काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका ‘सिरियल किलर’ चार्ल्स शोभराजलाई पुनः नेपाल आउन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी गरिएको छ । अध्यागमन विभागका अधिकारीहरुले त्यसको तयारी अघि बढाइएको बताएका छन् । केन्द्रीय कारागारमा रहेका उनलाई आज कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाउने तयारी गरिएको हो । सर्वोच्च अदालतले शोभराजलाई रिहा गर्न र १५ दिनभित्र स्वदेश फर्काउन बुधबार आदेश दिएको थियो । उनलाई केन्द्रीय कारागारबाट बिहीबारै अध्यागमन विभागको जिम्मा लगाउने तयारी थियो । तर उनी रिहा हुन मानेनन् र बिहीबार केन्द्रीय कारागारमै पाहुनाका रुपमा बसे । शोभराजलाई कानुनी सहयोग गरिरहेका अधिवक्ता गोपाल शिवाकोटी चिन्तनका अनुसार उनलाई आज मात्र अध्यागमन विभागमा लगिंदैछ । जेलरले अध्यागमनको जिम्मा लगाएपछि उनको पासपोर्ट नवीकरण भए–नभएको हेरिने र भिसा प्रक्रिया अघि बढाएर स्वदेश फर्काउने तयारी भइरहेको बताएको छ । शोभराजले भने केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् । फ्रान्सबाट आएका आफन्तहरुसँग होटल हायातमा बस्ने र मुटुको उपचार गराउने भन्दै उनले त्यसको प्रबन्ध मिलाइदिन नेपाल सरकारसमक्ष अनुरोध गरेको स्रोतले बतायो ।