बुटबल । अर्घाखाँचीस्थित श्री सरस्वती उच्च माध्यमिक बिद्यालय सुर्यथुममा लामो समयदेखि शिक्षण पेशामा आबद्ध पूर्वशिक्षक कृष्ण बहादुर विश्वकर्मा बिगत चार महिनादेखि बेपत्ता छन् । गत साउन १४ गते बिहान करिब चार बजेतिर 󠇃 ‘घुमेर आउँछु’ भन्दै बुटबल–११, देबीनगरस्थित घरबाट निस्केका बिश्वकर्मा अहिलेसम्म परिवारको सम्पर्कमा नआएको उनको परिवारले बताएका छन् ।
उनकी श्रीमती शान्ती सुनारका अनुसार बिश्वकर्मा घरबाट निस्किनु भन्दा केही दिन अघि बिरामी थिए । बिरामी अवस्थामै श्रीमान घरबाट निस्किएको र सम्पर्क बिहिन भएको उनको भनाई छ । श्रीमान् सम्पर्कमा नआएपछि बुटबलस्थित ईलाका प्रहरी कार्यालयमा निबेदन दिए पनि प्रहरीले खोज्नका लागि कुनै पहल नगरेको उनले बताइन् । यद्यपी, आफ्ना आफन्त, परिवार र छिमेकीको सहारामा खोजी कार्य भने जारी रहेको उनको भनाई छ ।
श्रीमान् हराएदेखि शान्तीका आँखा ओभाना छैनन् । श्रीमान्ले कुनै जानकारी नदिई घरबाट निस्केको र अहिलेसम्म सम्पर्कमा नआएको भन्दै उनले पीडा पोखिन् । ‘उहाँ बिद्यालयबाट पेन्सन निस्केको ३ वर्ष भयो । पेन्सन निस्केपछि हामी अर्घाखाँचीको घर छोडेर बुटबलमा बस्दै आएका थियौँ । उहाँ सधैजसो बिहान ‘मर्निङवाक’ निस्किनु हुन्थ्यो । हराउनु भन्दा केही दिन अघिसम्म बिरामी भएका कारण बिहान निस्किनु भएको थिएन । तर, त्यसदिन चाँही सधैजसो भन्दा सबेरै उठ्नु भयो । करिब चार बजेको हुँदो हो, म निद्रामा थिएँ । आफुले बिद्यालयमा पढाउँदा लगाउने निलो धर्के कमिज र खरानी कलरको पाइन्ट लगाएर कम्मर पेटी कहाँ छ भनेर मलाई सोध्नु भयो,’ उनले भनिन्, ‘मैले अध्यारोमा कहाँ जान लाग्नु भएको भनेर सोधेँ। उहाँले घुमेर आउँछु मात्र भन्नु भयो । यति भन्दै गर्दा उहाँले पेटी खोजेर लगाइसक्नु भएको थियो । एक छिन पछि उहाँ बाहिर निस्किनु भयो । बिरामीका कारण कमजोर हुनु भाथ्यो, कतै बाटोमा लडेर समस्या पर्ने हो की भनेर मैले उहाँलाई रोक्ने प्रयास पनि गरेकी थिए । तर उहाँले जिद्धी गरेर ‘एकछिन् पछि आउँछु’ भन्दै निस्किनु भयो ।
‘एकछिन् पछि आउँछु’ भनेर निस्केको भएर पनि होला श्रीमानले घर छोडेर जान लागेको कुरा उनलाई पत्तै भएन । त्यो दिनको सम्झना गर्दै उनी भन्छिन्,–‘उहाँले घर छोडेर जान लाग्नु भएको कुरा थाहा पाएको भए म पछि लागेर जान्थेँ र घर फर्काएर ल्याउथे । उहाँले केही नभनि जानु भएकाले मैले शंका गर्ने ठाउँ पनि रहेन ।’
यति बेला उनी श्रीमानको आवागमनको प्रतिक्षामा छिन् । तर, श्रीमानको अवस्था अज्ञात भएका कारण उनी थप चिन्तामा छिन् ।
‘उहाँ शारिरिक रुपमा अशक्त हुनु हुन्थ्यो । घरबाट निस्किने बेला हातमा लठ्ठी मात्रै थियो । ‘एकछिनपछि आउनु हुन्छ कि भनेर मैले बाटो हेरिरहेँ तर, उहाँ दिनभरि घर आउनु भएन । बिहानको खाना पनि बाँकी थियो । बेलुकी खाना खान आउनु हुन्छ कि भनेर तातो खाना बनाएर राखेँ । तर, उहाँ आउनु भएन,’ उनले थपिन् ।
