काठमाडौं । सरकारले हत्या अभियोगमा १९ वर्षदेखि नेपालको कारागारमा कैद भुक्तान गरिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरेको छ । अध्यागमन विभागको सिफारिसमा गृह मन्त्रालयले शुक्रबार शोभराजलाई विसं २०८९ सम्म नेपाल आउन नपाउने गरी उनको देश फ्रान्स पठाउने निर्णय गरेको हो । गृहको यो निर्णयसँगै शोभराज शुक्रबार नै फ्रान्स पठाइने टुंगो लागेको छ । त्यसका लागि नेपालस्थित फ्रान्सेली दूतावासका अधिकारी र शोभराजका कानुन व्यवसायीसँग अध्यागमन विभागका अधिकारीले समन्वय गरेका थिए । त्यसपछि अध्यागमनले निष्कासनका लागि शोभराजका नाममा ट्राभल डकुमेन्ट तयार गरेको छ ।