काठमाडौं । निर्माण सम्पन्न भएर परिक्षण उडानको क्रममा रहेको पोखरा क्षेत्रिय विमानस्थलको लागत ‘अस्वभाविक’ देखिएको छ ।
चिनको एक्जिम बैंकबाट ऋण सहयोगमा निर्माण भएको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलका लागि २ सय २४ मिलियन अर्थात २२ अर्बभन्दा बढी लागत भएको छ । तर, त्यो भन्दा ठूलो विमानस्थल चीनमै तीन गुणा कम रकममा निर्माण भएको पाइएको हो ।
चीनको गान्सु प्रान्तमा निर्माण भएको जिन चुवान विमानस्थल जम्मा ५५ मिलियन अमेरिकी डलर मा अर्थात आजको नपाली डलर भाउ अनुसार ७ अर्ब रुपैयाँमै निर्माण भएको थियो । तर, नेपालमा भने २ सय २४ मिलियन अमेरिकी डलर अर्थात २२ अर्ब रुपैयाँ खर्च गरेर पोखरा क्षत्रिय विमानस्थल निर्माण गरिएको छ । जबकी विमानस्थल निर्माणमा कामै नगर्ने आइपिपिआर लगायत विभिन्न कम्पनिलाई कन्सल्ट्यान्टको रुपमा नियुक्त गरेर २५ औँ करोड रुपैयाँ नेपाल सरकारले भुक्तानी गरिरहेको छ ।
पोखरा विमानस्थल निर्माणमै कार्यरत एक सुपरभाइजरका अनुसार चिनमा निर्माण भएको जिन चुवान विमानस्थलको टर्मिनल बिल्डिङ ४ हजार वर्गमिटर छ । रन वे ३ हजार वर्ग मिटर रहेको छ । सन् २०११ मा निर्माण सम्पन्न भइसकेको यो विमानस्थलमा एयरबस ३३० नामक जहाजका लागि समेत अनुकुल छ ।
पोखरामा निर्माण सम्पन्नको चरणमा रहेको पोखरा क्षेत्रिय विमानस्थलको टर्मिनल बिल्डिङ १२ हजार वर्ग मिटरको छ । त्यस्तै रन वे २५ सय वर्गमिटर रहेको छ ।
निर्माण सम्पन्न भएर परिक्षण उडानको क्रममा रहेको विमानस्थल निर्माणको ठेक्का चिनिया कम्पनि सिएएमसीईले पाएको थियो । उक्त ठेक्काको अनुगमन तथा सुपरभिजनका लागि चिनिया वाणिज्य मन्त्रालयले चाइना आईपिपिआर ईन्टरनेश्नल ईन्जिनरिङ कर्पोरेशनलाई नियुक्त गरेको थियो । ‘सहायक कम्पनिले आफ्नो मूल कम्पनिमाथि निगरानी र सपरिवेक्षण नै गर्न नसक्ने सो क्षेत्रका विज्ञहरु बताउँछन् ।
पोखरा क्षेत्रिय विमानस्थलको लागत अनुमान बृद्धि गराउन हालका नागरिक उडयन प्राधिकरणका प्रमुख रहेका प्रदिप अधिकारीको मूख्य भूमिका रहेको छ ।
लागत अनुमानमा अस्वभाविक चलखेल
तत्कालिन नागरिक उडयनका सहायक महानिर्देशक सुमन कुमार श्रेष्ठसहितको नेतृत्वले सन् २०१३ मा पोखरा क्षत्रिय विमानस्थलको निर्माण लागत जम्मा १ सय ७६ मिलियन युएस डलर तय गरेको थियो । प्रति वर्ष १० लाख यात्रुलाई धान्न सक्ने उनीसहितको समुहको निष्कर्ष थियो । यता चाइना विमानस्थल निर्माण कम्पनि (सिएसीसी)ले पोखरा विमानस्थल निर्माणका लागि सिएएमसीलाई पोखरा विमानस्थल निर्माणमा २ सय ६४ मिलियन डलर लागत तयार पारेको थियो । त्यसको लागत १६ प्रतिशत बढ्न सक्ने उसको अनुमान थियो ।
सन् २०१४ को मार्चमा नेपालका तर्फबाट तत्कालिन अर्थमन्त्री रहेका रामशरण महतले विमानस्थल निर्माणका लागि चीनले ३ सय ५ मिलियन अमेरिकी डलर लागत तयार पारेपछि विरोध गरेका थिए । डा. महतले सिएएमसीको उक्त प्रस्ताव ‘अवास्तविक’ रहेको भन्दै युएस डलर १ सय ६६ मिलियनमै निर्माण गर्नुपर्ने बताएका थिए । विमानस्थल निर्माणको लागत २२० मिलियनदेखि ३ सय मिलियनको हुने अनुमान गरिएको थियो ।
सन् २०१३ अप्रिलमा चाइना सिएएमसी ईन्जिनरिङले पोखरा विमानस्थल निर्माणको ठेक्का पाएको थियो । नागरिक उडयन प्राधिकरणका तत्कालिन महाप्रबन्धक रतिस चन्द्र लाल सुमन शुरुमा सिएएमसीलाई पोखरा विमानस्थल निर्माणको ठेक्का दिने पक्षमा थिएनन् । सिएएमसीलाई ठेक्का दिने बोर्ड बैठकको निर्णयमा सुमनले हस्ताक्षर गरेका छैनन् । प्राधिकरणकै विभिन्न संगठनहरु समेत उक्त लागतमा विमानस्थल निर्माणको विपक्षमा थिए ।
सन् २०१४ अगस्टमा तत्कालित संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री भिम प्रसाद आचार्यले पोखरा क्षेत्रिय विमानस्थल निर्माण कार्या आफ्नै कार्यकालमा पुरा हुने बताएका थिए । त्यतिबेला प्रोजेक्टको लागत २ सय ६४ मिलियन उल्लेख गरिएको थियो ।
तत्कालिन महाप्रबन्धक रतिस चन्द्र लाल सुमनले आफ्नो पालामा ठेक्का प्रक्रिया शुरु भएपनि अनियमितता भने आफ्नो कार्यकालमा नभई पछिल्लो कार्यकालमा भएको ईंगित गरे । ‘मेरो समयमा प्रोजेक्ट शुरु भएको हो । त्यो मात्रै होइन भैरहवामा पनि मेरो समय भएको हो । तर काम मेरो कार्यकालमा भएको होइन,’ उनले भने, ‘जसको कार्यकालमा काम भएको छ । उसैलाई बुझ्नुपर्छ ।’
लागत अनुमान पनि आफूहरुले नभई चीनियाँ कम्पनिले तयार पारेको उनको भनाई छ ।