श्रीमान घर नआएपछि उनले अर्को दिन वडा प्रहरी कार्यालय देबीनगरमा निबेदन दिएकी थिइन् । तर, वडाले त्यो निबेदन उपर कुनै कारवाही अगाडी नबढाएको उनको भनाई छ । श्रीमान हराएको दोस्रो दिन उनले रेडियो नेपालमा कार्यरत आफ्नी छोरी रीता बुढाथोकीलाई घटनाबारे जानकारी दिएकी थिइन् । साउन १६ गते छोरीले काठमाडौँबाट बुटबल आई इलाका प्रहरी कार्यालयमा निबेदन दिएकी थिइन् । तर, इलाका प्रहरी कार्यालयले पनि खोजीका लागि कुनै पहल नगरेको उनको भनाई छ ।
छोरी भन्छिन्, ‘बुवा हराएदेखि हरेक दिन जसो प्रहरी कार्यालयमा पुगेका छौँ । त्यहाँ वरपरको वन, जंगल, खोला, नाला, झाडी र संभाबित स्थान सबैतिर खोजी सक्यौँ । टाढा रहेका आफन्तलाई समेत फोन गरेर सोध्यौँ । फेसबुकमार्फत सुचना पनि जारी गर्यौ। तर, अहिलेसम्म बुवा भेटिनु भएको छैन । उहाँको अवस्था अज्ञात छ ।’
प्रहरीले उल्टै फोन गरेर ‘तपाइको बुवा भेटिनु भयो कि नाई’ भनेर सोध्ने गरेको उनी बताउँछिन् । ‘हामीले आफ्नो तर्फबाट खोजीका सबै प्रयासहरु गरिरहेका छौँ । जति प्रयास गर्दा पनि नभेटेको भएर प्रहरीकहाँ जानु परेको हो । प्रहरीले नै यसरी फोन गरेर सोध्दा प्रहरीप्रतिको विश्वास पनि मरिसक्यो,’ उनले भनिन् ।
यतिबेला बिश्वकर्मा हराएको चार महिना बितिसकेको छ । लामो समयदेखि उनको अवस्था अज्ञात हुँदा परिवारमा थप पीडा थपिएको छ । कतै बेवारिसे ‘शव’ भेटिएको समाचार सुन्दा पनि ‘उहाँ नै हो कि’ भनेर घटनास्थलसम्म पुग्ने गरेको श्रीमती शान्ती सुनारले बताइन् ।
‘उहाँ दयालु स्वभावको हुनुहुन्थ्यो । उहाँ हराएको खबर सुनेपछि हामी पनि अचम्ममा परेका छौँ,’ अर्का एक छिमेकी भन्छन् । त्यसो त, बिश्वकर्मा लामो समयलेखि दलित मुक्ति आन्दोलनमा सक्रिय थिए । २०५३ सालमा अर्घाखाँचीको मरेङस्थित चौँडिला मन्दिरकाण्ड उनकै नेतृत्वमा भएको थियो । सो काण्डपछि सबै जातजातीले उक्त मन्दिरमा निर्वाध रुपमा पुजा गर्न पाउँछन् ।
समाज परिवर्तनका लागि उनले गरेको योगदान निकै सराहानीय रहेको पूर्व शिक्षक समेत रहेका समाजसेवी ऋषीराम आचार्य ‘आजाद’ले बताए । समाजमा समानताको जग बसाल्नु आफैमा महान कार्य थियो । उनले समानताको पक्षमा सधै आवाज उठाइरहन्थे ।
उनका अनुसार, बिश्वकर्माले लामो समयदेखि मुगु लगायत अन्य दुर्गम जिल्लामा शिक्षकको रुपमा काम गरेका थिए । दुर्गमबाट सरुवा भएर उनी केही वर्षअघि मात्रै सरस्वती मा.बि.मा आई त्यहीँबाटै अवकाश लिएका हुन् ।
उनी केही क्रान्तिकारी र बिद्रोही स्वभावका भएकै कारण उच्च जातीहरुले उनलाई आँखाको कसिंगर ठान्ने गरेको आचार्यको भनाई छ । बिश्वकर्माले गरेको जातीय आन्दोलन तथा बिद्रोहकै कारण मरेङमा केही समानता आएको र अन्य स्थानमा जस्तो जातीय बिभेदको समस्या नरहेको उनी बताउँछन् । बिश्वकर्मा सम्पर्क बिहिन हुँदा आफ्नै सहयोद्धा साथी र समाजसेवी व्यक्तिको अभाव खड्कीएको उनी बताउँछन् । आचार्य आफै पनि जातीय समताका पक्षधर हुन् ।
दलित मुक्ति आन्दोलनका एक प्रखर ब्यक्तित्व, शिक्षाप्रेमी तथा समाजसेवी बिश्वकर्माको खोजीका लागि राज्यले पहल गर्नुको साटो उल्टै बेवास्ता गर्दा उनको अवस्था अझै अज्ञात छ । ६२ वर्षिय बिश्वकर्माका एक श्रीमती, दुई छोरा, दुई बुहारी र एक छोरी छिन् ।