काठमाडौं । कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीविरुद्धको यौन शोषणको उजुरी प्रहरीले अझै दर्ता गरेको छैन । वर्षौंदेखि यौन शोषण गरेको आरोपमा एक महिलाले गिरीविरुद्ध एक साताअघि राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा उजुरी गरेकी थिइन् ।
सोही उजुरी दर्ता गर्न कपिलवस्तु प्रहरीलाई पत्रचार गर्दासमेत अझै प्रहरीले दर्ता गरेको छैन । आयोगमा उजुरी दिनुअघि ती महिला प्रहरीमासमेत पुगेकी थिइन् । तर, प्रहरीले उजुरी लिन नमानेपछि मानव अधिकार आयोग र महिला आयोग पुगेकी हुन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी मिमबहादुर घलेले न्यायाधीश गिरीमाथिको उजुरीमाथि छानबिन भइरहेको बताए ।
‘महिलाले दिएको उजुरीबारे अनुसन्धान गर्दैछौँ । महिलामाथिसमेत न्यायाधीशले चोरीको उजुरी दिनु भएको छ । दुवै उजुरीबारे अनुसन्धान गर्दैछौँ,’ डीएसपी घलेले भने । तर, कानुनी प्रक्रिया अनुसार प्रहरीले न्यायाधीश गिरीमाथिको उजुरी दर्ता गरेर अनुसन्धान गर्नुपर्ने बाध्यात्मक अवस्था हुँदा पनि प्रहरीले दर्ता गर्न भने मानेको छैन ।