महोत्तरी । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई निर्मतापूर्वक कुटपिट गरी घरबाट निकालेको आरोप लागेका महोत्तरी रामगोपालपुर–५ का पंकज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले जिल्ला अदालत महोत्तरीको अनुमतिमा चौधरीलाई पक्राउ गरेको हो ।
महोत्तरीको औरही–१ घर भएकी नेहा र सोही जिल्लाको रामगोपालपुर–५ घर भएका पंकजबीच गत फागुनमा विवाह भएको थियो । विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरू गरेका थिए ।
दसैँको टीकाको दुई दिनपछि नेहालाई श्रीमान्को टोकाइ र कुटपिटबाट थिलथिलो भएको अवस्थामा माइतीले उद्धार गरेर अस्पताल पुर्याएका थिए । नेहाको परिवारका अनुसार विवाहमा ६२ लाखको चेक, २० लाखको सुन तथा ५०–६० लाख चाँदीका गहना दाइजो दिइएको छ । तर, बिहेपछि पंकजले काठमाडौंमा घरसमेत दिनुपर्ने डिमान्ड राख्न थालेका थिए । दाइजोको विवादकै कारण विवाहको केही महिनादेखि श्रीमान् र सासूले आफूलाई यातना दिने गरेको नेहाले बताएकी थिइन् ।
पंकज एमबीबीएस डाक्टर हुन् । उनले जिल्ला अदालत महोत्तरीमा डिभोर्स मुद्दा दर्ता गराइसकेका छन् । श्रीमानविरुद्ध नेहाले पनि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी छन् ।
शरिरभरी डाक्टर श्रीमानले ‘टोकेको घाउको खत लिएर नेहाको बयानः ‘प्रहरी कार्यालयमै ममाथि कुटपीट भयो’