जेलभित्रै विवाह गरेका चार्ल्स शोभराजको छुटेलगत्तै हायातमा बिहेभोज

दियो पोस्ट  

काठमाडौं । सर्वोच्च अदालतको हिजोको आदेशपछि जेलमुक्त हुन लागेका कुख्यात सिरियल किलर फ्रेन्च नागरिक चार्ल्स शोभराजले यो साता प्रीतिभोजको आयोजना गर्ने भएका छन् । सम्भवतः आज अपरान्ह जेलबाट छुटेपछि उनी सोझै बौद्धस्थित होटल हायातमा बस्ने तयारी छ ।

वि.सं. २०३२ सालमा भक्तपुरमा एक जना अमेरिकी र एक जना क्यानाडेली महिलाको हत्यामा संलग्न भएको आरोप पुष्टि भएपछि उनी जेल पुगेका हुन् । विगतमा नेपाल बाहिर रहेका उनी २०६० सालमा काठमाडौं आएलगत्तै प्रहरीले क्यासिनोबाट पक्राउ गरेर केन्द्रीय कारागार पुर्याएको थियो ।

७९ वर्षे शोभराजले १३ वर्षअघि जेलमा छँदै कानुन व्यवसायी शकुन्तलाकी छोरी २० वर्षे निहिता विश्वाससँग विवाह गरेका थिए । सोही विवाहको उपलक्ष्यमा यो साता उनले हायातमा भव्य प्रीतिभोजको आयोजना गर्न लागेको बताइएको छ । केही दिनको होटल बसाई र भोजपछि स्वास्थ्य परीक्षण गरेर उनी स्वदेश फर्कने छन् । सबै व्यवस्थापन गरेपछि ‘ज्वाईं साहेब’ फ्रान्स फर्किने सासू तथा अधिवक्ता शकुन्तलाले बताइन् । आज जेलबाट छुटेपछि भोजमा बोलाइने निम्तालुहरुको सूची तयार पार्न उनी व्यस्त रहने बताइएको छ । शोभराज अदालतको आदेशपछि नौ महिना अगावै जेलमुक्त हुन लागेका हुन् ।

सिफारिस