सरकार गठन गर्न दलहरुसँग समय कति, के भन्छन् ठूला दल ?

दियो पोस्ट  

काठमाडौं । गत मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आइसकेको छ । प्रत्यक्षतर्फबाट निर्वाचित भएसँगै विभिन्न दलहरुको नामावली अनुसार निर्वाचन आयोगले समानुपातिक सांसद पनि चयन गरेको छ । आज मात्रै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र दिएको छ । आयोगको केन्द्रीय कार्यालयमा प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सांसदलाई एकै स्थानबाट प्रमाणपत्र दिइएको हो । उनीहरुलाई निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रमाणपत्र प्रदान गरे भने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले खादा लगाएर बधाई दिए। प्रतिनिधिसभामा ११० जना सामानुपातिकतर्फ निर्वाचित भएका छन् । प्रदेशसभा अन्तर्गत प्रदेश १ मा ३७, मधेशमा ४३, वाग्मती ४४, गण्डकी २४, लुम्बिनी ३५, कर्णाली १६ र सदूरपश्चिममा २१ जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।

योसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् । अब सरकार गठनका लागि सात दिनको समय मात्रै रहेको छ ।

यता नेपाली कांग्रेसले औपचारिक रुपमा नयाँ सरकारको नेतृत्वमा दाबी गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो । गठबन्धनको अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको कांग्रेसले बताएको छ । तर ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै कांग्रेस प्रवक्ता महतको भनाइ छ ।

तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फरक मत राखेका छन् । उनले निर्वाचित सांसदहरुको शपथग्रहण अगावै सरकार गठन प्रक्रिया अगाडि बढाउन नमिल्ने बताएका छन् । पार्टीको पदाधिकारी बैठकपछि एक कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि सभाका सबै सदस्यहरुको शपथग्रहण पछि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् । निर्वाचित सांसदहरुको सपथग्रहण बिना नै सरकार गठन प्रक्रिया अघि बढाउनु भनेको उल्टो प्रक्रिया हुने भन्दै त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।  नेकपा एमाले सरकार गठनका लागि कुनै दौरधुप नभएको बताएको छ । केही दिन अघि नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएको थिए । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरेका थिए ।

अहिले शिर्ष नेताहरु लगायत बाह्य शक्ति केन्द्रहरुको पनि बाक्लो भेटघाट रहेको छ ।