भारतीय गृहमन्त्रीका ‘पिए’को समाचार लेखेको भन्दै दियोपोस्टमा लगातार धम्की : ‘समाचार नहटाए सिद्ध्याउँछु ’

दियो पोस्ट  

 

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहका पिएलाई नेपालको संसद बनाउने तयारीका बारेमा प्रकाशित समाचारलाई लिएर विभिन्न समुहले धम्की दिन थालेको छ । ‘नेपालको सांसद छिर्ने तयारीमा भारतीय गृहमन्त्री अमित शाहका ‘संदिग्ध’ ‘पिए’ सन्दिप राना ’ शिर्षकमा समाचार प्रकाशित समाचारलाई लिएर भारतीय गृहमन्त्रीका पिए बताउने सन्दिप रानाले विभिन्न व्यक्ति मार्फत धम्की दिएका हुन् ।

उक्त समाचार प्रकाशन भएयता दियोपोस्टका संवाददातालाई दर्जनौ व्यक्तिले धम्की दिएका छन् । समाचार प्रकाशन भएको एक दिन वित्दा नवित्दै आइतबार विहान देखि नै दियोपोस्टका संवाददाताई विभिन्न व्यक्तिहरुले टेलिफोन मार्फत ज्यान लिने सम्मको धम्की दिएका छन् ।

आईतबार विहान पाँच बजे ९८५७०…१९२ नंबरबाट दियोपोस्टकर्मीलाई पहिलो धम्की आएको थियो । ‘समाचार हटाउने भए हटा, होइन भने देख्लास्,’ उक्त नंबरमार्फत फोन गर्ने व्यक्तिले भने,‘के गर्नुपर्छ जान्या छु ।’ तर धम्की दिने व्यक्तिले आफ्नो पहिचान भने खुलाएनन् ।

त्यस्तै पहिलो धम्कि दिए लगत्तै आज विहान ८ बजे ९८०७४…२०८ बाट पाल्पा तरुण दलको जिल्ला अध्यक्ष भएको परिचय दिदैँ समाचार नहटाए ठिक हुँदैन भन्दै दोस्रो धम्की दिए । उनले आफुलाई पाल्पा जिल्लाको तरुण दलका अध्यक्ष भएको बताएपनि आफ्नो नाम भने खुलाएनन् ।

त्यसलगत्तै निरन्तर रुपमा ९८४७४…४३ नंबरबाट दियोपोस्टकर्मीलाई अर्को धम्की आयो । ‘तलाई यो समाचार कसले दियो ? त्यो समाचार हटाउने भए हटा होइन भने त सिद्दिस्,’ ती व्यक्तिको धम्की थियो । उक्त नंबर सविन गौतमको नाममा दर्ता रहेको खुलेको छ । ९८४७२…५७, ९८६४०…७९९, ९८४७४…७९३, ९८६७२…९३१, ९८५७०..५२६ र ९८५७०..१९२ लगायतका नंबरहरु मार्फत लगातार फोन आएको थियो । उक्त नंबरहरुबाट एकै प्रकारका धम्की मात्रै आएको थियो ।

धम्की मार्फत उनिहरुले समाचार हटाउन दबाब दिएका छन् । समाचार नहटाए दियोपोस्टमा काम गर्ने जो कोहीलाई पनि सिध्याउने धम्की उनीहरुको छ । तर दियोपोस्टका संवाददाताले भने सम्पर्क गर्ने सबैजनालाई समाचार चित्त नबुझे पहिले सम्बन्धित मिडियामा खण्डन गर्नुपर्ने त्यसमा पनि चित्त नबुझे प्रेस काउन्सिल मार्फत कानुनी उपचारमा जान सुझाव दिएका थिए ।