मध्यरातमा सेन्चुरी बैंक भित्र प्रोक्सी काण्ड : प्रभु बैंकका सिइओ अशोक शेरचनको भूमिका शंकाष्पद

- दियोपोस्ट  

काठमाडौं – प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकबीच मर्जरको तयारी तिब्र गतिमा अगाडी बढिरहेको छ । हाल प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका अशोक शेरचनले आफ्नो कार्यकाल बढाउनका लागि पनि यो मर्जर छिटो गराउन चाहेका छन् । उनकै हतारोका कारण सेन्चुरी कमर्सियल बैंकको आज वार्षिक साधारण सभा समेत गुपचुप रुपमै सकिएको छ । राजधानीको आर्मी अफिसर्स क्लबमा विहान केही घण्टा मात्रै नाटकीय रुपमा साधरण सभा गरिएको थियो । विरोध हुन सक्ने आंकलन गरिएपछि साधारण सभा नाम मात्रैको भएको एक अधिकारीले बताए ।

 

विरोध हुन सक्ने प्रमुख कारण थियो– नक्कली प्रोक्सी काण्ड ।
विहिबार हुने साधारण सभालाई प्रभावमा पार्न नक्कली प्रोक्सी (प्रतिनिधि पत्र) पत्र दर्ता गराएको घटना गुपचुप राखिएको छ । यसबारे कम्पनि रजिष्ट्रार कार्यालयमा उजुरी समेत परेको छ ।

बैंकले यही पौष १४ गते वार्षिक साधरण सभा गर्ने सूचना जारी गरेको र सूचनामा रहेका केही प्रस्तावहरु गैरकानुनी रहेकाले धेरैजसो शेयर धनीहरु उक्त प्रस्तावको विपक्षमा थिए । विशेषगरि प्रभु बैंकसँग मर्ज गर्ने प्रस्तावमा शेयरधनीहरु सहमत छैनन् । तर, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले सेटिङमै केही कर्मचारीलाई मध्यरातमा बैंक प्रवेश गराई नयाँ प्रोक्सी दर्ता गराएको आरोप छ ।

 

पौष ११ गते राती नौ बजेर ५० मिनेट जाँदा सेन्चुरी कमर्सियल बैंकको केन्द्रिय कार्यालय पुतलीसडकमा ५ जना कर्मचारी बैंक प्रवेश गरि नक्कली प्रोक्सी दर्ता गर्न सुचना एक अनलाइनलाई पुगेको थियो । उक्त सूचना आएपछि बैंकमा केही घटना नहोस् भनेर बैंकमा प्रबेश गरेका व्यक्तिहरु अनधिकृत हुन कि ? कर्मचारी हुन् प्रहरी सम्म खबर पुगेको थियो । राती १० बजेर पाँच मिनेटमा प्रहरी कार्यालय मालीगाउँबाट बैंकमा प्रहरी पुग्दा बैंकमा सेक्युरिटी गार्ड मात्र रहेको र चार जना कर्मचारी भर्खरै बाहिर गएको भन्ने जानकारी प्रहरीले नै संचार माध्यमलाई दिएको थियो ।

त्यसपछि पनि बैंकमा नक्कली प्रोक्सी जम्मा गर्ने काम भइरहेको सुचना आएपछि उक्त अनलाइनको टिम नै ११ बजेर ३० मिनेटमा बैंकमा पुगेको थियो ।

त्यहाँ बैंकका कम्पनी सचीव तुल्सी भट्टराईसहित अन्य कर्मचारीहरु बिष्णुहरि लोहनी र मुगासेर राई गरि तीन जना कर्मचारी बैंकमा भेटिएको खबरमा उल्लेख छ । त्यतिबेला नै आइटी विभागकी कर्मचारी समेत त्यहाँ भेटिएका थिए । उपत्यका बाहिर भएका शेयर धनीहरुको नक्कली हस्ताक्षर गरि साधरण सभालाई चाहिने ५१ प्रतिशत शेयर संख्या पुर्याउन रातभर रातभर नक्कली प्रोक्सी बनाउने काम भएको स्रोतले जनाएको छ । भने नक्कली प्रोक्सी छानबिन गरि तत्काल बदर गर्न माग गर्दै शेयरधनीले कम्पनी रजिस्ट्रारको कार्यालयमा उजुरी समेत गरेका थिए ।

के हो प्रोक्सी पत्र

शेयरधनी वार्षिक साधारण सभामा उपस्थित हुन नसक्ने अवस्थामा शेयर धनीले प्रतिनिधिलाई खटाउन नियुक्ती पत्र दिनुपर्ने हुन्छ । त्यही नियुक्ती पत्रलाई बैंकिङ भाषामा प्रतिनिधि पत्र (प्रोक्सी फारम) भनिन्छ । वार्षिक साधारण सभामा हुने छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने शेयर धनीले मतदानका लागि प्रोक्सी फराम भरेर प्रतिनिधि पठाउनुपर्छ ।

काठमाडौं बाहिर हुने अधिकांश शेयर सदस्यको यस्तै प्रोक्सी कागजातमा किर्ते गरेको आरोप बैंकमाथि लागेको छ ।

प्रोक्सी काण्डबारे प्रतिक्रिया लिन बैंकका सुचना अधिकारी राजेश भण्डारीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् ।