काठमाडौं । नेपाल धितोपत्र बोर्डको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ता गुरू प्रसाद न्यौपाने र ज्ञानेन्द्र लाल प्रधानलाई कारबाही गर्ने निर्णय गरेको छ।
रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेका थिए।
त्यस्तै नेपाल हाइड्रोवापर लिमिटेडको अध्यक्ष रहेकै समयमा प्रधानले समेत आफ्नो श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा रहेको सेयर कारोबार गरेका थिए।
धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले यस्तो पदमा बहाल रहँदासम्म वा पदबाट अवकाश लिएको एक वर्षसम्म त्यो संस्था वा त्यसको सहायक कम्पनीको सेयर किनबेच तथा हस्तान्तरण गर्न पाउँदैनन्।
यी पदमा रहने व्यक्तिको आफ्नै वा उसको स्वामित्व रहेको फर्म, परिवारको नाममा रहेको सेयर समेत किनबेच गर्न नपाउने व्यवस्था छ।
तर प्रधानले यस्तो सेयर किनबेचको खबर सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए। यो विषयमा धेरै अघिदेखि बोर्डले अध्ययन गरिरहेको थियो।