कमोडिटी बजार मार्फत ठगी गरेको भन्दै मनि एक्सपेलका अध्यक्ष सुनिल श्रेष्ठ पक्राउ

- दियोपोस्ट  

काठमाडौं । कमोडिटी बजारको नाममा सर्वसाधरणलाई ठगी गरेको भन्दै मर्कन्टाइल एक्सचेन्ज नेपाल लिमिटेड (मेक्स)का अध्यक्ष तथा प्रबन्ध निर्देशक सुनिल श्रेष्ठलाई पक्राउ गरेको छ । धितोपत्र ऐन विपरित कारोबार गरि सर्वसाधरणलाई ठगी गरेको भन्दै विभिन्न व्यक्तिले काठमाडौं प्रहरीमा उजुरी दिएपछि श्रेष्ठलाई काठमाडौं प्रहरीले शनिबार पक्राउ गरेको हो ।

श्रेष्ठबाट पीडित भएका एक व्यक्तिका अनुसार उनलाई हिजो जिल्ला अदालत काठमाडौंले ७ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।

धितोपत्र बोर्डले २०७४ मा एन जारी गर्नुअघि निर्वाध संचालनमा आएको यो कारोबारमा १३ सयजना भन्दा बढी जोडिएको ती पीडितको भनाई छ ।

वस्तु विनिमय बजार भनिने कमोडिटी बजार यसअघि नै विवादित बनेको थियो । व्यवस्थापिका संसदमा समेत यस विषयमा चर्चा भएको थियो । तत्कालिन व्यवस्थापिका संसदले विधयक नै पारित गरेपछि वस्तु विनिमय बजार सम्बन्धी नियमावली २०७४ जारी गरेको थियो । सोही नियमावलीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार श्रेष्ठ मातहतमा २० वटा भन्दा बढी कम्पनिले विनिमय बजारको स्पट र फिचर्स कारोबार गरिरहेका थिए । नियमावली लागु भएपछि एक्सचेन्ज कम्पनिहरु धितोपत्र बोर्डमा दर्ता हुनुपर्ने भएपनि उनीहरु दर्ता विना नै सञ्चालनमा रहेका थिए । त्यतिमात्रै होइन् उनीहरुले गैरकानुनी रुपमा आइपिओ निष्काशन समेत गरेको भेटिएको थियो ।

श्रेष्ठबाट अन्य व्यक्ति समेत ठगिएको भन्दै प्रहरी कार्यालय धाउने क्रम बढेको छ ।