शपथ ग्रहणपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्छः प्रचण्ड

दियो पोस्ट  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन् । पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण पछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् । निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
उनले भने, ‘सांसदहरुको शपथ ग्रहण नहुदै सरकार गठन गर्ने नजिर जस्तो बन्न गएको छ । यो सही होइन । सामान्यतया निर्वाचन आयोगले राष्टपतिकहाँ र राष्ट्रपति कार्यालयबाट संसद सचिवालयमा निर्वाचित सांसदहरुको नाम लिस्ट गइसकेपछि ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर पहिला प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण गराइसकेपछि सबै पार्टीका संसदीय दलहरुको बैठक बस्ने र प्रतिनिधि सभाका सांसदहरुको शपथग्रहण गरिसकेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउनु सुल्टो हुन्छ, उचित हुन्छ र विगतको परम्परा पनि त्यही हो भन्नेमा हाम्रो निष्कर्ष छ’