरुले दायर गरेको मुद्दामा उच्च अदालत जनकपुरका न्यायाधीशहरु माधव प्रसाद पोखरेल र राजेश्वर तिवारीको संयुक्त इजलाशले पीडितहरुको घर रहेको कित्ता नबर ५९, ४९, ६३, ८४,४८ र ३० को जग्गा र सोमा पर्ने घर समेतमा पर्ने गरि कुनै किसिमको निर्माण कार्य नगर्नु र नगराउनु र घर नभत्काउनु भनि अन्तरिम आदेश जारी गरेको थियो ।

तर मेयर सहित हुलाकी राजमार्गका कर्मचारीले प्रतिशोधकै लागि पीडितहरुको घर भत्काउन पटक पटक कोशिस गरेको प्राप्त भिडियोमा समेत देख्न सकिन्छ । त्यति मात्रै होइन अदालतको फैसला कार्यन्वयनका लागि जिल्ला प्रशासन कार्यालयले पठाएको पत्र समेत रद्दीको टोकरीमा हालिएको छ ।

जिल्लिा प्रशासन कार्यालयले असोज ११ गते आयोजना कार्यालय, नगरपालिका सहित विभिन्न निकायलाई अदालतको आदेश कार्यान्वयनका लागि पत्राचार गरेको थियो । तर प्रशासन कार्यालयको पत्रलाई समेत अवज्ञा गरिएको छ ।

सम्बन्धित खबर