कपिलवस्तुका न्यायाधीश गिरीमाथि बलात्कारको आरोप, मानव अधिकार आयोगले लेख्यो प्रहरीलाई पत्र

दियो पोस्ट  

कपिलवस्तु । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ। वर्षौंसम्म बन्धक बनाएर राखेर महिलामाथि यौन शोषण गरेको आरोप उनीमाथि लागेको हो।

उक्त आरोपको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले छानबिन थालेको छ। आयोगकी सदस्य लिलि थापाले आयोगमा परेको उजुरीमा थप अनुसन्धान अघि बढाइएको र त्यसका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र न्याय परिषद्‌लाई पत्र लेखिएको बताइन्।

यसअघि आफूले पटक–पटक प्रहरीमा उजुरी दिने प्रयास गर्दा सफल नभएको पनि महिलाले जनाएकी छन्। आफू ५ वर्षदेखि यौन शोषणमा परेको र पटक–पटक गर्भपतन समेत गराएको उनले उजुरीमा उल्लेख गरेकी छन्।

ती न्यायाधीशसँग आफू २०७५ सालदेखि सम्बन्धमा रहेको र सुरुका वर्षहरुमा श्रीमती बनाउँछ भन्दै माया पनि गरेको, तर पछिल्लो समय यौन शोषण गर्ने अनि महिला हिंसा गर्ने गरेको उजुरीमा दाबी गरिएको छ। ती महिलाले यसअघि राष्ट्रिय महिला आयोगमा पनि उजुरी दिएकी थिइन्।

मानव अधिकार आयोग स्रोतका अनुसार न्यायाधीशसँग आयोगको टोलीले एक चरण छलफल समेत गरेको छ। आफूविरुद्ध उजुरी परेपछि ती न्यायाधीश अहिले बिदामा बसेका छन्।

आरोप लागेका न्यायाधीश २०७९ जेठ २९ गते जिल्ला न्यायाधीश नियुक्त भएका थिए।