बैतडी हत्या प्रकरणः आरोपी सशस्त्र प्रहरी जवान कोली कञ्चनपुरबाट पक्राउ

दियो पोस्ट  

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ की माया लुहारको हत्याका आरोपी सशस्त्र प्रहरी जवान भरत कोली पक्राउ परेका छन्। कोली आइतबार बिहान कञ्चनपुरबाट पक्राउ परेका हुन्।

महेन्द्रनगरको बसपार्कमा हिँडिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको हो। उनलाई आजै बैतडीलाई लैजान लागिएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक भोलाप्रसाद रावलले जानकारी दिए।

गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो।

२१ वर्षकी माया गत मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा म्यादी प्रहरीका रूपमा चुनावमा खटिएकी थिइन्। उनी शिवनाथ गाउँपालिका वडा नम्बर ४ को मतदान केन्द्रमा खटिएकी थिइन्।