‘नाती जर्नेल’को समानुपातिक संसद यात्राले बल्झाएको राजेन्द्र लिङ्देनको त्यो भिडियो काण्ड !

दियो पोस्ट  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका हालका अध्यक्ष राजेन्द्र लिङ्देन एउटा भिडियोका कारण एकाएक चर्चामा आए । करिब ६ वर्षअघि एउटा टेलिभिजनमा उनले भनेका थिए,‘अब भविष्यमा देशलाई कुनैपनि कुराले जलाउँछ भने जातिय आरक्षणले जलाउँछ । हेर्नुस् मैले बारम्बार भनेको छु । झापाको विर्तामोडमा म बस्छु । झापाको सबैभन्दा महँगो बजार हो विर्तामोड । विर्तामोडको शहरको त्यो मूटुमा जसले ५० हजारदेखि ६० हजार तोला मुल्य पर्ने सुनको व्यापार गरेर बस्छ । उ जात भएका कारण उ आफूले र उसका छोरा छोरीले उसको श्रीमतीले र श्रीमतीको पेटमा भएको बच्चाले समेत राज्यबाट सेवा सुविधा प्राप्त गर्छ ।’

लिंङदेनले त्यतिमात्रै भन्दैनन् फेरी थप्छन्,‘तर उसकोमा गएर एकतोला होइन केहीलाल सुन किनेर श्रीमतीको नाकमा एउटा फूली टाँस्दिनँ नसक्ने घिमिरे राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित छ । ल यसले देशलाई कहाँ लान्छ भन्नुस् छ ? ९० प्रतिशत ल्याउनेले डक्टर पढ्न पाउँदैन । कुनै जात भएको नाताले ६० प्रतिशत ल्याउनेले डाक्टर पढ्न पाउँछ । २१ औँ शताब्दीमा हामीले नेपाललाई कहाँ लगिरहेका छौँ ?’

उनले आफ्नो विषयमा पनि बोलि विस्तार लगाउँदै भनेका थिए,‘म जनजातीको छोरो हुँ । मैले बारम्बार भनेको छु । पाँचथरको सुदुर गाउँमा एउटा कोदो खान पनि नपुगेपछि मेरो बुवाले धानको भात खानका लागि मधेश झरेको लिम्बुको छोरा हुँ । आजसम्म मेरो टाउकोमा करोडौँ बैंकको ऋण होला । तर, अरुको भन्दा ठूलो आर्थिक कारोबार गरेको छु । त्यो आर्थिक कारोबार गर्नका लागि २० औँ मान्छे सहयोगी पनि मलाई चाहियो होला । मेरो घरमा भन्सामा काम गर्ने पराजुली बाहुनकी श्रीमती छिन् । मेरो गोठमा गोबर सोहोर्ने पराजुली बाहुन छन् । म जनजाती भएको नाताले म र मेरो छोरा छोरीले राज्यबाट हरेक ठाउँमा आरक्षण प्राप्त गर्छन् । तर, त्यो आरक्षण मेरो घरमा जुठो भाँडो गर्ने बाहुन् चाहीँ बाहुन भएको नाताले टुलुटुलु हेरेर बस्छ । म राजनीति गर्छु देशको मुहार फेर्छु भनेर हिँडेको मान्छेले यस्तो कुरा कसरी सहन सक्छु । त्यसकारण मैले आँट गरेको छु यसैले देशलाई जलाउँछ । त्यसकारण यो चिजलाई हामीले भत्काउनुपर्छ ।’

 

ऐतिहासिक रुपमा पछाडी पारिएका दलित, जनजाती, महिला लगायत विभिन्न उत्पीडनमा पारिएका समुदायको घाउमा नुनचुक छर्कने यो अभिव्यक्ति बेला बेला भाइरल हुने गरेको थियो । जतिबेला आरक्षण र समावेशीताको बहस चर्कने गर्छ त्यतिबेला समावेशीता विरोधी समुहले यही भिडियो कमेन्टहरुमा पेस्ट गरिदिन्थे । आरक्षण र समावेशीताको विरोधीहरुलाई लागेको थियो–यो जनजातीको छोरोले हाम्रो पीडा बोलिदियो । यो साँच्चैको नेता रहेछ ।’

