काठमाडौं । रवि लामिछानेको नेतृत्वमा निर्वाचन अघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र समानुपातिक सांसद चयनका विषयलाई लिएर असन्तुष्टि देखा परेको छ।रास्वपाले गत असोजमा प्राइमरी इलेक्सन गरेर धेरै मत ल्याउनेहरूलाई प्रतिनिधि सभाको बन्दसूचीमा नाम राखेको थियो।
तर अहिले प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि समानुपातिक सांसद बनाउन खोजेको भन्दै विरोध भइरहेको छ।
निर्वाचन आयोगले दलहरूलाई बुधबार तीन दिनको समय दिएर समानुपातिक सांसद पठाउन भनेको छ। दलहरूले बन्द सूचीमा पेश गरेका नामहरू नै कलस्टरअनुसार मिलाएर आयोगमा पठाउनुपर्ने हुन्छ।
रास्वपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ भने समानुपातिकमा १३ सिट जितेको छ। उसले सदर मतको १० प्रतिशत कटाएकोले सबै क्लस्टरअनुसार सांसद पठाउनुपर्ने हुन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सात जना महिला सांसद पठाउनुपर्छ। जसमध्ये २ जना प्रत्यक्षतर्फबाट जितेका छन्। अब समानुपातिकबाट ५ जना महिला पठाउनुपर्ने हुन्छ।
खसआर्यबाट ४ जना, आदिवासी जनजातिबाट ३, दलितबाट २, मधेशीबाट २, थारूबाट १, मुश्लिमबाट १ जना पठाउनुपर्ने हुन्छ।