माया लुहार हत्या प्रकरण : शिवनाथ मन्दिरमा भेट्न बोलाएर सशस्त्रका कोलीले यसरी गरे मायाको ‘हत्या’

दियो पोस्ट  

काठमाडौं । गत मंसिर १४ गते बैतडी जिल्लाको पञ्जेश्वर गाउँपालिका-४ की २१ वर्षीया माया लुहारको मृत्यु भयो । म्यादी प्रहरी समेत रहेकी लुहारको घाँटीमा धारिलो हतियारले रेटेर हत्या भएको थियो । उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते छिन् । उनको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते नेहाको बयान लिएको थियो । उनकै बयानका आधारमा आईतबार सशस्त्र प्रहरी बलका एक जवानलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतराम कोली छन् । उनी हाल कास्कीमा कार्यरत छन् । प्रहरीका अनुसार आरोपित कोलीलाई कञ्चनपुरबाट पक्राउ गरिएको हो । उनी यही मंसिर ७ गते घर बिदामा बैतडी गएका थिए ।अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार कोली र माया छिमेकी हुन् । उनीहरूबीच प्रेम सम्बन्ध थियो । माया र नेहा गएको मंगलबार बिहान करिब १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३, कुलाउमा लुगा सिलाउन भनी गएका थिए । तर, सशस्त्र प्रहरी जवानसँग भेटघाट गर्न उनीहरू शिवनाथ मन्दिर पुगेका थिए । त्यहाँ भेट्न कोलीले नै बोलाएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । “दुई दिन पहिल्यै कोलीले मायाको मोबाइल खोसेर लगेका रहेछन् । मायासँग अर्को मोबाइल थियो । उनले भेट्न बोलाए । माया साथीसँगै गइन्,” एक प्रहरीले भने, “शिवनाथ पुगेपछि माया र कोली केही पर गए भने उनकी साथी मन्दिरमै बसिन् । एक घण्टापछि आएका कोलीसँग माया नदेखेपछि नेहाले सोधेपछि उनीमाथि समेत छुरा प्रहार भएको रहेछ ।”

लुगा सिलाउन भनेर हिँडेकी उनी घर नफर्किएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । खोजी गर्दै जाँदा बुधबार बेलुका माया मृत अवस्थामा फेला परेकी थिइन् । नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । प्रेम सम्बन्धमा आएको अविश्वास र तिक्तताले घटना हत्यासम्म पुगेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।