कतिपय गरिवीको रेखामूनि रहेका ब्राम्हण समुदायका व्यक्तिहरुले पनि लिङ्देनलाई आइकन मान्दै आएका थिए । तर, मंगलबार लिङ्देन नेतृत्वको राप्रपाले जब निर्वाचन आयोगमा समानुपातिक सांसदहरुको सुची बुझाए त्यहाँ न कुनै गरिब घिमिरे थिए न त गरिब पराजुली नै । समानुपातिक सुचीको पहिलो नम्बरमा थिए नाती जर्नेल भनेर राज्यको सम्पत्तिमा ऐतिहासिक रुपमा रजाई गर्दै आएका पशुपति शमशेर जबरा । राणाकालका अन्तिम प्रधानमन्त्री मोहन शम्शेरका नाती सम्भ्रान्त परिवार परिवारका प्रतिनिधि हुन् । नेपालको संविधानले कल्पना गरेपछि उपेक्षित, उत्पीडित समुदायबाट संसदमा प्रतिनिधित्व गराइनुपर्ने पात्र होइनन् उनी ।

जन्मदै नाती जर्नेलको उपाधी पाएका उनी समानुपातिक कोटाको खस आर्य क्लस्टरको पहिलो नम्बरमा छन् । यदि मुलुकमा राणा शासन कायम रहेको भए उनी महाराजको श्री ३ सरकारको सिंहासनमा पुग्थे । विजयबासमा राजशी शैलीको जीवन बाँची रहेका जबराको छोरी देव्यानी राणाको तत्कालिन युवराज दिपेन्द्र शाहसँग विवाह गर्ने चर्चा थियो । देव्यानीकै कारण दिपेन्द्रले दरबार हत्याकाण्ड मच्चाएको तत्कालिन शैनिक अधिकारीहरुले पुस्तकमै लेखेका छन् ।
पञ्चायत, बहुदल र गणतन्त्रसम्म निरन्तर मन्त्री र सत्ताको भोग गरेका पात्र हुन् जबरा । उनकी छोरी देव्यानी हाल प्रतिष्ठिन बहुराष्ट्रिय कम्पनि कोकाकोलाको एशिया क्षेत्रिय प्रमुख छिन् ।

२०३८ सालदेखि सिन्धुपाल्चोकबाट निर्वाचन लडेका थिए । २०६४, ७० र ७४ को निर्वाचनमा उनी लगातार पराजित भए । उनलाई २०६४ सालको निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रका जिल्ला नेता दावा तामाङले पराजित गरेका थिए । २०७०को निर्वाचनमा उनी शेरबहादुर तामाङसँग पराजित भएका थिए ।

८१ वर्षिय राणा यो प्रतिनिधि सभाको सबैभन्दा ज्येष्ठ सदस्य हुनसक्ने आंकलन छ । उनी पञ्चायतकालमा एक वर्षे यातयात मन्त्री भएका थिए । पञ्चायतकालमै उनले स्थानिय विकास मन्त्री पड्काएका थिए २ वर्षसम्म । नेपाल बैंकको निर्देशक, त्रिविको चान्सलर, गाउँपञ्चायत मन्त्रालयको उपसचिव सम्म उनी भइसकेका थिए । बहुदल कालमा भने राणाले अर्थ मन्त्री, परराष्ट्र मन्त्री, जलस्रोत मन्त्री र सञ्चारमन्त्री भइसकेका थिए ।
राप्रपाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको माग गर्दै आएको छ । तर, समानुपातिकमा क्रिश्चियन धर्मका प्रचारक विना तामाङलाई समेत सांसद बनाएको भन्दै विरोध शुरु भएको छ ।