सिवम् सिमेन्टमा ‘इन्साइडर ट्रेडिङ’को खुलाशा : शेयर घोटालामा अध्यक्ष सुरेन्द्र गोयल नै संलग्न !

- दियोपोस्ट  

काठमाडौं । सिवम सिमेन्ट उद्योगका सञ्चालकहरुले ‘इन्साइडर ट्रेडिङ’ गरेको खुलाशा भएको छ । उद्योगका अध्यक्ष सुरेन्द्र कुमार गोयलसहित प्रमोटर शेयर होल्डरहरुले इन्साइडर ट्रेडिङमा शंकाष्पद कारोबार गरेको खुलाशा भएको हो ।
अध्यक्ष गोयलले आफ्नो २० लाख कितता भन्दा बढी शेयर बेचिसकेको स्रोतले जनाएको छ । मेजर प्रमोटरहरु अधिकांशले आधा भन्दा बढी शेयर बेचिसकेको स्रोतको दाबी छ ।
मकवानपुरमा उद्योग रहेको सिवम सिमेन्ट ३ अर्ब लागतमा कम्पनि खुलेको थियो । उद्योगका प्रमोटरहरुले लाभांस बाहेक नै ६ अर्ब रुपैयाँ बराबरको सेयर दोस्राृ बजारमा बेचिसकेको सेयर बजारका विज्ञहरुले बताउन थालेका छन् । जम्मा ५० रुपैयाँ लागतमा परेको शेर अहिले ६ सयमा बेच्न पाउँदा कसले नबेच्नु भन्दै उनीहरुले प्रमोटरबो ६० लाख कित्ता सेयर विक्री गरिसकेको स्रोतको भनाई छ ।

धितोपत्रसम्बन्धी ऐन नियमको व्यवस्थाबमोजिम लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने जानकारी एवं सूचना सार्वजनिक नगरी उक्त जानकारी एवं सूचनाका आधारमा कम्पनीसँग सम्बन्धित व्यक्ति वा निजको नजिकको व्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार (ईन्साइडर ट्रेडिङ) भनिन्छ ।

यस प्रकारको कारोबार गर्न धितोपत्रसम्बन्धी ऐननियमले प्रतिबन्ध लगाएको छ । इन्साइडर ट्रेडिङमा कम्पनीका अध्यक्षसहित सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, प्रमुख लेखा अधिकृत तथा व्यवस्थापनको उच्च तहमा रहेका कर्मचारीहरु, लेखापरीक्षकलगायतको संलग्नता हुने गरेका छन् । यसअघि धितोपत्र बोर्डकै पूर्व अध्यक्ष भिष्म ढुंगानाले सर्वोत्तम सिमेन्टको उच्च अधिकारीसँग मिलेर इन्साइडर ट्रेडिङ कारोबारमा समलग्न भएको खुलेको थियो । सोही कारण उनले पदबाट राजिनमा दिनुपरेको थियो ।
सिवम सिमेन्टमा भएको ईन्साइडर ट्रेडिङबारे धितोपत्र बोर्डले छानबीन गर्नुपर्ने सेयर बजार साप्ताहिकका सम्पादक समेत रहेका अधिवक्ता दिनेश आचार्यको भनाई छ । तर, धितोपत्र बोर्डकै मिलेमतोमा इन्साइडर ट्रेडिङ भए हुन सक्ने अनुमान समेत अर्का थरी विश्लेषकको छ ।

धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले सिवम सिमेन्ट उद्योगले इन्साइडर ट्रेडिङ गरे/नगरेको विषयमा अध्ययन भइरहेको बताए । ‘सबै अनुसन्धानमा भइरहेको विषयमा हामीले बोल्न मिल्दैन । हामीले यो विषयमा छानबीन भइरहेको छ भनेर बोल्दा विभिन्न ठाउँबाट दबाव आउने र अनुसन्धान प्रभावित हुन सक्ने हुनसक्छ,’ उनले भने,‘हामी यस विषयमा सचेत छौँ ।’